close

ड्राइभिङ लाइसेन्सको आवेदन खुल्न अझै एक हप्ता लाग्ने

टेकपाना टेकपाना

मंसिर ८, २०७९ ८:२५

ड्राइभिङ लाइसेन्सको आवेदन खुल्न अझै एक हप्ता लाग्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन । निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ । 

विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो । कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो । विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भने, “प्रहरी र प्रदेश यातायात कार्यालयसँग बिहीबार बैठक बस्दैछौँ, बैठकपछि आवेदन खुला गर्ने मिति टुङ्गो लाग्छ ।”

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा पनि नियमित काम प्रभावित भएको छ । कात्तिक २५ गतेदेखि प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा बन्द छ । हाल लाइसेन्स वितरण र नवीकरणका काम भइरहेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए ।

उनले भने, “अनलाइन आवेदन खुलाउनुपर्‍यो, लिखित र प्रयोगात्मक खुलाउनुपर्छ, हामीले विभागसँग समन्वय गरेका छौँ, लिखित र प्रयोगात्मक मङ्सिर ११ गतेसम्म खुलाउने कुरा भएको छ ।” छिटो खुलाउन नसकेपछि सेवाग्राहीको चाप बढेर समस्या हुनसक्ने उनको भनाइ छ । 

-गोरखापत्र

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १६:९