close

नेपाली मौलिक कृषि सामग्री पाइने 'रैथाने' एप, जहाँ उपलब्ध छन् ४३ जिल्लाका १६० उत्पादन

हिक्मत आचार्य हिक्मत आचार्य

मंसिर १७, २०७९

नेपाली मौलिक कृषि सामग्री पाइने 'रैथाने' एप, जहाँ उपलब्ध छन् ४३ जिल्लाका १६० उत्पादन

काठमाडौं । पुराना तथा मौलिक परम्परा, प्रविधि, सीप, संस्कृति र रीतिरिवाजसँग हाम्रो जीवन जोडिएकाे हुन्छ । यिनै कुरा लोप हुँदा वा हराउँदा हाम्रो मौलिक जीवन नै हराउँछ । नयाँ पुस्तालाई मौलिक प्रविधि तथा खाद्यान्न परिचित गराउने उद्देश्यले तीन वर्षअघि तिलक ढकालले रैथाने एग्री प्रडक्ट्स नेपाल प्रा.लि. सञ्चालनमा ल्याए ।

लामो समयसम्म गरिरहेको विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को जागिर छोडेर व्यापारमा लाग्न ५८ वर्षीय ढकाललाई सजिलो भने थिएन ।

"३२ वर्षसम्म जागिर खाएको मान्छेलाई आफ्नो जागिर चटक्क छोडेर आइडिया नभएको व्यापारमा लाग्न त्यति सहज थिएन," उनी भन्छन्, "व्यापारभन्दा पनि मौलिक तथा रैथाने सीप, प्रविधि र बाली जोगाउन एउटा अभियानको खाँचो थियो । त्यही अभियान व्यापारसँग जोडेर अघि बढाउन सकियो भने त्यसले सार्थकता पाउँछ भन्ने लाग्यो ।"

बुढेसकालमा आराम गर्नुपर्ने बेला व्यापार गर्न खोज्दा थुप्रै मानिसले खिसी गरेको उनी बताउँछन् । भन्छन्, "आराम गर्नुपर्ने बेला व्यापार गर्न लाग्यो भनेर धेरैले बौलायो कि पनि भने, तर यसलाई व्यापारभन्दा पनि अभियान र संरक्षणको कामका रूपमा अगाडि बढाउनु थियो ।"

कुनै पनि अभियानमा प्रत्यक्ष फाइदा भयो भने त्यसलाई निरन्तरता दिन सकिन्छ भन्ने ढकालको अनुभव थियो । त्यसैले उनले आफ्नै उमेर समूहका केही साथीहरूसँग आफ्नो प्रस्ताव राखे । उनको प्रस्ताव उपयुक्त लागेपछि उनकै उमेर समूहका राइबहादुर राई, उपेन्द्रराज कुईँकेल, कल्पना राई र शंकर गौतम उक्त अभियानमा जोडिए ।

आफ्नो देशमा भएका मौलिक तथा रैथाने कृषि सामग्रीलाई जोगाउने अभियानमा जोडिने प्रस्ताव आएपछि आफू दङ्ग परेको कल्पना राईले सुनाइन् ।

"मलाई पनि कुनै न कुनै रूपमा हाम्रा रैथाने कृषि सामग्री बच्नुपर्छ भन्ने लाग्थ्यो," उनले भनिन्, "राई सरले सञ्चालक समितिमा जोडिन प्रस्ताव गरेपछि सहर्ष स्वीकारेर परियोजनामा संलग्न भएँ ।" सञ्चालक समितिका पाँच जना सदस्यबाट लगानी सुरु भएको उक्त कम्पनीमा हालसम्म ४९ जना शेयरहोल्डर जोडिएका छन् ।

सुरुवातमा पाँच जना सञ्चालक समितिका सदस्यबाट दुई करोड ५० लाख बढी रकम संकलन भएपछि त्यसैबाट रैथाने एग्री प्रोडक्ट्स सुरु भएको थियो ।

के हो रैथाने एग्री प्रडक्ट्स?

रैथानेको अर्थ हुन्छ, कुनै पनि ठाउँमा पहिलेदेखि रही आएको पुरानो वस्तु (मानिस, कला, संस्कृति, रीतिरिवाज, वन्यजन्तु, कृषि बाली) । यो देशका विभिन्न भू-भागमा रहेका मानिसहरूले बचाएर राखेका मौलिक कृषि उत्पादन, प्रविधि, कला र संस्कृति जोडिएका सीपलाई व्यापारमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको कम्पनी हो ।

तीन वर्षअघि सुरु भएको यस कम्पनीमा हालसम्म ४३ भन्दा बढी जिल्लाका डेढ सय बढी कृषि सामग्री रहेका छन् ।

रैथाने एपबाट यसरी कृषि समाग्री अर्डर गर्न सकिन्छ

रैथाने एग्री प्रोडक्ट्सले भौतिक तथा भर्चुअल रूपमा कृषि उत्पादन तथा उपकरण बिक्री गर्छ । भौतिक रूपमा कृषि उत्पादन तथा उपकरण खरिद गर्न काठमाडौं धुम्बाराहीस्थित कम्पनीको आउटलेटमा पुग्न पर्छ । तर, अनलाइनबाट भने रैथानेको एप तथा सामाजिक सञ्जालबाट अर्डर गर्न सकिन्छ ।

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरेर र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।  त्यस्तै सामाजिक सञ्जालबाट पनि विभिन्न कृषि सामग्री अर्डर गर्न सकिन्छ ।

रैथाने एग्री प्रोडक्ट्सको एपबाट खानामा झिनुवा बासमती चामलदेखि तोरीको तेल विभिन्न गेडागुडी पाइन्छ । यसैगरी उक्त एपबाट विभिन्न जिल्लाका रैथाने तरकारी, फलफूल, जडिबुटी, हस्तकला सामग्री आदि अर्डर गर्न सकिन्छ ।

एपबाट मात्रै ४० प्रतिशतको व्यापार

रैथाने एग्री प्रडक्ट्सले सुरुवाती दिनमा उत्पादन बिक्रीका लागि भौतिक माध्यम प्रयोग गरेको थियो । तर, त्यही समयमा समाजिक सञ्जाल तथा इन्टरनेटले बजारमा राम्रो प्रभाव पारिरहेको उनीहरूले देखे । त्यसपछि व्यापारका लागि रैथाने एग्री प्रडक्ट नेपालले सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोग गरिरहेको छ ।

"हामीले पुरानो प्रविधिलाई बचाउन नयाँ प्रविधिको साथ किन नलिने त भनेर सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोग गर्ने योजना बनायौँ," कम्पनीको सञ्चालक समितिका सदस्य शंकर गौतम सुनाउँछन्, "बालबालिका तथा नयाँ पुस्ता सामाजिक सञ्जाल र इन्टरनेटमा सक्रिय छन् । उनीहरूसँग जोडिनका लागि भए पनि एप तथा सामाजिक सञ्जालले महत्त्वपूर्ण भूमिका खेल्छ ।"

सुरुवाती समयमा एपलाई त्यति राम्रोसँग सञ्चालन गर्न नसकेको गौतमको भोगाइ छ ।

"हाम्रो पुस्तालाई नयाँ प्रविधि बुझ्न पनि गाह्रो भयो," विगत सम्झिँदै उनी भन्छन्, "बीचमा हामीलाई एपमा सहयोग गर्ने संस्था पनि पछि हट्यो । एप तथा सामाजिक सञ्जालबाट राम्रो व्यापार गर्न सकिन्छ भन्ने बुझेपछि केही महिनादेखि सक्रिय रूपमा लागेका छौँ ।"

कम्पनीको आर्थिक प्रतिवेदन अनुसार पछिल्लो तीन महिनामा एपबाट ४० प्रतिशत कारोबार हुने गरेको रैथाने एग्री प्रडक्ट्सका लेखापाल शशि चौधरी बताउँछन् । "हाम्रो कम्पनीले मासिक औसत २० लाख रकम बराबरको कारोबार गर्ने गर्छ," चौधरी भन्छन्, "जसमा एपबाट ४० प्रतिशत, फेसबुकबाट २० प्रतिशत र भौतिक रूपमा बाँकी ४० प्रतिशत व्यापार हुन्छ ।"

अभियानका रूपमा सुरु गरेकाले केही प्रतिशत मात्र नाफा रहेको अध्यक्ष ढकाल सुनाउँछन् ।

रैथानेबाट ४३ जिल्लाका नौ हजार जना किसान लाभान्वित

"हामी देशका विभिन्न जिल्लामा रहेका किसानले उत्पादन गरेका मौलिक तथा रैथाने कृषि उपच खरिद गरेर बिक्री गर्ने गर्छौँ," सञ्चालक समितिका अर्का सदस्य उपेन्द्रराज कुईँकेलले भने, "जसबाट प्रत्यक्ष रूपमा ४३ जिल्लाका नौ हजार किसान लाभान्वित भएका छन् ।"

यसरी देशको ग्रामीण भेगमा रहेका रैथाने उत्पादन बिक्री गर्नका लागि मात्र नभई उनीहरूलाई प्रोत्साहन गर्न समेत रैथानेले सघाएको कुईँकेल बताउँछन् । ग्रामीण भेगबाट त्यहाँका स्थानीय रैथाने उत्पादनको माग बढि हुँदा त्यसले किसान उत्साहित भएको बताउँछन्, जुम्लाका किसान खड्कबहादुर शाही ।

"हामीले यहाँ उत्पादन हुने मार्सी धान बिक्री गर्न पाएका छौँ, सिजनमा स्याउ लिन पनि उहाँहरू गाडी पठाउनुहुन्छ," उनले भने, "यसले किसानलाई रैथाने बाली जोगाउन प्रोत्साहन गर्नुका साथै हामीलाई स्वरोजगार बनाएको छ ।"

सन्तुष्ट उपभोक्ता

रैथाने कृषिबाली उपभोग गर्न पाउँदा आफू सन्तुष्ट भएको बताउँछन् काठमाडौं कलङ्कीका स्थानीय दिपेश थापा ।

"देशका विभिन्न भेगमा किसानले जोगाएका रैथाने कृषि उत्पादन पाउने थाहा पाएपछि एप खोलेर रसुवाको आलु एक किलो अर्डर गरेको थिएँ," आफूले पहिलो पटक अर्डर गरेको दिन सम्झिँदै दिपेशले भने, "मूल्य ८० रुपैयाँ थियो । त्यसमा पनि एक केजी मात्र । मलाई त विश्वास नै थिएन । उहाँहरूले भोलिपल्ट सामान घरमै पुर्‍याइदिनु भयो । त्यसपछि म रैथानेको नियमित उपभोक्ता बनेको छु ।"

कोभिडको समयमा कम्पनीले निःशुल्क डेलिभरी सेवा सञ्चालनमा ल्याएको थियो । अहिले पनि सीमित समयका लागि कम्पनीले फ्रि डेलिभरी सेवा उपलब्ध गराउँदै आएको छ । विभिन्न जिल्लाका किसानले उत्पादन गर्ने मौलिक बालीलाई कम्पनीले प्रवर्द्धन गरेकोमा थापाले धन्यवाद ज्ञापन गरेका छन् ।

तीन वर्षमा ३० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी

किसान मात्र नभई रैथाने एग्री प्रडक्ट्सले विभिन्न जिल्लाका दक्ष जनशक्तिलाई रोजगारी दिएको छ । अध्यक्ष ढकाल भन्छन्, "हामीले विभिन्न जिल्लाका ३० जना बढीलाई रोजगारी दिएका छौँ । विशेषगरी आउटलेटमा बस्ने, भण्डारण घरमा रहने, प्याकेजिङ गर्ने, डेलिभरी गर्ने विभिन्न ३० जना रहेका छन् ।"

त्यस्तै सिजनमा थप जनशक्ति आवश्यक पर्ने हुँदा पार्ट टाइमका रूपमा थप १५/२० जनाले काम गर्ने गरेको उनी बताउँछन् ।

डेलिभरी गर्न विद्युतीय स्कुटरको प्रयोग

उपभोक्ताले गरेका अर्डर डेलिभरी गर्न कम्पनीले भ्यान, बाइक र स्कुटर राखेको छ ।

डेलिभरी सेवा वातावरणमैत्री बनाउन प्रायः विद्युतीय स्कुटर प्रयोग गरेको ढकाल बताउँछन् ।

"हामी सबै काम वातावरण तथा स्वास्थ्यमैत्री बनाउने कुरामा केन्द्रित छौँ," उनी भन्छन्, "त्यसैको पहिलो कदम अन्तर्गत हामीले विद्युतीय स्कुटरको प्रयोग गर्ने निर्णय गरेका हौँ ।"

सोसल ल्याबका लागि रैथानेको पहल

जसरी विभिन्न विद्यालय तथा क्याम्पसमा साइन्स, कम्प्युटर ल्याब हुन्छन्, त्यस्तै अब सोसल ल्याब हुनुपर्ने रैथाने एग्री प्रडक्सका अध्यक्ष ढकाल बताउँछन् ।

"हामी विद्यालयमा अन्य देशका उन्नत प्रविधिलाई चिनाउन कम्प्युटर ल्याब तथा विज्ञान ल्याब बनाउछौँ," उनी भन्छन्, "हाम्रै मौलिक तथा रैथाने प्रविधिलाई नयाँ पुस्तामाझ चिनाउन किन सोसल ल्याब नबनाउने ? त्यसैले हरेक विद्यालयमा हाम्रा मौलिक प्रविधि समेटिएको सामाजिक प्रयोगशाला बनाउन आवश्यक छ ।"

सोसल ल्याब बनाएर गाउँघरका पुराना प्रविधि, संस्कृति झल्काउने उत्पादन राखियो भने नयाँ पुस्तालाई उक्त कुराको महत्त्व बुझाउन सकिने ढकालको विश्वास छ ।

किसानलाई एपमा जोड्न समस्या

रैथाने कृषि उपज तथा प्रविधिलाई ग्रामीण भेगका किसानले जोगाएका हुन्छन् । उनीहरू इन्टरनेट तथा सामाजिक सञ्जालको पहुँचबाट टाढा भएकाले सोझै जोड्न नसकिएको ढकालको बुझाइ छ ।

"यदि किसानलाई एपमा जोड्न सकियो भने उनीहरू आफ्ना उत्पादन कति मूल्यमा बिक्री भइरहेका छन् भन्ने कुरा हेर्न सक्छन् । त्यसले हामीलाई पनि ई–कमर्स साइटका रूपमा विस्तार गर्न सहयोग गर्थ्यो," उनी सुनाउँछन् । भौगोलिक विकटताले गर्दा त्यस्तो ठाउँमा इन्टरनेट पुग्न सकेको छैन । त्यसका लागि केही समय पर्खिनुपर्ने उनको धारणा छ ।

भावी योजना

नयाँ प्रविधिलाई विस्तार गरेर अगाडि बढ्न सकियो भने कम्पनीले आफ्नो लक्ष्य पूरा गर्ने गौतम बताउँछन् ।

"अहिलेको समयमा बजारीकरण गर्न सामाजिक सञ्जाल र इन्टरनेटले धेरै सघाएको छ," उनी भन्छन्, "हाम्रो पुस्ता इन्टरनेटसँग परिचित नभए पनि नयाँ पुस्तासँग जोड्नका लागि यो प्रविधिले सघाएको छ ।"

अब नयाँ पुस्तालाई केन्द्रित गर्दै रैथाने एपमा थप फिचर ल्याउने उनीहरूको योजना छ । विशेषगरी विभिन्न रैथाने कृषि उपजको महत्त्व बुझाउन सकियो भने नयाँ पुस्ता आकर्षित गर्न सकिने कल्पना राईको विश्वास छ ।

"हाम्रो मुख्य नारा नै 'गाउँको उत्पादन सहरमा रैथाने खाना घर-घरमा' रहेको छ," राई भन्छिन्, "यही संकल्प लिएर देशका प्रमुख सहरमा रैथाने विस्तार गर्ने योजनामा छौँ ।" तीन वर्षमा ४३ ओटा जिल्लाका कृषि सामग्री बिक्री गर्न सफल भएको कम्पनीले आगामी दुई वर्षमा ७७ ओटै जिल्लाका रैथाने कृषि बाली तथा प्रविधि बिक्री गर्ने लक्ष्य लिएको छ ।