close

२०२३ मा एप्पलले ल्याउन सक्ने सम्भावित ६ प्रडक्ट

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १८:०

२०२३ मा एप्पलले ल्याउन सक्ने सम्भावित ६ प्रडक्ट

नयाँ अङ्ग्रेजी वर्ष २०२३ अर्को महिनादेखि सुरू हुँदैछ । प्रविधि क्षेत्रमा २०२३ मा नयाँ के के आउलान् ? प्रविधिप्रेमी हुनुहुन्छ तपाईँलाई यो जिज्ञासा लाग्नु स्वाभाविकै हो । आज हामी प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलले ल्याउनसक्ने सम्भावित उत्पादनबारे चर्चा गर्दैछौं ।

आईफोन १५

एप्पलले हरेक वर्ष नयाँ आईफोन सिरिज सार्वजनिक गर्ने गर्छ । यस वर्ष सार्वजनिक हुने नयाँ सिरिजको नाम आईफोन १५ हुनेछ ।

आईफोन १५ सार्वजनिक हुन लगभग नौ महिना बाँकी हुँदा यसबारे विभिन्न जानकारी बाहिरिएका छन् ।

१५ इन्च म्याकबुक एयर

एप्पलले २०२३ मा १५-इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । म्याकबुक एयर १६ इन्चको म्याकबुक प्रो जस्तै हुने अनुमान छ ।

तर, उक्त म्याकबुकभन्दा म्याकबुक एयर केही पातलो र हलुका हुनेछ । अहिलेको म्याकबुक एयर १३ इन्चको रहेको छ ।

१५ इन्चको म्याकबुकको डिजाइन पनि अहिले १३-इन्चको म्याकबुक प्रो जस्तै हुने विभिन्न स्रोतले उल्लेख गरेका छन् ।

'रियालिटी प्रो' हेडसेट

कम्पनीले २०२३ मा ल्याउने अर्को उत्पादन हो, रियालिटी प्रो हेडसेट । लामो समयदेखि कम्पनीले एआर/भीआर प्रविधिलाई अघि बढाउने योजना बनाइरहेको छ । २०२३ मा भने कम्पनीले 'रियालिटी प्रो' नामक हेडसेट सार्वजनिक गर्ने योजना बनाएको छ ।

एप्पलका विश्लेषक मिङ चि-कुओ (Ming Chi-Kuo) ले एप्पलले २०२३ जनवरीमा एक कार्यक्रम आयोजना गर्दै नयाँ हेडसेट सार्वनिक गर्ने उल्लेख गरेका छन् । तर, यसबारे कम्पनीले हालसम्म  आधिकारिक जानकारी दिएको छैन ।

आईम्याकमा एम३ चिप

एप्पल अर्को वर्ष सार्वजनिक गर्नेगरी आईम्याकको तयारी गरिरहेको छ । नयाँ आईम्याक एमथ्री एप्पल सिलिकन चिपद्वारा सञ्चालित हुनेछ । यसको डिजाइन, साइज, आकारबारे भने हालसम्म कुनै जानकारी बाहिरिएको छैन । 

एप्पल टिभी, होमपोड र फेसटाइम क्यामेरा एउटैमा भएको डिभाइस

एप्पल एउटा त्यस्तो डिभाइसमा काम गरिरहेको छफ जहाँ एप्पलटिभी, फेसटाइम क्यामेरा र होमपड समावेश गर्न सकियोस् । उक्त प्रडक्टबारे अप्रिल २०२१ मा चर्चामा आएपनि सम्भवतः २०२३ मा सार्वजनिक हुने अनुमान छ ।

आईओएस १७

एप्पलले यस वर्ष आईओएस १६ सार्वजनिक गरेको थियो । अहिले पनि आईओएस १६.१.२ चलिरहेको छ । २०२३ मा भने आईओएस १७ सार्वजनिक हुने अपेक्षा गरिएकाे छ । सम्भवतः जुन २०२३ को डब्लूडब्लूडीसी सम्मेलनमा यो अपडेट सार्वजनिक हुनेछ ।

यसैगरी कम्पनीले आईओएस १७, आईप्याडओएस १७, म्याकओएस १४ र वाचओएस १० सार्वजनिक गर्ने योजना बनाइरहेको छ । आईओएस १६ मा भएका कमजोरीलाई सुधार गर्दै कम्पनीले नयाँ अपडेट सार्वजनिक गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ ८:५०