close

२४० वाट फास्ट चार्जर सहितको स्मार्टफोन ल्याउँदै रियलमी

टेकपाना टेकपाना

मंसिर २५, २०७९ १०:५७

२४० वाट फास्ट चार्जर सहितको स्मार्टफोन ल्याउँदै रियलमी

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी रियलमीले २४० वाट चार्जर सहितको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले रियलमी जीटी नियो ५ स्मार्टफोनसँगै यो चार्जर उपलब्ध गराउने भएको हो ।

डिजीटल च्याट स्टेसनका अनुसार कम्पनीले रियलमी जीटी नियो ५ को ४६०० एमएएच क्षमताको ब्याट्री चार्ज गर्न २४० वाट फास्ट चार्जर उपलब्ध गराउने भएको छ । यही मोडेलसँग कम्पनीले १५० वाट फास्ट चार्जर पनि उपलब्ध गराउनेछ । तर, उक्त मोडेलको ब्याट्री क्षमता ५००० एमएएच हुने बताइएको छ । 

हाल रियलमीले १५० वाट फास्ट चार्जर रियलमी जीटी नियो ३ सिरिजका फोनका लागि उपलब्ध गराउँदै आएको छ । यससँगै कम्पनीले रियलमी जीटी नियो ५ सिरिजको मुख्य क्यामेराका लागि सोनी आईएमएक्स ८९० (IMX890) इमेज सेन्सर उपलब्ध गराउनेछ ।

बाहिरिएका विवरण अनुसार रियलमी जीटी नियो ५ मा १२० हर्ज रिफ्रेस रेट भएको ओएलईडी डिस्प्ले समावेश हुनेछ । यससँगै जीटी नियो फाइभ सिरिज मिडियाटेक डाइमेन्सिटी ८१०० चिपद्वारा सञ्चालित हुनेछ ।

पछिल्लो समय विभिन्न स्मार्टफोन निर्माता कम्पनीले चार्जरमा प्रतिस्पर्धा गरिरहेका छन् । विभिन्न चिनियाँ ब्रान्डले मिड-रेन्ज फोनका लागि १२० वाट फास्ट चार्जर उपलब्ध गराउँदै आएका छन् । जसलाई पछि पार्दै रियलमीले १५० वाट फास्ट चार्जर सार्वजनिक गरेको थियो । 

स्मार्टफोनको दुनियाँमा सबैभन्दा पहिले २०० वाट फास्ट चार्जर उपलब्ध गराउने कम्पनी साओमी हो । कम्पनीले रेड्मी १२ सिरिजका लागि यो चार्जर उपलब्ध गराउँदै आएको छ । जसका अनुसार रेड्मी १२ सिरिजका फोनलाई १० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

रियलमीको यो फोन सन् २०२३ मा सार्वजनिक हुने बताइए पनि कम्पनीले भने कुनै आधिकारिक विवरण दिइसकेको छैन । 

 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०७९ ११:५