close

९ मिनेटमै फूल चार्ज हुने रियलमी जीटी थ्री विश्वबजारका लागि सार्वजनिक

टेकपाना टेकपाना

फागुन १७, २०७९ ८:५

९ मिनेटमै फूल चार्ज हुने रियलमी जीटी थ्री विश्वबजारका लागि सार्वजनिक

काठमाडौं । चिनियाँ बजारमा रियलमी जीटी नियो फाइभको रुपमा २४० वाट फास्ट चार्जिङ सपोर्ट सहित सार्वजनिक भएको स्मार्टफोन विश्वबजारका लागि पनि सार्वजनिक गरिएको छ । 

चीन बाहेक अन्य देशमा भने यो फोन रियलमी जीटी थ्रीको रुपमा बिक्री हुनेछ । स्न्यापड्रागन ८ जेन २ (Snapdragon 8 Gen 2 SoC) चिपसेट भएको यो स्मार्टफोनमा ४६०० एमएएचको ब्याट्री राखिएको छ, जसले २४० वाटको वायर्ड चार्जिङ स्पिड सपोर्ट गर्छ ।

यो अहिलेसम्मकै उच्च गतिको चार्जिङ स्पिड हो । कम्पनीका अनुसार यो फोन फूल चार्ज हुन कुल ९ मिनेट ३० सेकेन्ड मात्र लाग्छ । फोनलाइ शून्यबाट २० प्रतिशत चार्ज हुन ८० सेकेन्ड मात्र लाग्छ । 

हुन त फास्ट चार्जिङलाई ब्याट्रीको क्षमताको लागि राम्रो मानिदैँन । तर कम्पनीले यो फोनमा त्यस्तो समस्या नहुने बताएको छ । कम्पनीका अनुसार फोनको ब्याट्रीले १६०० चार्जिङ साइकलसम्ममा ८० प्रतिशतसम्मको क्षमताले काम गर्नेछ । 

यसबाहेक फोनमा १४४ हर्जको रिफ्रेसरेट सहितको ६.७४ इन्चको डिस्प्ले छ । फोनको फ्रन्टमा १६ मेगापिक्सेलको क्यामेरा छ भने फोनको पछाडी पट्टि ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको माइक्रोस्कोप पनि समावेश छ । 

८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ६४९ डलर (करिब ८६ हजार रुपैयाँ) तोकिएको छ ।    

पछिल्लो अध्यावधिक: फागुन १७, २०७९ ८:६