काठमाडौं । ग्लोबल ई-स्पोर्ट्स फेडेरेसनको आयोजनामा हुन लागेको ग्लोबल ई-स्पोर्ट्स गेम २०२२ का लागि नेपाली डोटा तथा पब्जी टिम बुधबार टर्की प्रस्थान गरेको छ । प्रतियोगिताका लागि नेपालबाट पब्जी टिम ‘डीआरएस गेमिङ’ र डोटा टिम बड्सले टर्की उडेका हुन् ।
डिसेम्बर १५ देखि १८ सम्म इस्तानबुलमा याे प्रतियोगिता हुँदैछ । एसिया स्तरको छनोट पार गर्दै नेपाली टिमले यो यात्रा तय गरेका हुन् । नेपाली टिमले टर्कीमा अब सेमिफाइनल र फाइनलका खेल खेल्ने नेपाल ई-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज डंगोलले जानकारी दिए ।
यो प्रतियोगितामा डोटाको खेल बिहीवार र पब्जीको खेल शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागी टिमले सबै खेलमा ‘टिम नेपाल’ को नामले खेल्नेछन् । यो प्रतियोगितामा सेमिफाइनल र फाइनल गरेर नेपाली पब्जी टिम डीआरएसले कुल १० खेल खेल्नेछ ।
यसअघि पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा छनोट भइसकेको डीआरएसलाई यो प्रतियोगिता चुनौतीसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अर्को अवसर पनि हुने डंगोलले बताए ।
यो प्रतियोगितामा पब्जी मोबाइल, डोटा-टु, स्ट्रेट फाइटर भी र प्रो इभोलुसन सकर (पेस) मा प्रतिस्पर्धा हुँदैछ । नेपालले भने पब्जी र डोटामा मात्र भाग लिँदैछ । स्ट्रेट फाइटर भी र प्रो इभोलुसन सकर (पेस) का लागि नेपालबाट खेलाडी नभएका कारण सहभागिता जनाउन नसकिएको डंगोलको भनाइ छ ।