close

फ्रिफायरलाई पछि पार्दै पहिलो पटक पब्जीले जित्यो ‘ई-स्पोर्ट्स मोबाइल गेम’ अवार्ड

टेकपाना टेकपाना

मंसिर २९, २०७९ १५:२२

फ्रिफायरलाई पछि पार्दै पहिलो पटक पब्जीले जित्यो ‘ई-स्पोर्ट्स मोबाइल गेम’ अवार्ड

काठमाडौं । युवामाझ चर्चित पब्जी मोबाइल गेमले याे वर्षको उत्कृष्ट मोबाइल ई-स्पोर्ट्स अवार्ड जितेको छ । बुधबार अमेरिकाको लस भेगासमा आयोजित 'ई-स्पोर्ट्स अवार्ड २०२२' समारोहमा पब्जीले यो अवार्ड पाएको हो ।

पब्जीसँगै यो अवार्डका लागि फ्रिफायर, कल अफ ड्युटी, पोकेमन युनाइट, एरेना अफ भ्यालोर लगायतका माेबाइल गेम पनि प्रतिस्पर्धामा थिए । पब्जीले यी सबै गेमलाई विश्वभरबाट गरिएको भोटको आधारमा पछि पारेको हो ।

सन् २०२० र २०२१ मा पनि पब्जीले यो अवार्डका लागि प्रतिस्पर्धा गरेको थियो । तर दुवै संस्करणकाे अवार्ड फ्रिफायरले जितेको थियो ।

यसैगरी वर्ष २०२२ को उत्कृष्ट ई-स्पोर्ट्स मोबाइल प्लेयरको अवार्ड चीनका पब्जी खेलाडी सेङ अर्डर जेहाइले जितेका छन् । उनी ‘नोभा ई-स्पोर्ट्स’का स्टार खेलाडी हुन् ।

यसैगरी वर्षको उत्कृष्ट ई-स्पोर्ट्स गेमको उपाधि कम्प्युटर गेम भ्यालोरेन्टले जितको छ । यस विधामा प्रसिद्ध गेम काउन्टर स्ट्राइक, डोटा, फोर्टनाइटले लगायतका गेम छनाेटमा परेका थिए । त्यस्तै भ्यालोरेन्टकै टिम ‘लाउड’ले वर्षको उत्कृष्ट ई-स्पोर्ट्स टिमको उपाधि जितेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ १५:३४