close

के अबको भविष्य ई-सिम नै हो त ?

टेकपाना टेकपाना

पुस २, २०७९ ११:१४

के अबको भविष्य ई-सिम नै हो त ?

काठमाडौं । विश्वबजारमा ई-सिमले बजार विस्तार गर्दैछ । नेपालमा पनि दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले ई-सिम वितरण सुरु गरिसकेका छन् । तर यसको सान्दर्भिकताको बारेमा भने अहिले पनि प्रश्न उठिरहेको छ । के अबको भविष्य ई-सिम नै हो त ?

नयाँ स्मार्टफोनहरूमा एक वा दुई मात्र सिमकार्ड स्लट हुँदा दुईभन्दा बढी नम्बर आवश्यक हुने अथवा धेरैजसो यात्रामा हिँड्ने  प्रयोगकर्ताहरूको लागि दुई ओटा स्मार्टफोन बोक्नु अनिवार्य जस्तै छ । अहिले पनि एकभन्दा बढी फोन भएका व्यक्तिहरू फेला पार्न सजिलो छ, र त्यसका धेरै कारणहरू छन् ।

विशेषगरी आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनलाई सन्तुलन गर्नको लागि फरक-फरक नम्बर बोक्ने धेरै प्रयोगकर्ता भेटिन्छन्, जसले एकभन्दा बढी फोन प्रयोग गरिरहेका हुन्छन् । तर अब एकभन्दा बढी फोन बोक्नुपर्ने बाध्यता हट्दैछ ।

विगतमा, व्यावसायिक प्रयोगको लागि एकभन्दा बढी फोन बाेक्न साँच्चै आवश्यक थियो । धेरैजसो फोनमा एउटा मात्र सिम कार्ड स्लटहरू हुन्थे, जसले गर्दा मोबाइलमा एउटा मात्र नम्बर प्रयोग गर्न सकिन्थ्यो । विस्तारै यो सुविधा दुई ओटासम्म सिमकार्ड बोक्न सक्ने सुविधामा परिवर्तन भयो ।

सन् २०२२ मा आएर एउटा मात्र सिम प्रयोग गर्ने मिल्ने मोबाइल फोनहरू निकै कम देखिन्छन् । यसले देखाउँछ कि, आजकल डुअल सिम फोनहरू कत्तिका प्रभावशाली छन् भनेर । तर अब यो सेवालाई पनि विस्थापित गर्नको लागि बजारमा ई-सिमको विकास गरिएको छ ।

अहिलेका स्मार्टफोनहरू विकास हुनुअगाडि नै डुअल सिम फोन उपलब्ध थिए । चिनियाँ बजारमा त अझ तीन देखि चारओटा सिम राख्न मिल्ने फोनहरू पनि सार्वजनिक भएका थिए ।

एक रिपोर्टका अनुसार सन् २०१७ सम्ममा विश्वबजारमा एउटा मात्र सिम अटाउने फोनको संख्या ७५ प्रतिशत थियो । तर २०२२ मा आइपुग्दासम्म जम्मा १५ प्रतिशत फोनहरू एउटा सिम अट्ने फोनहरू छन् । यसैबीच, बजारमा डुअल सिमका फोनले ८३ प्रतिशत हिस्सा ओगटेका छन् । त्यस्तै दुई प्रतिशत फोन भने तीनओटा नानोसिम प्रयोग गर्न सकिने फोन छ । 

डुअल सिम फोनले प्रयोगकर्ताको जिवनलाई धेरै सहज बनाएको थियो । तर अब यसको आवश्यकता पनि रहने छैन । एकातिर बढ्दो इन्टरनेट कल सेवा अर्कोतिर विकास भएको ई-सिम । आजको दिनमा ई-सिमको प्रयोगकर्ता धेरै थोरै र उपलब्धता पनि कम देखिए पनि यसले भोलिको दिनमा ठूलो महत्त्व राख्नेछ ।

मानिसहरू साँच्चै दुई फोन बोक्नुपर्ने बाध्यताबाट बाहिरिन चाहन्छन् । ई-सिम इम्बेडेड सिम कार्ड हो । यो "इलेक्ट्रोनिक सिम" वा सफ्टवेयरद्वारा डाउनलोड गरिएको भर्चुअल सिम भने होइन । वास्तवमा ई-सिम अर्थात् ईम्बेडेड सिम भनेको फोन निर्माण हुँदा नै निर्माता कम्पनीले जडान गरेको ई-सिम चिप हो ।

यो विश्वका सबै देशका लागि एउटै हुन्छ । तर, हरेक देशमा मोबाइल सेवा प्रदायक भिन्नाभिन्नै हुने भएकाले प्रयोगकर्ताले नयाँ सेवा प्रदायकको "ई-सिम प्रोफाइल" इन्स्टल गरेर एक्टिभेट गरेको हुनुपर्छ । टेलिकम तथा एनसेलले उपलब्ध गराएको क्यूआर कोड वा एसएमडीपी एड्रेस (SM-DP+Address) र एक्टिभेसन कोड प्रयोग गरेर तपाईँले आफ्नो डिभाइसमा ई-सिम एक्टिभेट गर्नुपर्ने हुन्छ । 

टेलिकम तथा एनसेलले वितरण गर्ने ई-सिम भन्नु नै उनीहरुले क्यूआर कोड एक्टिभेसन कोड उपलब्ध गराउनु हो ।

पछिल्लो अध्यावधिक: पुस २, २०७९ ११:१४