close

आईओएस १६.२ को अपडेटसँगै आईफोनमा फाइभजी सपोर्ट, यसरी गर्नुहोस् एक्टिभेट

टेकपाना टेकपाना

पुस ४, २०७९ ९:७

आईओएस १६.२ को अपडेटसँगै आईफोनमा फाइभजी सपोर्ट, यसरी गर्नुहोस् एक्टिभेट

काठमाडौं । एप्पलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ भर्सन आईओएस १६.२ र आईप्याड १६.२ सार्वजनिक गरेको छ । केही नयाँ एप र नयाँ सुधारहरू सहित नयाँ अपडेट आएको हो । योसँगै कम्पनीले आईफोनका केही मोडेलहरूमा फाइभजी सपोर्ट पनि उपलब्ध गराएको छ । फाइभजी सपोर्ट गर्ने आईफोनका मोडेलहरूमा आईओएस १६.२ अपडेट गरेर फाइभजी नेटवर्क प्रयोग गर्न सकिन्छ ।  

यसो त सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले अङ्ग्रेजी नयाँ वर्ष २०२३ बाट काठमाडौंका विभिन्न स्थानमा फाइभजी परीक्षण गर्ने बताएको छ । यो परीक्षण सफल हुनासाथ नेपालमा पनि नेपाल टेलिकमको फाइभजी सेवा प्रयोग गर्न सकिन्छ ।

फाइभजी सपोर्ट गर्ने फोनहरू 

कम्पनीका अनुसार आईओएस १६.२ को आगमनसँगै आईफोन १२ सिरिजका डिभाइसमा फाइभजी सपोर्ट हुन्छ । आईफोन १२ सिरिज अन्तर्गतका विभिन्न मोडेल जस्तै आईफोन १२, आईफोन मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्समा फाइभजी एक्टिभेट गर्न सकिन्छ । 

यसैगरी आईफोन १३ अन्तर्गतका आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रोमा आईओएस १६.२ सँगै फाइभजी सपोर्ट हुने बताइएको छ । यससँगै कम्पनीले पछिल्लो समय बजारमा ल्याएको आईफोन १४ सिरिज र आईफोन एसई २०२२ मा पनि फाइभजी सपोर्ट हुने उल्लेख गरिएको छ ।

आईफोनमा यसरी एक्टिभेट गर्नुहोस् फाइभजीः

यदि तपाईँले आईओएसको पछिल्लो भर्सन इन्स्टल गर्नुभएको छ भने सजिलै फाइभजी इनेबल गर्न सक्नुहुन्छ । फाइभजी इनेबल गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले आईफोनको सेटिङमा जानुहोस् ।

- त्यसपछि भ्वाइस एण्ड डेटा (Voice and Data) को अप्सनमा ट्याप गर्नुहोस् ।

- अनि, 'फाइभजी अन' वा 'फाइभजी अटो'मा ट्याप गरेर फाइभजी इनेबल गर्न सक्नुहुन्छ ।  

 

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ ९:७