close

सामाजिक सञ्जालमा 'भेलु बाजे'का हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

टेकपाना टेकपाना

पुस ४, २०७९ २२:१५

सामाजिक सञ्जालमा 'भेलु बाजे'का हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं । सामाजिक सञ्जाल तथा इन्टरनेटमा 'भेलु बाजे' नामले चिनिएका मिनबहादुर बुढाका गतिविधि नियन्त्रण गर्न भन्दै प्युठान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । झिमरुक ३ प्युठान बस्ने सुवास जिसीले प्युठान प्रजिअ सुनिता नेपाललाई बुझाएकाे ज्ञापनपत्रमा अश्लील एवं अमर्यादित रूपमा सामाजिक सञ्जालमा 'भेलुबाजे'का हर्कत देखिएको भन्दै यसबाट बालबालिकालाई समेत नराम्रो असर परेकाे ज्ञापनपत्र उल्लेख छ ।

ज्ञापनपत्रमा जिसीले लेखेका छन्, ''भेलु बाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरूले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लील हर्कतहरू गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लील, अपाच्य र अमर्यादित शब्दहरू प्रसारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरूमा समेत प्रभाव परेकाले यथाशीघ्र भेलु बाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरूलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’

सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरू बोलेर र बोल्न लगाएर भाइरल हुने वा त्यस्ता सामग्री बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने सामाजिक मूल्य र मान्यताहरूको गम्भीर दुर्घटना हुने चिन्ता पनि ज्ञापनपत्रमार्फत प्रकट गरिएकाे छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ २२:१५