close

च्याट जीपीटीको बढ्दो लोकप्रियताले गुगललाई विस्थापित हुने डर

टेकपाना टेकपाना

पुस ८, २०७९ १२:२४

च्याट जीपीटीको बढ्दो लोकप्रियताले गुगललाई विस्थापित हुने डर

काठमाडौं । गत नोभेम्बर ३० मा सार्वजनिक भएको एआई (आर्टिफिसियल इन्टेलिजेन्स) टुल च्याट जीपीटीले अहिले निकै चर्चा पाएको छ । यसलाई लिएर पछिल्लो समय थुप्रै बहस हुन थालेका छन् । यसको निकटम प्रतिद्वन्द्वी मानिएको गुगल सर्चलाई पनि यो टुलको डर हुन थालेको छ ।

न्यू योर्क टाइम्समा बुधबार प्रकाशित रिपोर्टअनुसार यस विषयलाई लिएर गुगल व्यवस्थापन चिन्तित देखिएको छ । त्यससँगै गुगलको मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाइ अहिले गुगल एआई सम्बन्धी विभिन्न मिटिङमा लगातार सहभागी बनिरहेका छन् । एआईलाई लिएर त्यससँग सम्बन्धित नयाँ रणनीति बनाउने कुरामा पिचाइ केन्द्रित छन् ।

कुनै पनि जटिल प्रश्नबारे उत्तर पाउनु पर्‍यो भने गुगलमा धेरै साइट भिजिट गर्नुपर्ने हुन्छ । त्यसमा पनि कुन साइट कत्तिको भरपर्दो हो भन्ने कुराको ज्ञान हुनुपर्छ । तर, च्याट जीपीटीमा यसको प्रक्रिया भिन्नै छ । कुनै पनि प्रश्नको उत्तर खोज्नुपर्‍यो भने च्याट जीपीटीले विज्ञको जस्तै जवाफ दिन्छ । त्यसैले अहिले लाखाैं प्रयोगकर्ताको रोजाइमा च्याट जीपीटी परेको छ ।

विशेषगरी गुगलको अनुसन्धान, विश्वसनीयता र सुरक्षा डिभिजनका टोली, अन्य विभागबीच, एआई प्रोटोटाइप र उत्पादनहरूको विकास र सुरुवातमा सहयोग गर्न निर्देशन दिइएको छ ।  न्यू योर्क टाइम्सका अनुसार केही कर्मचारीलाई एआई उत्पादनहरू निर्माण गर्ने जिम्मा दिइएको छ । जसले कला र ग्राफिक्स सिर्जना गर्दछ । अर्थात् गुगल ओपन एआईको ड्याल-ई जस्तै टुल बनाउन काम गरिरहेको छ ।

यस विषयमा भने गुगलले भने कुनै आधिकारिक धारणा व्यक्त गरिसकेको छैन । वाईकम्बिनेटका पूर्वअध्यक्ष साम अल्टम्यानले सञ्चालन गरेको च्याटजीपीटी आम्दानीका लागि कस्तो रणनीति अपनाउछ भन्ने कुरा हालसम्म बाहिर आएको छैन । यदि यसरी निःशुल्क सञ्चालन हुने भयो भने पक्कै पनि यसले गुगलको आम्दानीलाई प्रभाव पार्ने विज्ञहरू बताउँछन् । अल्फाबेटले अहिले आफ्नो कूल आम्दानीको ८१ प्रतिशत अर्थात् २०८ अर्ब डलर गुगल सर्चबाट कमाउने गर्छ ।

सार्वजनिक भएको पाँच दिनमै १० लाख बढी प्रयोगकर्ता बनाउन सफल यो प्लेटफर्मले मानिसहरूलाई सन्तुष्ट हुने गरी उनीहरूको प्रश्नको जवाफ दिनेगरेको । केही प्रश्नहरूलाई छोडेर यसले अधिकांश प्रश्नको सटिक जवाफ दिने गरेको छ ।  

मानिसहरूलाई कोडिङबारे जानकारी दिने, सुझाव दिने, आवश्यक लेखहरू लेखिदिने, बायो वा सीभी बनाइदिने र विज्ञ डाक्टरको जस्तो सल्लाह दिने भनेपछि यो प्लेटफर्म धेरैको रोजाइमा परेको छ ।

यो प्लेटफर्म नयाँ भएकाले यसका केही सीमितता छन् । विशेषगरी कुनै पनि भाषा, भविष्यवाणी, धारणा दिनुपर्ने कुरामा भने च्याट जीपीटीमा केही सीमितता छन् । तर, यस प्लेटफर्मका राम्रा फिचरले यी सीमिततालाई दबाएर राखेको छ । जेजति कमजोरी भए पनि एआईलाई लिएर ओपन एआई क्रान्तिकारी परिवर्तन ल्याउन लागी परेको छ । ​

पछिल्लो अध्यावधिक: पुस ८, २०७९ १३:१८