काठमाडौं । कञ्चनपुरको एक संस्था ब्यानरका कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लूडीसी)ले आयोजना गरेको सचेतना कार्यक्रममा प्रयोग भएको ब्यानरमा त्रुटि हुँदा सामाजिक सञ्जालमा व्यापक आलोचना भएको हो ।
सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ । ब्यानरमा ‘मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी’ तालिम लेखिएपछि संस्था र भीमदत्त नगरपालिकाको आलोचना गरिएको हाे ।
संस्थाले तयार पारेको ब्यानरले मानव बेचबिखन तथा ओसारपसारका लागि तालिम दिन खोजेको भन्ने सन्देश दिएको भन्दै धेरैले आलोचना गरेका छन् । ब्यानरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण वा रोकथामसम्बन्धी सचेतना तालिम भनेर लेखिनुपर्ने धेरैको सुझाव छ ।
केन्द्रले तीन दिने तालिम कञ्चनपुरको भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा सोही नगरपालिकामा सञ्चालन गरिरहेको छ । सामान्य त्रुटिमा ख्याल नपुर्याउँदा प्रशंसा हुनुपर्ने केन्द्रको आलोचना भइरहेको छ । यद्यपि संस्थाको नियत गलत नरहेको र ब्यानरमा लेखिएको कुरालाई नकारात्मक रूपमा लिन र बुझ्न नहुने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामी बताउँछन् ।
"संस्थाको ब्यानरमा मानवीय त्रुटि भएको हो । तर, त्यसैलाई धेरै ठूलो बनाउनुपर्ने कारण केही देख्दिनँ," उनले भने, ‘यसमा खाली बुझाइको फरक मात्रै भएको छ । संस्थाको नियत गलत छैन ।"
धामीले ब्यानरभन्दा पनि संस्थाले दिने कन्टेन्ट महत्त्वपूर्ण रहेको भन्दै उसको कन्टेन्टमा मानव बेचबिखन र ओसारपसार गर्नुपर्ने खालको कुरा नरहेको बताएका छन् । ब्यानरमा भएको त्रुटिलाई लिएर संस्थाले माफी मागिसकेको छ ।