close

थाहा पाउनु भयो त कतिले हेरे तपाईँको ट्वीट ?

टेकपाना टेकपाना

पुस ९, २०७९ १६:२७

थाहा पाउनु भयो त कतिले हेरे तपाईँको ट्वीट ?

काठमाडौं । ट्वीटरले शुक्रबारदेखि हरेक ट्वीटमा आएको भ्युज देखाउन सुरु गरेको छ । यस अघि ट्वीटमा आएका लाइक वा कमेन्ट देख्ने भए पनि कतिजनाले ट्वीट हेरे भन्ने विषयमा भने कुनै जानकारी नहुने भएको हुँदा ट्वीटरका नयाँ मालिक एलन मस्कले यो फिचर ल्याउने घोषणा गरेका थिए ।

आईओएस र एन्ड्रोइडसँगै ट्वीट भ्यु काउन्ट अप्सन वेब भर्सनमा पनि देखिन थालेको छ । कुनै पनि ट्वीटको तल वायाँपट्टि अहिले उक्त ट्वीटमा आएको भ्युज देख्न सकिन्छ । यो अप्सन वायाँपट्टि नै ठीक छ वा दायाँपट्टि सार्नुपर्छ भन्ने विषयका लागि मस्कले नयाँ ट्वीट पोल क्रियट गरेका छन् । यसमा हालसम्म अधिकांशले दायाँपट्टि भ्यु काउन्ट अप्सन हुनुपर्ने धारणा राखेका छन् ।

यो फिचर बुधबार रातिबाट सुरु हुन थालेको भए पनि अधिकांश प्रयोगकर्ताले शुक्रबारबाट सो फिचर देख्न थालेका छन् । ९० प्रतिशत प्रयोगकर्ताले ट्वीट देखे पनि त्यसमा कुनै प्रतिक्रिया नजनाएको भन्दै मस्कले यो फिचर ल्याउन लागेको जनाएका थिए । मस्कले डिसेम्बर १ मा यो फिचर घोषणा गरेको भए पनि शुक्रबार विश्वभरका प्रयोगकर्ताले यो फिचर अनुभव गर्न पाएका छन् । यो फिचर उपलब्ध गराउँदा ट्वीटरमा कति मानिसहरू सक्रिय छन् भन्ने कुरा प्रस्ट हुने मस्कको विश्वास छ ।

ट्वीट भ्युज देखिने भएपछि यस प्लेटफर्ममा प्रयोगकर्ता थप सक्रिय हुने कम्पनीको विश्वास छ । यसो त भ्युज काउन्ट युट्युबमा सुरुवाती दिनबाट उपलब्ध हुँदै आएको फिचर थियो । युट्युबको डिसलाइक बटनले क्रियटरलाई निरुत्साहित बनाएको भन्दै युट्युबले डिसलाइकको सङ्ख्या हाइड गरेको थियो । युट्युबको यही फिचरलाई मध्यनजर गर्दै ट्वीटरले यो फिचर ल्याएको बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस ९, २०७९ १६:२७