close

क्यान महासंघमा नयाँ नेतृत्व, सामूहिक भावनाले काम गर्नेछौं: अध्यक्ष पौदार

टेकपाना टेकपाना

पुस १०, २०७९ ११:२९

क्यान महासंघमा नयाँ नेतृत्व, सामूहिक भावनाले काम गर्नेछौं: अध्यक्ष पौदार

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको महासंघको १४औं महाधिवेशनले ४३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

यसअन्तर्गत अध्यक्ष र केही विधागत सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो केहीमा मतदात गरिएको थियो । निर्वाचित सबै सदस्यले शनिबार नै शपथ ग्रहण गरेका छन् ।

शपथपछि टेकपानासँग बोल्दै नवनिर्वाचित अध्यक्ष पौदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताए । ''यसपटक अधिकांश सदस्य पदमा सर्वसम्मति जुटाइएको छ । अब सहमतिमै पदाधिकारी चयन गर्छौँ,'' उनले भने, ''क्यान महासंघमा विभिन्न सेक्टरबाट प्रतिनिधित्व हुने भएकाले सबै साथीहरुको कुरा सुनेर अघि बढ्छु ।''

गर्न सकिने कामलाई मात्र प्राथमिकता दिने र गर्न नसकिने कामको कुरै नगर्ने उनको भनाइ छ । ''साझा रुपमा एउटा निचोड बनाएर अघि बढ्ने हो । गर्न नसकिने काममा समय खर्चिने छैनौं,'' उनले भने ।

अघिल्लो कार्यसमितिको तीन वर्षे कार्यकालमा सन्तोषजनक काम हुन नसकेको स्वीकार्दै उनले भने, ''तीन वर्षमा दुई वर्ष त कोभिड महामारीकै कारण काम गर्न सकिएन । यही कारण केही पछि परेजस्ताे देखिएकाे छ । नयाँ कार्यसमिति एक ढिक्का भएर बाँकी रहेका काम पूरा गर्दै स्पष्ट योजना बनाएर अघि बढ्छ ।''

क-कसले जिते ?

 

पछिल्लो अध्यावधिक: पुस १०, २०७९ ११:३८