close

ई-पासपोर्ट वितरणमा सुधार ल्याउन गृह मन्त्रालयको विज्ञ टोली अनुगमनमा

टेकपाना टेकपाना

पुस १६, २०७९ १२:१२

ई-पासपोर्ट वितरणमा सुधार ल्याउन गृह मन्त्रालयको विज्ञ टोली अनुगमनमा

काठमाडौं । ई-पासपोर्ट अर्थात् विद्युतीय राहदानीको वितरणको कामलाई सुधार गर्न गृह मन्त्रालयले विज्ञ टोली खटाएको छ । विद्युतीय राहदानीको वितरणमा धेरै समस्या भएको गुनासो भएपछि मन्त्रालयले यसको समाधानका लागि आफूले विज्ञलाई स्थलगत अनुगमनमा खटाएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । 

"राहदानी बनाउनको लागि सेवाग्राहीले भोग्नुपरेको समस्यालाई सम्बोधन गर्न हामीले यो कदम चालेका हौं । यसका लागि मन्त्रालयले योसँग सम्बन्धित विज्ञलाई स्थलगत अध्ययनको लागि खटाएका हौं," उनले भने, "हाम्रा विज्ञले यसमा आफ्नो काम पनि सुरु गरिसकेको छ । केही दिनमा नै अध्ययनको रिपोर्ट प्राप्त भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछौं ।"

खटाइएका विज्ञले हालको व्यवस्थामा के-कस्ता समस्या छन् र यसलाई कसरी समाधान गर्न सकिन्छ लगायतका विषयमा अध्ययन गर्ने उनले बताए । यद्यपि मन्त्रालयले यी विज्ञलाई हाल अनौपचारिक रुपमा मात्र खटाएको हो ।

अध्ययनको पहिलो चरणको रिपोर्ट आएपछि औपचारिक रुपमा कसरी अगाडि बढ्ने भन्ने निर्णय हुने पनि उनले बताए । यो कदमले राहदानी वितरणमा ल्याएको समस्याको दिगो समाधान प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।

अनलाइन माध्यमबाट काम हुने भने पनि सेवाग्राहीले लामो लाइनमा बस्नुपर्ने, अपोइन्टमेन्ट डेट नपाउने लगायतका समस्या भोग्दै आइरहेका छन् ।

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ १२:१२