close

अब वैदेशिक रोजगारीको भुक्तानी अनलाइनमा

टेकपाना टेकपाना

माघ १४, २०७६ ११:४०

अब वैदेशिक रोजगारीको भुक्तानी अनलाइनमा

अव वैदेशिक रोजगारका सबै किसिमका भुक्तानी अनलाइन प्रणालीबाटै गर्न सकिने भएको छ । वैदेशिक रोजगार विभागका सबै किसिमका भुक्तानी अनलाइन प्रणालीमार्फत संकलन गर्नेगरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य भएको हो । 

विभाग र एनसीएचएलबीच भएको सम्झौता अनुसार वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्ट आईपीएसको अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगार व्यवसायी तथा अन्य संस्थाहरुले समेत सोझै बैंक खातामा रकम प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आईपीएसको प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कनेक्ट आईपीएसका साथै सम्वद्ध बैंकिङ च्यानलहरुबाट यी भुक्तानीहरु गर्न सकिनेछ । तत्कालका लागि वैदेशिक रोजगारमा जानेहरुले बीमाका निम्ती बुझाउनु पर्ने बीमा प्रिमियम शूल्क र वैदेशिक रोजगार कल्याणकारी कोषको शूल्क अनलाइनबाट सोझै भुक्तानी गर्न सकिनेछ ।

यसैगरी भाषा परीक्षण शूल्क, म्यानपावर तथा स्वास्थ्य संस्थाहरुको नविकरण शूल्क लगायतका भुक्तानीहरु पनि अनलाईन मार्फत भुक्तानी गर्न सकिने विभागका महानिर्देशक डा भिष्मकुमार भुसालले जानकारी दिए । ‘क्रमशः हामी वैदेशिक रोजगारमा जाने कामदारहरुले म्यानपावरले बुझाउने सेवा शुल्क पनि अनलाइमार्फत बुझाउन सकिने व्यवस्था गर्दै छौँ,’ उनले भने ।

एनसीएचएललाई नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले प्रवर्द्धन गर्दै आएका छन् । यसले हाल एनसीएचएल ईसीसी, एसीएचएल आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस लगायतका भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१