close

फेसबुक, युट्युब लगायतकाे विज्ञापन अब बैंकिङ प्रणालीमा

टेकपाना टेकपाना

माघ १७, २०७६ १७:४०

फेसबुक, युट्युब लगायतकाे विज्ञापन अब बैंकिङ प्रणालीमा

काठमाडौं । फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा हुने विज्ञापनका लागि अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैंकिङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । त्यसरी गरिने कार्य गैर कानुभएको उल्लेख गर्दै नियमनमा ल्याउन नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरेको हो ।

राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट बाहिरिने तथा भित्रिने रकम दुवै गैरकानुनी हुने जनाएको छ । यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले त्यस्तो कारोबार गरेको पाइएमा विदेशी बिनिमय ऐन २०१९ अनुसार कारबाही हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यस्ता माध्यमबाट बाहिरिने रकम पछिल्लो समय निकै बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर राष्ट्र बैंकले गरेको छ । यसलाई वैधानिक बनाउने तयारी स्वरुप यस्तो कदम चालिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘यसले सामाजिक सञ्जालमार्फत हुने कारोबारलाई पारदर्शी र निश्चित प्रणालीमा आबद्ध गराउने विश्वास लिएका छौँ,’ उनले भने ।

कानूनमा के छ ?

विदेशी विनियम २०१९ को दफा १७ बमोजिम बैंकले तोकेको कुनै पनि प्रक्रिया विपरीत कुनै पनि व्यक्तिले कुनै काम गरेमा सो काम गरे वापत कसुरसँग सम्बन्धित विदेशी विनियम जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिवाना लेखी तीन गुणासम्म जरिवाना हुनेछ ।

तर त्यस्तो कसुरसँग सम्बन्धित विदेशी बिनिमय जफत गर्न नमिल्ने अवस्थाको कसुरहरुका सम्बन्धमा सो कसुरसँग सम्बन्धित विदेशी बिनिमयको विगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिम जरिवाना बमोजिम बिगोको तीन गुणासम्म थप जरिवाना हुने उल्लेख छ । उप दफा १ बमोजिम बिगो कायम गर्दा रकम खुल्न वा खुलाउन नसकिने अवस्था आइपरेमा कसुरको मात्रा हेरी २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०