यूट्युव स्थापना भएको डेढ दशकमा पनि यसले कति आम्दानी गर्छ भनेर सार्वजनिक गरिएको थिएन । विशेषगरी यूट्युव विज्ञापनको लागि ठूलो प्लेटफर्म हो । युट्युव भिडियोमा गरिने विज्ञापन बढी प्रभावकारी हुने भएर धेरै विज्ञापनकर्ताहरु यूट्युवमा विज्ञापन दिन रुचाउँछन् ।
गत वर्ष युट्युवले कति आम्दानी गर्यो ? यूट्युवको स्वामित्व रहेको अल्फाबेटका सीईओ सुन्दर पिचाईले यसको रहस्य खोलेका छन् । पिचाईका अनुसार गत वर्ष युट्युवले विज्ञापनबाट मात्रै १५ अर्ब डलर आम्दानी गर्यो । पछिल्लो तीन वर्षमा मात्रै युट्युवले विज्ञापन मार्फत ३४ अर्ब डलर आम्दानी गरेको छ ।
तर, युट्युवले विज्ञापनबाट आम्दानी गर्ने मात्रै नभई आफ्नो प्लेटफर्ममा भिडियो योगदान गर्नेलाई पैसा पनि भुक्तानी गर्दै आएको छ । गत वर्ष कम्पनीले साढे ८ अर्ब डलर यस्ता भिडियोको लागि भुक्तानी गरेको थियो ।
युट्युवले गरेको आम्दानी गुगलको कूल आम्दानीको १० प्रतिशत मात्रै हो । गत वर्ष गुगलले १ सय ६१ अर्ब डलर आम्दानी गरेको थियो ।