close

बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्दा ईसेवाले उल्टै पैसा दिने

टेकपाना टेकपाना

फागुन २७, २०७६ १६:२३

बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्दा ईसेवाले उल्टै पैसा दिने

काठमाडौं । जीवन बीमाको प्रिमियमको अनलाइन भुक्तानीमा ईसेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । अनलाइन भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यका कम्पनीले नगद छूटका साथै मोबाइल उपहार दिने भएको हो ।

उपहार योजनामा कुनै पनि जीवन बीमाको प्रिमियम ईसेवाबाट भुक्तानी गर्दा ग्राहकले प्रतिकारोबार सय रुपैयाँसम्म प्राप्त गर्नुका साथै २५ हजार रूपैयाँ बराबरको मोबाइल जित्न सक्नेछन् ।

यस योजना अन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमा प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ, ५० देखि ९९ प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ७५ रुपैयाँ र सयभन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार सय रूपैयाँ लाभ प्राप्त गर्नेछन् ।

यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुने ईसेवाले जनाएको छ । यो योजना मार्च देखि जुलाई ३१ सम्म लागु हुनेछ । योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र अर्को महिनाको २ हप्ताभीत्र ग्राहकको ईसेवा खातामै उपलब्ध गराइनेछ ।

पाँच महिनाको अवधिमा कुनै ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार इन्सेन्टिभको रुपमा सय रुपैयाँ पाउनुका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् ।

पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई थप प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रुपमा रहेको ईसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानीका साथै रिचार्ज, हवाइजहाज तथा बसको टिकट, स्कुल कलेजको शूल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्यको रुपमा रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१