काठमाडौं । एन ९५ मास्क नेपालमै बन्न थालेको छ । नेशनल कोभिड १९ मिटिगेसन मुभमेन्टले विकास गरेको प्रोटोटाइपमा रहेर उच्च गुणस्तरीय मास्क उत्पादन सुरु भएको हो ।
यो मास्क पुनः प्रयोग गर्न मिल्नेगरी डिजाइन गरिएको मुभमेन्टका अनुसन्धान तथा विकास प्रमुख डा शंकर ढकालले बताए । हाल नेपालमा डिस्पोजेबल एन ९५ तथा एन ९६ मास्क चीनबाट आयात हुँदै आएका छन् । ढकालले डिस्पोजेबल मास्कको विकल्पमा पुनः प्रयोग गर्न मिल्ने मास्क बनाइएको बताए ।
‘डिस्पोजेबल मास्क महंगो मात्र होइन, वातावरण प्रदुषणको हिसावले समेत चुनौतीपूर्ण छ,’ उनले भने, ‘त्यसैले पुनः प्रयोग गर्न मिल्ने गुणस्तरीय मास्कको रुपमा यसको डिजाइन गरिएको हो ।’
पछिल्लो समय नेपालमा कोरोनाभाइरस समुदाय स्तरमा फैलिन सुरु भएको छ । लकडाउन खुकुलो बन्दै गएसँगै जोखिम पनि थप बढ्दै गएको छ । यस्तो अवस्थामा साधारण सर्जिकल मास्क पर्याप्त हुँदैन ।
जोखिम कम गर्न उच्च सुरक्षाका लागि एन ९५ तथा त्यसभन्दा माथिल्ला स्तरका गुणस्तरीय मास्कको आवश्यकता झन् बढेको छ । तर एक पटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न नमिल्ने यस्ता मास्क सबैका लागि हरेक पटक खरीद गर्दै प्रयोग गर्न सम्भव भने हुँदैन ।
यस्तोमा कोभिड १९ मिटिगेसन मुभमेन्टले तयार पारेको मास्क उपयुक्त विकल्प हुनसक्छ । यसमा भित्रपट्टी चार वटा लेयरयुक्त फेर्न मिल्ने फिल्टर राखिएको छ ।

जसमा प्रयोग गर्दा संक्रमण हुँदैन । फिल्टरको बाहिरपट्टी रहने मास्क भने पटक पटक धुन मिल्ने किसिमको छ । यसमा भने तीन तह छन् ।
पटक पटक प्रयोग गर्दा फिल्टर खराब भएको अवस्थामा नयाँ फिल्टर समेत फेर्न सकिन्छ । यसरी फिल्टर निकालेर बाहिर पट्टीको कभर धुन मिल्ने हुँदा हरेक पटक प्रयोग गरिसकेको मास्क नष्ट गर्नुपर्ने बाध्यताको अन्त्य हुने डा ढकाल बताउँछन् ।
सामान्यतयाः एन ९५ प्रमाणीत गुणस्तरीय मास्कलाई हाल बजारमा १५० देखि दुई सय रुपैयाँसम्म पर्छ । तर पुनः प्रयोग गर्न मिल्ने गरी नेपालमै बनेको यो मास्क मास्क ३५० रुपैयाँमै उपलब्ध हुन थालेको छ ।
पटक पटक प्रयोग गर्न मिल्ने भएका कारण यो मास्क निकै सस्तो पर्न जाने ढकालको भनाई छ । ‘अनुसन्धान र विकास लागतका कारण अवश्य पनि सुरुवाती समयमा केही महंगो पर्न गएको हो,’ उनले भने, ‘तर बजार विस्तार हुँदै जाँदा थप सस्तो हुने निश्चित छ ।’
एन ९५ इक्वीभ्यालेन्ट नाम दिइएको यो मास्क तयार पार्ने योजनामा डा बुद्धि सापकोटा समेत संलग्न रहेका छन् । मुभमेन्टले प्रवर्द्धन गरिरहेको यो मास्कको प्रोटोटाइप तथा डिजाइनका आधारमा विभिन्न कम्पनीले यस्तो मास्क उत्पादन गर्न सक्ने बताइएको छ ।
तर त्यस्ता कम्पनीले मुभमेन्टले तय गरेको गुणस्तर भने कायम गर्नुपर्ने शर्त राखिएको छ ।

हाल दुई वटा कम्पनीले यही प्रोटोटाइपमा रहेर नेपालमै मास्कको उत्पादन सुरु गरिसकेका छन् । हालसम्म २० हजार मास्क उत्पादन भइसकेको डा ढकालले बताए ।
मुभमेन्ट अन्तर्गतकै मार्केटिङ विभागमा प्रशासक रहेकी कुशुम क्षेत्रीले विभिन्न अस्पताल र संघसंस्थाहरुमा मास्कको बिक्री वितरण गर्न थालिएको बताइन् ।
विगत दुई महिना राष्ट्रिय आविष्कार केन्द्रको अनुसन्धान र विकासमा सहजकर्ता रहेका डा ढकाल पछिल्लो समय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ प्राविधिक अधिकृत नियुक्त भएका छन् ।
२०७२ को महाभूकम्प लगत्तै नेसनल रिकन्स्ट्रक्सन मुभमेन्टको नेतृत्व लिएका डा ढकाल नौ महिना अघि मात्र अस्ट्रेलियाबाट फर्केका हुन् । नास्टमा उनले ए ९९ मास्क लगायतका ६ वटा अनुसन्धानका परियोजना प्रस्ताव समेत पेश गरिसकेका छन् ।
एन ९९ मास्कको प्रोटोटाइप बनाउने काम सुरु भइसकेको डा ढकालले जानकारी दिए । कोरोनाभाइरसको नमूना संकलन गर्ने बुथ समेत डा ढकालकै नेतृत्वमा डिजाइन गरिएको थियो ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
