काठमाडौं । भन्सार विभागले स्वचालित निकासी पैठारी संकेत नम्बर प्रणाली कार्यान्वयनमा ल्याएको छ । यससँगै व्यावसायिहरुले अनलाइनबाटै एक्जिम कोड (निकासी पैठारी संकेत नम्बर) नवीकरणको कार्य गर्न सक्ने भएक छन् ।
विभागले मंगलबारदेखि सञ्चालनमा ल्याएको यो प्रणालीमार्फत निकासी पैठारी संकेत नम्बर नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र र नवीकरण गरिने अवधिसम्म म्याद भएको तीन लाख रुपैयाको बैंक जमानत पेश गर्नुपर्ने व्यवस्था छ ।
यसरी नवीकरण गर्दा नवीकरण दस्तुर समेत बुझाउनु पर्छ । हालसम्म प्रयोग भइरहेको प्रणालीमा नवीकरण दस्तुर बुझाउने, बैंक जमानत तथा कर चुक्ता प्रमाणपत्र पेश गर्ने कार्यको लागि भन्सार विभाग वा भन्सार कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था रहेको थियो ।
यस किसिमको बाध्यताको अन्त्य गर्दै विभागले अब सबै काम डिजिटल माध्यमबाट घरबाटै गर्न सकिने बनाएको विभागका महानिर्देशक सुमन दाहालले बताए । त्यसका लागि निवेदन दिन सेवाग्राहीलाई लग ईन युजर आईडी र पासवर्ड उपलब्ध गराइने उल्लेख छ ।
भन्सार विभागको वेबसाईटमा निकासी पैठारी संकेत प्रणाली (एक्जिम कोड पोर्टल) मा क्लिक गरी नवीकरणका लागि अनलाइनमार्फत सेवाग्राही स्वयम्ले आफ्नो विवरण भर्न सक्नेछन् । यसका लागि आवश्यक दस्तुर कनेक्ट आईपीएस मार्फत बुझाउन सकिने छ ।
विभागका अनुसार बैंक जमानत पनि सेवाग्राहीले अनलाइनबाटै बुझाउन सक्नेछन् । यसले सेवाग्राहीको समय बचत हुनुका साथै सेवामा समेत पारदर्शिता ल्याउने र कामकाज समेत छरितो हुने अपेक्षा गरिएको छ ।