close

अब सातै प्रदेशमा दूरसञ्चार प्राधिकरणको शाखा

टेकपाना टेकपाना

साउन ७, २०७७ १९:५९

अब सातै प्रदेशमा दूरसञ्चार प्राधिकरणको शाखा

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले अब सात वटै प्रदेशमा शाखा कार्यालय खोल्ने भएको छ । हालसम्म काठमाडौंमा मात्रै कार्यालय रहेको प्राधिकरणले चालु आर्थिक वर्षभित्रमा सबै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने योजना अगाडि सारेको हो ।

हालै सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृत प्राधिकरणको वार्षिक कार्यक्रम मार्फत शाखा कार्यालय स्थापनाको परियोजना अगाडि बढाइएको छ । जसअनुसार आउँदो कात्तिकसम्ममा सम्भावित शाखा कार्यालय स्थापना गर्ने स्थानको पहिचान गरिने र फागुन मसान्तसम्ममा कार्यालय स्थापनाको काम सम्पन्न गरिसक्ने प्राधिकरणको लक्ष छ ।

नियामकको नियमित कार्यक्रम अन्तर्गत अगाडि सारिएको प्रादेशिक कार्यालय स्थापना गर्ने परियोजनाका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको छ । प्राधिकरण अन्तर्गतका परियोजना व्यवस्थापन गर्न, सेवाग्राहीका गुनासो संकलन गर्न, स्थानीय स्तरमा आवश्यक समन्वय गर्न र दूरसञ्चार सेवाको अनुगमनको सहजताका लागि शाखा खोल्ने योजना अगाडि बढाइएको प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार आवश्यकता अनुसार सबै प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने गरी कार्यक्रम ल्याइएको हो । उनले अगाडि भने, ‘यही आर्थिक वर्षभित्र सबै प्रदेशमा कार्यालय स्थापना सम्भव नहुन सक्छ । तर पनि क्रमशः सबै प्रदेशमा प्राधिकरणको उपस्थिति कायम गराउने उद्देश्य नै हो ।’ आफ्नै जग्गा र भवन सम्भव नभए भाडाकै भरमा भए पनि शाखा कार्यालय सञ्चालनमा ल्याउने नियामकको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४