close

राष्ट्रिय सूचना प्रविधि केन्द्रदेखि प्रधानमन्त्री कार्यालयसम्मको सर्भर डाउन

टेकपाना टेकपाना

साउन १०, २०७७ १७:२

राष्ट्रिय सूचना प्रविधि केन्द्रदेखि प्रधानमन्त्री कार्यालयसम्मको सर्भर डाउन

काठमाडौं ।  सरकारी डेटा सेण्टरको व्यवस्थापन गर्दै आइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) कै सर्भर डाउन भएको छ । उचित किसिमले सर्भर व्यवस्थापन गर्न नसक्दा सरकारको मूख्य सर्भर नै डाउन भएको बताइएको छ । 

तर केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले भने नजिकैको ट्रान्सफर्मर पड्केका कारण सर्भर डाउन हुन पुगेको बताए । ‘विद्युत आपूर्तिमा आएको गडबडीले नजिकैको ट्रान्सफर्म पड्केको छ । त्यसको झड्का आएर डेटा सेन्टरमा रहेको जेनेरेटरको ब्याट्री समेत पड्कियो,’ उनले भने, ‘अहिले पनि लाइन आउने जाने भइरहेको ।’

सूचना अधिकारी पोखरेलले जेनेरेटरको ब्याट्री फेर्ने कार्य सकिएको जानकारी दिए । तर डेटा सेन्टरमा हिट धेरै भएका कारण वेबसाइटहरु अझै पनि सञ्चालनमा आउन नसकेको उनको भनाई छ । 

डेटा सेन्टरमा आएको समस्याका कारण प्रधानमन्त्री कार्यालय, लोकसेवा आयोग, अर्थ मन्त्रालय लगायतका महत्वपूर्ण साइटहरुले काम गर्न छोडेका छन् । त्यस्तै नेपाल सरकारको मूख्य ईमेल सर्भर समेत बन्द भएको छ ।

यद्यपी सूचना प्रविधि केन्द्रले सिंहदरबारको डेटा सेन्टरको व्याकअपको रुपमा हेटौंडामा समेत अर्को डेटा सेन्टर सञ्चालनमा ल्याइरहेको छ । सामान्यतयाः सरकारी सर्भरहरु दुवै डेटासेन्टरमा व्यवस्थापन गरिएको हुन्छ । 

एकातर्फ समस्या आउँदा अर्कोतर्फको सर्भर प्रयोग गरेर सेवा सुचारु राख्न सकिने भए पनि त्यसो हुन सकेको छैन ।  

हेटौडामा ब्याकअप भए पनि सिंहदरबारमा भएको प्राथमिक सर्भरमै समस्या आउँदा साइट चलाउन नसकिएको पोखरेलले बताए । ‘डीएनएस नै अन नहुँदा हेटौडाको ब्याकअप समेत प्रयोग गर्न सकिएन,’ उनले भने । 

तर जानकारहरुले भने एनआईटीसीको कमजोर व्यवस्थापनका कारण बारम्बार यस किसिमका समस्या आइरहेको बताएका छन् । आधा घण्टा जतिमा सबै साइटहरु चल्ने केन्द्रले बताएको छ । केन्द्रकै वेबसाइट भने मेन्टिनेन्सका कारण बन्द रहेको पोखरेलको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०