काठमाडौं । यदि अफलाइन हेर्नका लागि युट्युवबाट भिडियो डाउनलोड गर्न चाहनुहुन्छ भने, तपाईं सोझै त्यसलाई डाउनलोड गर्न सक्नुहुने छैन । यसका लागि तपाईंलाई थर्ड पार्टी टूलको आवश्यकता पर्दछ ।
तर युट्युवबाट भिडियो डाउनलोड गर्न भने गाह्रो छैन । आज हामी तपाईंलाई युट्युवबाट भिडियो डाउनलोड गर्ने सजिलो तरिका बताउँदै छौं ।
फोरके भिडियो डाउनलोडर
यदि तपाईं विण्डोज कम्प्युटरमा युट्युव भिडियो डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर फोरके भिडियो डाउनलोड सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गर्नुहोस् । यो नि: शूल्क रुपमा उपलब्ध सफ्टवेयर हो। यसको खास विशेषता के हो भने तपाईं युट्युवबाट सिंगो प्लेलिस्ट नै एकसाथ डाउनलोड गर्न सक्नुहुन्छ ।
यससँगै थ्री सिक्स्टी भिडियो तथा थ्रीडी भिडियो डाउनलोड गर्ने विकल्प सहितको सुविधा समेत यो सफ्टवेयरमा रहेको छ । भिडियो डाउनलोड गर्न युट्युवको एड्रेसबारमा गएर सम्बन्धित भिडियोको यूआरएल कपी गरेर फोरके डाउनलोड सफ्टवेयरमा पेस्ट गर्नुहोस् । लिङ्क पेस्ट गर्ने स्थान माथि शिरानीको बाँयातर्फ देख्न सक्नुहुनेछ ।
यति गरिसकेपछि तपाईंले भिडियो डाउनलोड गर्न क्वालिटीको अप्सन अर्थात कुन गुणस्तरको भिडियो डाउनलोड गर्ने भनेर छनौंट गर्नुपर्ने हुन्छ । यद्यपि भिडियोको क्वालिटी युट्युवमा रहेको भिडियोको गुणस्तरमा निर्भर हुने गर्दछ ।
यदि तपाईंले रोजेको भिडियो युट्युवमा फोरकेसम्मको गुणस्तरमा उपलब्ध छ भने यसबाट त्यत्तिकै गुणस्तरसम्मको भिडियो तपाईंले डाउनलोड गर्न सक्नुहुनेछ । यस बाहेक तपाईले कुन फर्म्याटमा भिडियो डाउनलोड गर्ने भन्ने विषयम समेत छान्नुपर्ने हुन्छ ।
विकल्प अरु भए पनि त्यसमा तपाईंका लागि एमपी फोर नै उपयुक्त हुनसक्छ । यति गरिसकेपछि ‘डाउनलोड’ बटनमा क्लिक गर्नुहोस् । अब भिडियो डाउनलोड हुन थाल्नेछ । यसबाट तपाईंले एकसाथ २४ वटा भिडियोसम्म डाउनलोड गर्न सक्नुहुन्छ।
वाई टू मेट
यदि युट्युवबाट भिडियो डाउनलोड गर्न तपाईं छुट्टै एप प्रयोग गर्न चाहनुहुन्न भने यो तपाईंका लागि उिचत विकल्प हुनसक्छ । यहाँ क्लिक गरेर वाई टू मेटको वेब एपको सहयोगमा तपाईं सहजै भिडियो डाउनलोड गर्न सक्नुहुनेछ। यसका लागि तपाईंले युट्युव भिडियोको यूआरएल कपी गरेर यो वेब एपमा पेस्ट गर्नुपर्ने हुन्छ ।
त्यसपछि कुन फर्म्याटमा भिडियो डाउनलोड गर्न चाहनुभएको रोज्नुहोस् । जसबाट तपाईंले विभिन्न फर्म्याटमा उक्त भिडियोलाई छोटो समयमै डाउनलोड गर्न सक्नुहुनेछ । यदि तपाईंको डिभाइसमा स्टोरेज थोरै छ भने यो सफ्टवेयरबाट नै फाइल साइज मिलाउन समेत सक्नुहुन्छ ।
तर यसबाट तपाईंले एक पटकमा एउटा भिडियो मात्र डाउनलोड गर्न सक्नुहुनेछ । यो वेबएपलाई एकसाथ धेरै भिडियो डाउनलोड गर्न सकिने गरी डेभलप गरिएको छैन । तपाईं गूगल क्रोम एक्स्टेन्सनको रुपमा समेत यो वेबएपलाई प्रयोग गरी युट्युव भिडियो डाउनलोड गर्न सक्नुहुनेछ ।