close

नेपालको झण्डा जलाइएको घृणास्पद भिडियो युट्युवमा, कारबाहीकाे तयारीमा जुट्यो प्रहरी

टेकपाना टेकपाना

भदौ २, २०७७ १४:४

नेपालको झण्डा जलाइएको घृणास्पद भिडियो युट्युवमा, कारबाहीकाे तयारीमा जुट्यो प्रहरी

काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा सोमबार अपलोड गरिएको एक गीतले नेपालको राष्ट्रियता र जातीय सद्भावविरुद्ध खलल पुर्‍याएकाे भन्दै सर्वत्र विरोध भएको छ । ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट अपलोड गरिएकाे ‘देशद्रोही’ शीर्षकको उक्त गीतमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य देखाइएको छ ।

र्‍याप शैलीमा गाइएको गीतमा निकै तुच्छ र अपमानजनक शब्द प्रयोग गरिएको छ, जुन समाचारमा उल्लेख गर्नसमेत मिल्दैन । करिब साढे ४ मिनेटको भिडियोमा देशको झण्डा जलाउनुका साथै नेता र पूर्वराजाको फोटो पनि जलाइएको दृश्य छ ।

यो गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको बुझिएको छ । यो भिडियोलाई लिएर फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जालमा चर्को विरोध भइरहेकाे छ भने देशको झण्डा जलाउनेविरुद्द तत्काल कारबाहीको माग गरिएकाे छ ।

पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै यस्ता विकृतिजन्य सामग्री बनाउने क्रम बढिरहेको छ । यसैबीच नेपाल प्रहरीले याे भिडियाे आफ्नाे नाेटिसमा आइसकेकाे जनाएकाे छ ।

प्रहरीका एक उच्च अधिकारीले टेकपानासँग कुरा गर्दै याे भिडियाे निर्माण गर्ने तथा युट्युवमा अपलाेड गर्ने व्यक्तिमाथि अनुसन्धान गरी कारबाहीकाे दायरमा ल्याउने जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०