close

मनमोहन सेन्टरको ओपीडी भाइबर र ह्वाट्सएपमा

टेकपाना टेकपाना

भदौ ३, २०७७ १२:२

मनमोहन सेन्टरको ओपीडी भाइबर र ह्वाट्सएपमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइनबाटै ओपीडी सेवा दिन सुरु गरेको छ । कोभिड १९ को विश्वव्यापी महामारी फैलिदै गएको अवस्थालाई मध्येनजर गर्दै अस्पतालले भाइबर तथा ह्वाट्सएपमार्फत ओपीडी सेवा दिन थालेको हो ।

मुटु रोगको उपचारमा देशकै अब्बल सरकारी अस्पतालको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल मनमोहन सेन्टरले घरमै बसेर डाक्टरसँग निश्चित परामर्श लिन सकिने गरी यो सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।

बिरामीलाई प्रत्यक्ष रुपमा नजाचिकन उपलब्ध जानकारीको आधारमा मात्रै परामर्श दिइने भएकाले अनलाइनबाट दिइने सेवामा केही सीमितता भने हुनेछ । अस्पतालले यो सेवा हाललाई पुराना बिरामीहरुको लागि मात्र सञ्चालनमा ल्याएको हो ।

मनमोहन सेन्टरका पुराना बिरामीले आफ्नो मोबाइलको भाइबर वा ह्वाट्यसएपमार्फत यो सेवा लिन सक्नेछन् । त्यसका लागि सबैभन्दा पछिल्लो ओपीडी टिकटसहितका महत्वपूर्ण कागजपत्रको फोटो प्रस्टसँग देखिने गरी खिचेर हाल्नुपर्नेछ ।

साथै अनिवार्य रुपमा आफ्नो प्रश्न तथा समस्या समेत खुलाउनु पर्ने अस्पतालले जनाएको छ । हरेक दिन कुनै पनि बेला बिरामीहरुले आफ्नो समस्याहरु भाइबर तथा ह्वाट्सएपमार्फत अस्पतालका डाक्टरहरु समक्ष राख्न सक्नेछन् ।

यसरी पठाइएको जानकारीको आधारमा सम्बन्धित युनिटका डाक्टरहरुले बिरामीको समस्याको सक्दो रुपमा व्यवहारिक समाधान सुझाउनेछन् । डाक्टरहरुको परामर्श हरेक आइतबारदेखि शुक्रबार बिहान १० देखि एक बजेभित्रको समयमा भाइबर वा ह्वाट्सएपै प्राप्त हुनेछ ।

मनमोहन सेन्टरको ओपीडी सेवा लिनका लागि ह्वाट्सएप तथा भाइबरमार्फत ९८४०६८०९९८ मा सम्पर्क गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०