close

डिशहोम, सिम टीभी र इन्टरनेटको ‘कम्बो’ तयार, १ वर्षभित्र हरेक सहरमा पुर्‍याउने लक्ष्य

टेकपाना टेकपाना

भदौ ३, २०७७ १५:५५

डिशहोम, सिम टीभी र इन्टरनेटको ‘कम्बो’ तयार, १ वर्षभित्र हरेक सहरमा पुर्‍याउने लक्ष्य

काठमाडौं । स्याटेलाइट प्रविधिमार्फत टेलिभिजन सेवा प्रदान गर्दै आएको कम्पनी डिशहोमले नयाँ ब्राण्डिङको तयारी सुरु गरेको छ । कम्पनीले आफ्नो मातहतमा रहेको डिशहोम इन्टरनेट र सिम टीभीलाई समेत द्रुतरुपमा विस्तार गर्ने भएको हो ।

डिशहोमले आफ्नो प्रयोगकर्ताको आधार विस्तार स्वरुप यो परियोजना अघि बढाइएको बताएको छ । ‘अबको बजार डीटीएच सेवाका साथै फाइबर इन्टरनेटसँगैको टेलिभिजनको पनि हो,’ डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले भने, ‘त्यसैले अब डिशहोमसँगै डिशहोम इन्टरनेट र सिम टीभीलाई पनि एकै स्तरमा विस्तार गर्ने योजना बनाइएको हो ।

यो योजना अन्तर्गत अबको एक वर्षभित्र देशका हरेक सहरमा सिम टीभी र इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएका छौं ।’

सरकारले सुरु गरेको डिजिटल नेपालको अभियानमा साथ दिनका लागि यस किसिमको परियोजना अघि बढाइएको उनको भनाई छ । देशभर इन्टरनेट सेवा विस्तारसँगै डिजिटल टेलिभिजन सेवा दिने कम्पनीको योजना छ ।

सापकोटाले टेकपानासँग अगाडि भने, ‘त्यसका लागि कम्पनीले स्थानीय सेवा प्रदायकसँग सहकार्य गर्नेछ । सहकार्य सम्भव नभएको अवस्थामा आफ्नै नेटवर्क विस्तार गरेर भए पनि सेवा दिने योजना हामीले बनाएका छौं ।’

स्याटेलाइटमार्फत टेलिभिजन सेवा प्रदान गर्दै आएको कम्पनीले केही वर्ष अघिमात्रै सिम टीभी खरिद गरेका थियो । ‘यसको उद्देश्य सस्तो मूल्यमा ग्राहकलाई डिजिटल टेलिभिजन सेवा प्रदान गर्नु थियो,’ सापकोटा भन्छन्, ‘त्यसैक्रममा फाइबारमार्फत इन्टरनेट पनि सँगसँगै दिने योजना बन्यो ।

इन्टरनेटका लागि डिशहोम इन्टरनेट नामक कम्पनी दर्ता गरेर इन्टरनेट सेवा दिन सुरु गरिएको छ । भने स्याटेलाईटमार्फत समेत इन्टरनेट दिने योजनामा कम्पनी रहेको छ । त्यसका लागि पनि काम भइरहेको छ ।’

त्यसै योजना अनुरुप नै कम्पनी ग्राहकलाई डिशहोम इन्टरनेट र सिम टीभी तथा इन्टरनेट र डिशहोम कम्बोमा दिँदैछ । यसको अर्थ ग्राहकले इन्टरनेटसँग डिशहोम अथवा सिम टीभी पनि पाउनेछन् । जसमार्फत ग्राहकले नयाँ अनुभव प्राप्त गर्ने विश्वास सापकोटाले व्यक्त गरे ।

उनी भन्छन, ‘अहिले इन्टनेटको गति यति छ भनेर दिने र ग्राहकले भनेजति सेवा नपाउने खालको अवस्था देखिएको छ । हामी त्यसलाई चिर्दै अघि बढ्छौं ।’ सापकोटाका अनुसार सिम टीभीले हाल काठमाडौं भित्र स्पेस टाइम नेटर्वकमार्फत सेवा विस्तार गरिरहेको छ । इटहरीमा विन्दबासिनी केबल, विराटनगर, धरान, दमक, लहान, जनकपुरमा छुट्टै हेड ईन्ड राखेर काम गरिरहेको छ ।

‘यसरी देशका विभिन्न स्थानमा अहिले नै हाम्रो सेवा पुगिसकेको अवस्था छ । अबको ६ महिना देखिएक वर्ष भित्र हामी देशमा सम्पूर्ण सहरमा सिम टीभी पुर्‍याउछौं । सँगै इन्टरनेट पनि जोडिने छ,’ सापकोटाले सुनाए ।

कम्पनीले अहिले नै आफ्नो एक किसिमको ग्राहक आधार तयार गरिसकेको छ । डिशहोमका ग्राहकको संख्या अहिले १५ लाखको हाराहारीमा छ । यस्तोमा ती ग्राहकबाटै आएको प्रतिक्रियालाई आत्मसाथ गर्दै कम्पनीले टेलिभिजनसँगै इन्टरनेट सेवाको परियोजना अघि बढाएको हो ।

यसका लागि ग्राहकबाट प्रतिक्रिया लिने गरी डिशहोमले एउटा अध्ययन नै गरेका थियो । त्यसमा धेरै जसोले कम्बो सेवाको सेवा आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् ।

त्यसै अनुरुप कम्पनीले चिनियाँ कम्पनी ह्वावेसँगको सहकार्यमा यो परियोजना अघि बढाएको हो । आवश्यक पूर्वाधार र राउटर लगायतका उपकरण सबैमा ह्वावेको प्रविधि प्रयोग हुने कम्पनीले जनाएको छ ।

जसमार्फत ग्राहकले उच्चस्तरीय इन्टनेट सेवाका साथै टेलिभिजन हेराइमा समेत नयाँ अनुभव बटुल्ने विश्वास कम्पनीको रहेको छ । अर्कोतर्फ कम्पनीले यो सेवा विस्तारको लागि हजारौंको संख्यामा रहेको आफ्नै वितरण नेटर्वकलाई परिचालन गर्ने योजना समेत बनाएको छ ।

यसो हुँदा लागत समेत कम पर्न जाने र इन्टरनेट पनि सस्तो मूल्यमा उपलब्ध गराउन सकिने कम्पनीको अपेक्षा छ । कम्पनीका अनुसार प्रमोसनल प्याकेज अन्तर्गत कर बाहेक मासिक ११ सय रुपैयाँमा र वार्षिक १० हजार रुपैयाँमा कम्पनीले २५ एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने छ ।

यसरी वार्षिक प्याकेजमा मासिक ८३३ रुपैयाँमै डिशहोमको इन्टरनेट प्राप्त हुनेछ । त्यस्तै मासिक १५ सय र वार्षिक १५ हजार पाँच सय रुपैयाँमा ४० एमबीपीएसको इन्टरनेट उपलब्ध हुने कम्पनीले जनाएको छ । ४० एमबीपीएस गतिको इन्टरनेट मासिक १५ सय रुपैयाँ मात्र पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०