close

हवाई र रकेट साइन्स पढाउन पुल्चोक इन्जिनियरिङलाई सरकारको अनुमति

टेकपाना टेकपाना

भदौ ११, २०७७ १७:३०

हवाई र रकेट साइन्स पढाउन पुल्चोक इन्जिनियरिङलाई सरकारको अनुमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसले एरोस्पेस (हवाई तथा रकेट साइन्स सम्बन्धी) विषयको अध्यापन सुरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पुल्चोक क्याम्पसलाई बीईमा एरोस्पेसको नयाँ कार्यक्रम थप गर्न तथा अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति दिएसँगै यो विषयले औपचारिकता पाएको हो । 

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यसको जानकारी गराए । मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्वद्ध रुपमा यो विषय अध्ययन अध्यापन हुनेछ । 

यससँगै त्रिवि नेपालमा औपचारिक रुपमा एरोस्पेस विषयमा अध्ययन अध्यापन गराउने पहिलो विश्वविद्यालय बनेको छ । त्यसो त पुल्चोक इन्जिनिरिङले यो विषयमा दुई वर्ष अघि नै कोर्षको अध्यापन सुरु गरिसकेको छ । 

संस्थानका डीन प्राध्यापक डा. शशिधरराम जोशीले विश्वविद्यालयको स्वीकृति प्राप्त भएसँगै कोर्षको अध्ययन अध्यापन सुरु गरिएको जनाए । संस्थानलाई एरोस्पेस विषयमा अध्ययन अध्यापन गर्न चीन सरकारले सहयोग उपलब्ध गराएको छ । 

डीन प्रा. डा. जोशीका अनुसार यो विषय संस्थानको मेकानिकल इन्जिनियरिङ विभाग अन्तर्गत पढाइ भइरहेको छ । सुरुवाती सेमेस्टरको अध्यापन संस्थान तथा नेपालमै उपलब्ध जनशक्तिबाट अध्यापन भइरहेको छ ।

चौथो सेमेस्टरको अध्यापनका लागि विदेशबाट जनशक्ति झिकाउने योजना बनाइएको छ । त्रिविको स्वीकृतिसँगै अध्ययन अध्यापनको तयारी सुरु भए पनि मन्त्रिपरिषदले भने ढिलो गरी मंगलबार मात्रै स्वीकृति दिएको हो । संस्थानको अध्ययन अध्यापनमा सघाउन नेपाली सेनाले एउटा हेलिकोप्टर सहयोग गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३