close

रोकिएन जूमको रफ्तार, तीन महिनामै कमायो झण्डै ७८ अर्ब

टेकपाना टेकपाना

भदौ १६, २०७७ १८:५०

रोकिएन जूमको रफ्तार, तीन महिनामै कमायो झण्डै ७८ अर्ब

काठमाडौं । कोरोना महामारीकाे बेलामा उदाएको भिडियो कन्फ्रेन्सिङ एप  ‘जूम’ को लाेकप्रियता निकै बढेकाे छ । फलस्वरूप कम्पनीको आम्दानी पछिल्लाे त्रैमासिक अवधिमा अनुमान गरेभन्दा ३० प्रतिशतले वृद्धि भएको छ ।

कोरानाका कारण सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता र बढ्दो वर्क फ्रम होमको परिपाटीले भिडियो कन्फ्रेन्सिङ एप सबैभन्दा उत्तम विकल्प बनिरहेका छन् ।

जूमजस्ता भिडियो कन्फ्रेन्सिङ एप यो समयमा सबैभन्दा बढी चर्चामा छन् । केही समयअघि पनि सुरक्षाको कारण देखाउँदै जूम प्रयोगमा कतिपय देशले प्रतिबन्ध नै लगाएका थिए ।

उक्त प्रतिबन्धको फाइदा उठाउन बजारमा गूगल, माइक्रोसफ्ट लगायतका कम्पनीले पनि गूगल मीट, माइक्राेसफ्ट टिम्स जस्ता भिडियो कन्फ्रेन्सिङ एपलाई विस्तार गर्ने काम गरेका थिए ।

यसको बाबजुद पनि जूमको रफ्तारमा भने कुनै फरक पर्न सकेको छैन । उल्टै जूमको आम्दानीमा उच्च वृद्धि भएको उल्लेख गरिएको छ । जूम भिडियो कम्युनिकेशन्स इंकका अनुसार कम्पनीको त्रैमासिक आम्दानी अनुमानभन्दा उल्लेख्य रुपमा वृद्धि भएको छ ।

कम्पनीका अनुसार यो त्रैमासमा कम्पनीले ६६३.५ मिलियन डलर अर्थात् झण्डै ७८ अर्ब नेपाली रूपैयाँ कमाएको छ । जबकि विश्लेषकहरुले ५००.५ मिलियन डलर कमाउने प्रक्षेपण गरेका थिए ।

वार्षिक राजस्व पूर्वानुमानभन्दा ३० प्रतिशत बढी भएको कम्पनीले जनाएकाे छ । जूमको प्रयोग बढ्दै जाँदा नि:शुल्क रुपमा प्रयोग गर्ने प्रयोगकर्ता पनि विस्तारै सशूल्क सेवामा रुपान्तरण भइरहेका छन् ।

यसले गर्दा पनि पैसा तिरेर प्रयोग गर्नेको संख्यमा उल्लेख्य वृद्धि भएको छ । त्यतिमात्रै नभएर जूमको प्रयोग बढेसँगै कम्पनीको शेयर मूलयमा समेत उल्लेख्य वृद्धि भएको छ ।

कम्पनीको शेयर मूल्य झन्डै चार गुणाले बढेर ३५५ डलर प्रति कित्तासम्म पुगेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०