close

अनलाइनसहितको दूरशिक्षाका लागि सरकारलाई विश्व बैंकको सवा अर्ब अनुदान

टेकपाना टेकपाना

भदौ १९, २०७७ २१:१२

अनलाइनसहितको दूरशिक्षाका लागि सरकारलाई विश्व बैंकको सवा अर्ब अनुदान

काठमाडौं । विश्व बैंकले अनलाइनसहितको दूरशिक्षा कार्यक्रमका लागि नेपाल सरकारलाई एक अर्ब २७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । शुक्रबार नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र विकास कार्यकमका लागि एक करोड पचासी लाख अमेरीकी डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

अनुदानले कोभिड१९संकटबिच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाईमा निरन्तरता दिन सहयोग गर्ने अपेक्षा गरिएको छ । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यकम एक क्षेत्रव्यापी कार्यक्रम हो ।

जसलाई विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडीए) को १८५ मिलियन अमेरीकी डलर कर्जा  सहायता सहित एशियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोबल पार्टनरशिप फर एजुकेशन (जीपीई), जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसएआईडी, युनिसेफ र विश्व बैंकद्वारा प्रशासित आरईएसीएच मल्टी-डोनर ट्रस्ट कोष लगायतका निकायले सहयोग पुर्‍याइरहेका छन् ।

जीपीई कोभिड१९ द्रुत कोष अन्तर्गत प्राप्त भएको यस थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पुर्‍याउनेछ । जसले शिक्षा क्षेत्रमा यस महाव्याधिले पारेका असरहरूलाई कम गर्न र प्रतिकार्य गर्न सहयोग गर्नेछ ।

यस अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्री श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक श्री फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका थिए ।

‘यस अतिरिक्त अनुदानका लागि हामी विश्व बैंक र जीपीईप्रति आभारी र्छौ । यस सहयोगले कोभिड१९ का कारण बालबालिकाको सिकाईमा भएको क्षतिको पूर्ति गर्नका लागि टेवा पुराउनेछ,’ सहसचिव श्रीकृष्ण नेपालले भने ।

‘यस अनुदानले चालु महाव्याधिका कारण विद्यालयहरू बन्द रहेको अवस्थामा पनि सिकाईलाई निरन्तरता दिनका लागि सरकारलाई आवश्यक सहयोग पुर्‍याउनेछ । साथै यो अनुदान विद्यालयहरूलाई सुरक्षित रूपमा पुनः सुचारू गर्न र खेर गएको सिकाईको समय र मनोवैज्ञानिक प्रभाव सहितका विद्यार्थी र शिक्षकहरूमा परेका विविध प्रभावहरूलाई कम गर्न पनि महत्वपूर्ण हुनेछ’, नेपालले अगाडि भने ।

यस अतिरीक्त अनुदानले दूर शिक्षाका कार्यक्रमहरूलाई सघाउने गतिविधिहरूका लागि आवश्यक रकम उपलब्ध गराउनेछ । जसअन्तर्गत टेलिभिजन, रेडियो, सिकाई पोर्टलका साथै इन्टरनेट र अन्य संचार माध्यममा पहुँच नहुने बालबालिकाका लागि मुद्रण गरिने सिकाई सामग्रीहरू पर्नेछन् ।

 ‘यस महाव्याधिका कारण नेपाल लगायत विश्वभरका देशहरूमा शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेका क्षेत्रहरू मध्ये एक हो । जसले गर्दा बालबालिकाको सिकाईको नतिजामा गहिरो प्रभाव परेको छ’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भने ।

उनले यो अनुदानले खासगरी बालिकाका लागि, शिक्षा र सिकाईमा सुरक्षित पहुँचको तत्काल आवश्यकतालाई सघाउनेछ बताए । ‘यस अतिरीक्त सहयोगले नेपालको शिक्षा क्षेत्रलाई पहिलेभन्दा उत्तम बनाउनका लागि नेपाल सरकारले चालेका बृहत उत्थानशील पुनर्लाभका पहलहरूलाई बढावा दिनेछ,’ जर्भोसले अगाडि थपे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०