काठमाडौं । कोरोनाका कारण जारी लकडाउन र सामाजिक दुरी कायम गर्नुपर्ने वाध्यताले लामो समयदेखि सिनेमा हलहरु खुल्न सकेका छैनन् । यस्तो अवस्थामा कतिपय देशमा फिल्महरु विभिन्न ओटीटी प्लेटर्ममार्फत रिलिज भइरहेका छन् ।
जसको एउटा उदाहरण भारत पनि हो । भारतमा बनेका धेरैजसो फिल्म पछिल्लो समय नेटफ्लिक्स, डिज्ने प्लस लगायतका ओटीटी सेवा प्रदायकबाट रिलिज भएका छन् । जसमा सुशान्तसिंह राजपुतको अन्त्तिम फिल्म ‘दिल बेचारा’ पनि एक हो ।
नेपालमा ओटीटी सेवा प्रदायकबाटै फिल्म रिलिज गर्ने किसिमको ट्रेन्ड अझै देखिएको छैन । तर, हलमा चलिरहेका र चलिसकेका नयाँ फिल्म हेर्न सकिने सुविधा भने उपलब्ध छ ।
पे पर भ्यू (पीपीभी) अर्थात पैसा तिरेर फिल्म हेर्न मिल्ने सुविधा यसअघिदेखि नै नेट टिभी सहित, डिशहोम लगायतका टेलिभिजन सेवा प्रदायकले उपलब्ध गराउँदै आएका छन् ।
यसको अर्थ तपाईंले हलबाट उत्रिसकेपछिका नेपाली फिल्म पैसा तिरेर घरमा भएको टिभीमा आफ्ना परिवारसँग बसेर हेर्न मिल्ने सुविधा प्राप्त गर्दै आउनु भएको छ ।
अब, भने उक्त सुविधा मोबाइलमा पनि उपलब्ध हुने भएको छ । नेट टिभीले आउँदो शुक्रबार अर्थात सेक्टेम्बर ११ तारिखदेखी मोबाइल एपमै यो सुविधा उपलब्ध गराउने भएको ।
त्यसका लागि कम्पनीले नेट टिभी मोबाइल एपमा ‘मुभी सेक्सन’ थप गर्ने तयारी गरेको छ ।
नेटटिभीकाे नयाँ हाेम पेज
हाल नेट टिभीको मोबाइल एपमा ‘लाइभ टिभी’ र ‘टिभी शो’ गरी दुई वटा सेक्सन रहेका छन् । जसमध्ये लाइभ टिभी सेक्सनमा ओटीटी अधिकार भएका १५० भन्दा बढी च्यानलहरु उपलब्ध हुनेछन् । जुन सबैले निःशुल्क हेर्न सक्नेछन् ।
त्यस्तै टिभी शो सेक्सनमा केही नेपाली वेब सिरिज, शर्ट मुभीका साथै केही चर्चित युट्युव भिडियोहरु उपलब्ध रहेका छन् । ती सामग्री पनि नेट टिभीका सम्पूर्ण एप प्रयोगकर्ताले निःशुल्क रुपमा हेर्न सक्ने छन् ।
अब सोही एपमा कम्पनीले ‘मुभी सेक्सन’ समेत थप गर्न लागेको हो । नयाँ भर्सनको एपमार्फत यो सेवा आउँदो शुक्रबारबाट प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।
नेटटिभीका विभिन्न सेक्सन
हाल यो सेवा बेटा भर्सनमा उपलब्ध छ । केही प्रयोगकर्ताले यसलाई प्रयोग गरिरहेका पनि छन् । उनीहरुबाट आएको प्रतिक्रियाका आधारमा त्यसलाई थप परिमार्जन गरी आउँदो शुक्रबारबाट सबै प्रयोगकर्तामाझ उपलब्ध गराउने तयारीका साथ कम्पनी जुटेको छ ।
कम्पनीका अनुसार उक्त मुभी सेक्सनभित्र पहिलो चरणमा ‘नेपाली पीपीभी मुभी’ उपलब्ध हुनेछन् ।जसमा हाल दैलो, आमा, क्याप्टेन, चौका दाउ, इन्टु मिन्टु, बाह्र सत्ताइस लगायतका दर्जनौं नयाँ नेपाली फिल्म रहने बताइएको छ । प्रयोगकर्ताले यसमा उपलब्ध फिल्म सहज रुपमा तोकिएको शुल्क तिरेर हेर्न सक्नेछन् ।
नेटटिभीकाे मुभी सेक्सन
साथै उक्त एपमा कम्पनीले सेप्टेम्बर २० भित्रै हलिउड अर्थात अंग्रेजी नयाँ फिल्म तथा सिरिजका साथै, बलिउड तथा हिन्दी नयाँ फिल्मका र सिरिज पनि उपलब्ध गराउने तयारी गरेको छ ।
यी दुवै मुभी सेक्सनभित्रै रहनेछन् । हलिउड र बलिउड सेक्सनमा रहेका फिल्म समेत प्रयोगकर्ताले सब्स्क्रिप्सनका आधारमा मात्रै प्रयोग गर्न पाउने छन् । यसको अर्थ नेटफ्लिक्समा जस्तै गरी मासिक तथा वार्षिक सब्स्क्रिप्सनको व्यवस्था हुने कम्पनीले जनाएको छ ।
यी सेवा प्रयोगकर्ताले नेपालमा उपलब्ध विभिन्न पेमेन्ट गेटवेमार्फत सहज रुपमा पैसा तिरेर हेर्न पाउने छन् । जसमा खल्ती, ई–सेवा, आईएमई पे, कनेक्ट आईपीएस लगायतका माध्यम प्रयोग गर्न सकिनेछ ।
नेपाली पीपीभी फिल्मको शुल्क तिर्ने तरिका
यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा तपाईंको डिभाइसमा एप डाउनलोड भएको हुनुपर्नेछ । जब तपाईंसँग एप हुनेछ, त्यसपछि तपाईंले पैसा भुक्तानीको लागि दुई वटा विकल्प प्राप्त गर्नुहुनेछ ।
जसमध्ये पहिलो नेटटिभी वालेट हो भने अर्को डाइरेक्ट ई–सेवा खल्ती लगायतका मोबाइल वालेट एप । जसमध्ये नेटटिभी वालेटमार्फत पे गर्नका लागि सुरुमा नेटटिभी वालेटमा पैसा लोड गर्नुपर्ने हुन्छ ।
नेटटिभी वालेट टप–अप गर्ने तरिका
सुरुमा गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट एप डाउनलोड गर्नुहोस् । उक्त एपमा तपाईंले वर्ल्डलिंकको लग ईन आईडीमार्फत अथवा डाइरेक्ट पनि लगईन गर्न सक्नुहुनेछ । लगईन भएसँगै तपाईंले दायाँ साइडको पुछारमा ‘मोर’ भन्ने अप्सन देख्नुहुनेछ ।
जसभित्र ‘वालेट टप–अप’ भन्ने विकल्प छ । उक्त विकल्पमा क्लिक गरी तपाईंले आफूलाई आवश्यक पैसा उल्लेख गरी ‘प्रोसिड’ मा थिच्नुपर्ने हुन्छ । जहाँ वालेट टप–अपका लागि तपाईंलाई खल्ती, ई–सेवा, आईएमई पे, कनेक्ट आईपीएस लगायतका विकल्प उपलब्ध हुनेछन् ।
उपलब्ध विकल्प मध्ये कुनै एउटा विकल्प छनोट गरी त्यहाँ आवश्यक पर्ने जानकारी (युजर नेम र पासवर्ड) हाल्नुपर्ने हुन्छ । त्यती गरेसँगै तपाईंले छनौट गरेको वालेटमार्फत तपाईंलाई एउटा ‘पिन’ नम्बर उपलब्ध हुनेछ ।
उक्त पिन प्रयोग गरी तपाईंले कन्फर्म गर्न सक्नुहुनेछ । यती गरिसक्दा तपाईंको नेटटिभी वालेटमा पैसा लोड भइसक्नेछ ।
नेटभिटी वालेटमा भएको पैसाबाट कसरी फिल्म किन्ने ?
त्यसका लागि तपाईंले सुरुमा आफूले हेर्न चाहेको फिल्ममा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ ‘बाई नाव’ भन्ने अप्सन देखिने छ । जसमा क्लिक गर्दा दुई वटा विकल्प देखापर्नेछन् । जसमा ‘मुभी वन्ली’ र ‘छनौट गरिएको फिल्म सहितको प्याकेज’ हुनेछन् ।
यदी तपाईं धेरै फिल्म भएको प्याकेज लिन चाहनुहुन्छ भने दोस्रो विकल्प क्लिक गरी अघि बढ्न सक्नुहुन्छ । यदि तपाईं आफूलाई मन परेको फिल्ममात्रै हेर्न चाहनुहुन्छ भने ‘मुभी वन्ली’ मा क्लिक गर्नुहोस् ।
‘मुभी वन्ली’ मा क्लिक गरेसँगै त्यहाँ ‘वालेट पेमेन्ट’ अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी तपाईंले नेटटिभी वालेटमा भएको पैसाबाट भुक्तानी गरी फिल्मको मज्जा लिन सक्नुहुनेछ ।
यो त थियो नेटटिभी वालेटमार्फत पैसा तिर्ने विकल्प । अब हामी तपाईंलाई खल्ती, ई–सेवा, आईएमई पे, कनेक्ट आईपीएसमार्फत डाइरेक्ट फिल्मको पैसा तिर्ने तरिका पनि बताउँदै छौं ।
खल्ती, ई–सेवा, आईएमई पे, कनेक्ट आईपीएसमार्फत फिल्मको पैसा तिर्ने तरिका
यसको पनि सुरुवाती पक्रिया एउटै हो । अघि भनेजस्तै आफूले हेर्न चाहेको फिल्ममा क्लिक गरी ‘बाइ नाउँ’ भन्ने अप्सनमा गएर ‘मुभी वन्ली’ मा क्लिक गर्न सक्नुहुनेछ । ‘मुभी वन्ली’ मा क्लिक गरेसँगै त्यहाँ ‘ई–पेमेन्ट’ भन्ने अप्सन रहेको छ ।
उक्त अप्सन छनौट गरी तपाईंले ‘कन्टिन्यु पेमेन्ट’ मा क्लिक गरी आफूले प्रयोग गर्ने वालेट छनोट गर्नुपर्ने हुन्छ । अब त्यहाँ आवश्यक पर्ने जानकारी (युजर नेम र पासवर्ड) राखेर लगईन गर्नुपर्ने हुन्छ ।
यति गरेसँगै तपाईंले छनौट गरेको वालेटमार्फत तपाईंलाई एउटा ‘पिन’ नम्बर उपलब्ध हुनेछ । उक्त पिन राखेर कन्फर्म गरेसँगै हेर्न चाहेको फिल्म तपाईंको डिभाइसमा उपलब्ध हुनेछ ।
यदि तपाईं एप प्रयोग गर्नुहुन्न र वेबमार्फत हेर्न चाहनुहुन्छ भने त्यो विकल्प पनि उपलब्ध छ । वेब भर्सनमा पनि तपाईंले उल्लेखित प्रक्रिया भने अपनाउनु पर्ने हुन्छ ।