close

आवाज निकाल्दै रमाइलोसँग पढ्न सिकाउने गुगलको एप

टेकपाना टेकपाना

भदौ २५, २०७७ २२:२४

आवाज निकाल्दै रमाइलोसँग पढ्न सिकाउने गुगलको एप

काठमाडौं । बालबालिकाहरुलाई पढ्न सिकाउने उद्देश्यका साथ गुगलले ल्याएको रिड एलोङ एपको बारेमा धेरैलाई थाहा नहुन सक्छ । सुरुवाती समयमा भारतमा सार्वजनिक भएको यो एप अहिले नेपाल सहित विश्वका १८० भन्दा बढी देशमा उपलब्ध छ ।

बालबालिकामा अध्ययनको सीप विकासमा सघाउने यो एपमा अहिले विभिन्न नौ वटा भाषा समावेश छन् । कोभिड १९ को महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिका घरमै बस्न बाध्य भइरहेको बेला यो एप अझ महत्वपूर्ण बनेको छ ।

पछिल्लो समय गुगलले यो एपमा नयाँ फिचर थप गर्नुका साथै प्रयोगका लागि आकर्षक समेत बनाएको छ । रिड एलोङ एपका अनुसार अहिलेसम्म यसमा तीन करोड २० लाखभन्दा धेरै कथाहरु पढिएका छन् भने पढाईको सीपका लागि ३० लाख घण्टा यसमा खर्च भइसकेका छन् ।

यसमा महत्वपूर्ण कुरा के छ भने गुगलको आन्तरिक विश्लेषणबाट सय मिनेट यो एपमा विताउने अध्ययनकर्ताको उच्चारण गरेर पढ्ने क्षमतामा ३८ देखि ८८ प्रतिशतसम्म सुधार देखिएको छ । भारतमा गरिएको मुल्याङ्कनका क्रममा यो एप प्रयोग गर्ने विद्यार्थीमा एक तहदेखि माथिल्लो तहको सुधार देखिएको थियो ।

एपमा बालबालिकालाई थप राम्रोसँग पढ्न सिकाउनका लागि थप सुधारको काम समेत भइरहेको छ । यसमा विभिन्न भाषाका ७०० भन्दा बढी युनिक पुस्तकहरु राखिएका छन् । धेरै भाषामा पढ्न चाहने बालबालिकाहरुका लागि यो एप अहिले सहज भएको छ ।

यसमा एक भाषाबाट अर्को भाषामा स्विच हुन तथा कथामा भएको शब्दमा ट्याप गरेर उच्चारणको सहयोग लिन सहज भएको छ । गुगलले यो सेप्टेम्बर महिनाभर साक्षरता दिवसको रुपमा मनाइरहेको छ ।

गुगलले अभिभावकलाई आफ्ना बालबालिकासँगै पढ्न र बालबालिकाले लेखेका कथाहरु उनीहरुसँग बाँड्न प्रोत्साहन गरिरहेको छ । एपमा सबमिसन गरिएका मध्ये केही कथाहरु प्रकाशित समेत गरिन्छ ।

यदि तपाईंसँग वा तपाईंको परिवारमा पनि बालबालिका छन् भने राम्रो पढाईका लागि कोसिस गरिरहेका बालबालिका छन् भने यो एप डाउनलोड गरेर उनीहरुको भविष्यलाई सुन्दर बनाउने काममा इटा थप्न सक्नुहुन्छ । एपमा बालबालिकाको पढाईसँगै अभिभावक समेत संलग्न हुनसक्ने गरी एपको डिजाइन गरिएको छ ।

गुगल रिड एलोङ एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०