काठमाडौं । भर्खर अण्डर ग्र्याजुएट गरिरहेका भर्खरका युवा । नेपालमा अहिलेसम्म कसैले नगरेको काम । कुनै अनुभव पनि नभएका ।
न त बाटो देखाइदिने कोही । यस्ता अनेक प्रतिकूलताबीच नेपाली युवा वैज्ञानिकहरु नेपालमै पहिलो पटक स्याटेलाइट बनाएर अन्तरिक्षमा पुर्याउने सपना पुरा गर्ने संघारमा छन् ।
ओरियन स्पेस नामक स्टार्टअप कम्पनीले बनाएको ‘सानो स्याट वान’ नेपालकै पहिलाे पकेट क्युव स्याटेलाइट हो । आजभन्दा करिब चार वर्ष अघि इन्जिनियर तथा युवा वैज्ञानिक द्वय सौरभ पौडेल र जितेन थापा काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा पढिरहेका थिए ।
राकेशचन्द्र प्रजापति (ओरियन स्पेसका सीईओ) सँगको सम्पर्कमा रहेर केही समय क्यान स्याट नामक परियोजनामा काम गरे । स्याटेलाइट कसरी बन्छ भन्ने विषय सिक्ने सन्दर्भमा सुरु भएको स्याटेलाइटले अन्ततः आफ्नो दायरा विस्तार गर्दै वास्तविक स्वरुप नै ग्रहण गर्ने दिशा पकड्न सफल भएको छ ।
सन् २०१८ मा सुरु भएको यो परियोजनालाई अन्तिम विन्दुसम्म पुर्याउन सकिने विषयमा युवा वैज्ञानिक टोली आफैमा विश्वस्त थिएन । ओरियन स्पेसमा आवद्ध भइसकेपछि उनीहरुले पहिलो मोडेल तयार पारे ।
त्यही मोडेलको विकासले उनीहरुलाई नेपालमै स्याटेलाइट बनाउन सकिने आत्मविश्वास भरेको हो ।स्याटेलाइटका लागि दुई वटा मोडेलमा सँगसँगै काम गरिरहेको ओरियन स्पेसले इन्जिनिरिङ मोडेल यस अघि नै तयार पारिसकेको छ ।
अहिले फाइनल मोडेल समेत अन्तिम चरणमा छ । यही फाइनल मोडेल नै अन्तरिक्षमा जानेछ ।
ओरियन स्पेसका वैज्ञानिकहरु ग्राउण्ड स्टेसनका लागि आवश्यक उपकरण तथा पूर्वाधारको तयारीको काममा समेत जुटिसकेका छन् । सामान्यतया स्याटेलाइटले औषत ९० मिनेटमा पृथ्वीलाई एक फन्को लगाई सक्छ ।
यस्तोमा स्याटेलाइटले क्षितिजको एउटा कुनामा प्रवेशदेखि अर्को कुना नकटुञ्जेलसम्म ग्राउण्ड स्टेसनबाट त्यससँग सञ्चार स्थापित गर्न सकिन्छ ।
त्यसका लागि ग्राउण्ड स्टेसनमा रहने एन्टेनाले स्याटेलाइटलाई ट्र्याक गर्नुपर्ने हुन्छ । कम्पनीले अहिले ओपन सोर्समा आधारित रोटर सिस्टममा रहेर स्याटेलाइटलाई ट्र्याक गर्ने योजनामा काम गरिरहेको छ ।
अल्झेको मिसन
नेपालमै पहिलो पटक बनेको स्याटेलाइट यही हो । सरकारलाई समेत स्याटेलाइट प्रक्षेपण गर्ने प्रक्रिया र सहजीकरणका लागि निभाउनुपर्ने भूमिकाको आवश्यक जानकारी नहुनु स्वभाविक नै मान्न सकिएला ।
तर नेपालमै स्याटेलाइट बनाएर अन्तरिक्षमा पुर्याउने उद्देश्य बोकेका युवा वैज्ञानिकहरुको सरकारसँग त्यति ठूलो अपेक्षा पनि थिएन । जम्माजम्मी स्याटेलाइट प्रक्षेपणका लागि आईटीयूबाट लाइसेन्स लिन सरकारको एउटा सिफारिसपत्र आवश्यक थियो ।
त्यसका लागि ओरियन स्पेसले सिफारिसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मुख एक वर्षसम्म ताकेरै बस्यो । तर सरकार एउटा सिफारिसका लागि समेत असमर्थ देखियो ।
लाइसेन्स नपाउँदा स्याटेलाइट प्रक्षेपण नै रोकिने भयो । आफ्नै देशको सरकारले असहयोग गरे पनि युवा वैज्ञानिकहरु आफ्नो आफ्नो उद्देश्यबाट विचलित भने भएनन् ।
बरु अन्य विकल्प खोजेर भए पनि स्याटेलाइट प्रक्षेपण गरिछाड्ने अठोट गरे । लाइसेन्सकै लागि भौतारिँदा एक वर्ष त्यसै बित्यो ।
सन् २०१९ को डिसम्बरको फाल्कन ९ रकेटसँगै स्याटेलाइट प्रक्षेपणको योजना बनेको थियो । जसका लागि ४० हजार यूरो रकम आवश्यक थियो ।
क्राउड फण्डिङबाट उक्त रकम जुटाउने योजना कम्पनीले बनाएका थिए । तर क्राउड फण्डिङ र प्रक्षेपणका लागि रकेट बुकिङ गराउन लाइसेन्स पहिलो शर्त थियो ।
लाइसेन्स नै दुवै विषयमा बाधक बन्यो । जसले गर्दा पहिलो प्रयासमा स्याटेलाइट प्रक्षेपण हुन सकेन ।
नेपाल सरकारले लाइसेन्सका लागि सहयोग नगरेपनि अहिले कम्पनीले स्पेनबाट त्यसको लाइसेन्स लिएको छ । जसअनुसार अब स्न २०२१ को फेब्रुअरीमा लञ्चका गर्ने तयारी भइरहेको छ ।
हालसम्म क्राउड फण्डिङबाट आठ लाख रुपैयाँ रकम जुटेको छ । अबको बाँकी समयमा स्याटेलाइट प्रक्षेपण गर्न आवश्यक लगानी जुट्ने विश्वासमा स्टार्टप छ ।
अम्योचर ब्याण्डको फ्रिक्वेन्सीमार्फत ग्राउण्ड स्टेसनबाट स्याेलाइटमा डेटा अपलिङ्क गराउनुपर्ने हुन्छ । यस किसिमको फ्रिक्वेन्सीका लागि समेत स्टार्टअपले सरकारबाट लाइसेन्सको अपेक्षा गरेको छ ।
डाउनलिङ्क गर्न भने फ्रिक्वेन्सीको खासै समस्या नहुने बताइएको छ । सरकारबाट फ्रिक्वेन्सी नपाएको खण्डमा खण्डमा अपलिङ्कका लागि समेत स्पेनकै भर पर्नुपर्ने सौरभ बताउँछन् ।
सरकारले सहजीकरण नगरिदिँदा परियोजनाको समय पनि तीन वर्ष भइसकेको छ । समय लम्बिँदै जाँदा यसको लागत समेत बढेको छ ।
लागत बढ्दै गएपछि त्यसको खर्च धान्न कम्पनीले क्राउड फण्डिङलाई माध्यम बनाएको छ । स्याटेलाइट बनाउन सुरुदेखि अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको छ । यसलाई प्रक्षेपण गरी मिसन पुरा गर्दासम्म ५० लाख रुपैयाँ लाग्ने ओरियन स्पेसले जनाएको छ ।
प्रक्षेपणको प्रयास
स्याटेलाइट प्रक्षेपण पूर्व यसको वातावरणीय परीक्षण समेत गराउनुपर्ने हुन्छ । अहिले सामान्य वातावरणमा स्याटेलाइट बनिरहेको भए पनि त्यो अन्ततः अन्तरिक्षमा पुग्नेछ ।
त्यसक्रममा रकेटको भाइब्रेसन, त्यसमा हुने स्टेज, अन्तरिक्षको वातावरण, पृथ्वीको कक्षमा परिक्रमा गर्दा सामना गर्नुपर्ने उच्च तथा न्यून तापक्रमको उतार चढाव आदिका लागि स्याटेलाइटको वातावरणीय परीक्षण गर्नुपर्ने हुन्छ ।
यस किसिमको परीक्षण नेपालमा संभव नहुने भएपछि स्पेनमा गर्ने तय भएको सौरभले बताए । ‘वातावरणी परीक्षण भएपछि स्याटेलाइटलाई इन्टिग्रेट गरेर अमरिका पठाउँछौं,’ उनले भने, ‘यसरी आउँदो २०२१ को फेब्रुअरीमा हाम्रो स्याटेलाइट अन्तरिक्षका लागि उड्नेछ ।’
किन जरुरी ?
यस अघि नेपालको नामको पहिलो स्याटेलाइट ‘नेपाल स्याट वान’ जापानमा बनेको थियो । नास्टबाट अध्ययन तथा अनुसन्धानका लागि जापान गएका दुई जना वैज्ञानिकले उक्त स्याटेलाइट तयार पारेका थिए ।
जुन करिब एक वर्ष अघि मात्रै प्रक्षेपण गरिएको थियो । उक्त स्याटेलाइटको मुख्य उद्देश्य क्यामेरा मिसन रहेको थियो । तर ‘सानो स्याट वान’ को मिसन भने फरक छ ।
नेपालमै स्याटेलाइट बनाएर प्रक्षेपण गर्ने कार्य आफैमा आविष्कारको क्षेत्रमा मुलुकका लागि ऐतिहासिक प्रयास हो । यसले भविष्यमा आधुनिक तथा ठूलो आकारको स्याटेलाइट लञ्च गर्ने स्तरसम्म नेपालको क्षमतालाई विकास गर्ने आधार बनाउने छ ।
त्यसैले यो स्याटेलाइटको मिसनलाई मुख्य रुपमा शैक्षिक उद्देश्यमा केन्द्रीत गरिएको छ । ओरियन स्पेस स्याटेलाइट विकास, त्यसका लागि आवश्यक पर्ने ग्राउण्ड स्टेसन कसरी बनाउने भन्नेमा मात्रै सीमित छैन, विभिन्न स्थानमा गएर त्यसको ट्रेनिङ समेत दिँदै आएको छ ।
सँगसँगै अनुसन्धानका लागि समेत यो परियोजना महत्वपूर्ण हुने इन्जिनियर तथा वैज्ञानिक जितेन बताउँछन् । ‘हाम्रो अर्को मिसन भनेको डिजिपिटर हो,’ उनी त्यसलाई प्रस्ट्याउँदै भन्छन्, ‘त्यो भनेको म्यासेज रिले सिस्टम जस्तै हो ।
उदाहरणको रुपमा हिम पहिरो वा कुनै निश्चित भागमा (जहाँ मानिस गएर डेटा लिन सकिँदैन) राखिएको सेन्सरले स्याटेलाइटमा सन्देश पठाउँछ र स्याटेलाइटले उक्त सन्देश ग्राउण्ड स्टेसनमा रिले गरिदिन्छ ।’
यो स्याटेलाइटको पेलोडमा रहने अर्को महत्वपूर्ण चिज भनेको रेडियसन सेन्सर पनि हो । जसले अर्बिट वरपरको रेडियसन डेटा मापन गरेर ग्राउण्ड स्टेसनमा पठाउनेछ ।
त्यो डेटाको आधारमा अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले कुन अर्बिटमा कति रेडियसन हुन्छ भन्ने कुराको जानकारी संकलन गर्न सक्नेछन् । वैज्ञानिक सौरभ पौडेल यो परियोजनाले विद्यमान समस्या समाधान गर्ने दिशामा परीक्षण तहको काम गर्ने बताउँछन् ।
‘तर हामी सुरुमै एप्लिकेसनको लेभलमा जान भने सक्दैनौं,’ उनी भन्छन्, ‘यो खास गरेर भविष्यमूखी अवधारणामा आधारित परियोजना हो ।
भोलिको समयमा हामीले अरु स्याटेलाइट बनाउँदा यो अनुभव र परीक्षणले हामीलाई धेरै नै सहयोग पुर्याउन सक्छ ।
सानो स्याट वानका आविष्कारक युवा वैज्ञानिक सौरभ पौडेल र जितेन थापा
अहिले यसले हाम्रो अवधारणा पुष्टी गर्ने दिशामा काम गर्नेछ । जसबाट हामी भविष्यमा पेलोडको आकारसँगै नयाँ मिसनहरु थप्दै लैजान सक्छौं ।’
स्याटेलाइट लञ्च गरिसकेपछि त्यसबाट प्राप्त गर्न सकिने सबै डेटाहरु ओपनसोर्समा राखिनेछ । त्यतिमात्र होइन, स्याटेलाइट कसरी बनाउन सकिन्छ भन्ने भन्ने सम्पूर्ण अवधारणा नै ओपनसोर्समा रहने सौरभको भनाई छ ।
यसबाट इच्छुक जोकसैले स्याटेलाइटको बारेमा सिक्न र ज्ञान आर्जन गर्न सक्ने छन् । ‘एक किसिमको प्रोटोकल बनाएर विद्यार्थीहरुलाई हामी स्याटेलाइटबाट डेटा कसरी प्राप्त गर्ने भन्ने सन्दर्भमा आफैं एक्सेस गर्न सक्ने व्यवस्था समेत मिलाउँदै छौं,’ उनी भन्छन् ।
स्याटेलाइट बनाउन आवश्यक प्रोटोटाइप तथा किटहरु विद्यार्थीहरुका लागि उपलब्ध गराउने र विभिन्न कलेजमा गएर ट्रेनिङ दिने काम पनि ओरियन स्पेसले सुरु गरिसकेको छ । यस किसिमको तालिम नेपालका ६/७ वटा कलेजसँगै श्रीलंका र पाकिस्तानमा गएर समेत दिइसकेको छ ।
स्याटेलाइटको आयू
यसकाे आयू छ महिनादेखि एक वर्षसम्मको हुने अनुमान छ । स्याटेलाइट जति लो अर्थ बिट (पृथ्वीबाट तुलनात्मक रुपमा नजिकको दुरी) मा रहेर पृथ्वीको परिक्रमा गर्छ, त्यसको आयू त्यति नै कम हुन्छ ।
सामान्यतया यो स्याटेलाइटले ९० डिग्री माथि हुँदा ५०० किलोमिटर टाढाबाट पृथ्वीलाई परिक्रममा गर्नेछ भने कोणअनुसार त्यसको उचाई बढी पनि हुन सक्छ । जुन घुम्दै पृथ्वीको कक्षभित्र प्रवेश गरेपछि वायुमण्डलको घर्षणले आफैं जलेर नष्ट हुनेछ ।