close

देशभरका आविष्कारक जोड्ने ‘नेसनल पोर्टल’ सार्वजनिक गर्दै नास्ट

टेकपाना टेकपाना

असोज १०, २०७७ १९:४५

देशभरका आविष्कारक जोड्ने ‘नेसनल पोर्टल’ सार्वजनिक गर्दै नास्ट

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेसनल इनोभेसन डिजिटल नेटवर्क (एनआईडीएन) सार्वजनिक गर्ने भएको छ । नेपालको समग्र आविष्कार क्षेत्रलाई संयोजन गर्ने उद्देश्यका साथ नास्टले नेसनल पोर्टलको रुपमा एनआईडीएन तयार पारेको हो ।

आइतबार भर्चुअल रुपमा आयोजना हुने कार्यक्रममार्फत नेटवर्क सार्वजनिक गरिने नास्टको प्रविधि संकायका प्रमुख डा रविन्द्र ढकालले जानकारी दिए । उनले भने, ‘यो पोर्टल नास्टकै सब डोमेनको रुपमा सञ्चालनमा आउनेछ ।’

नेटवर्कका लागि हाललाई नास्टले डा ढकालकै संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।  नेटवर्कमा नेपालमा आविष्कारकहरुको अवस्था, बाधा व्यवधान लगायतका सम्पूर्ण सूचना तथा जानकारी समेटिने बबताइएको छ ।

‘यही पोर्टलको माध्यमबाट दातृ निकाय तथा अन्य दाताहरु आविष्कारको क्षेत्रमा लागिरहेका आविष्कारकहरु समक्ष पुग्न सक्नेछन्,’ डा ढकालले भने, ‘यसबाट आविष्कारको क्षेत्रमा लागेकाहरुलाई महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं ।’

उनका अनुसार यो नेटवर्कमा सबैले स्वयम्‌सेवी रुपमा सहयोग र योगदान दिन सक्नेछन् । नक्सा प्रालि र रोबोटिक्स एसोसियसन नेपालको अग्रसरतामा सुरु भएको यो नेटवर्क सञ्चालनका लागि सुरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव गरिएको थियो ।

मन्त्रालयले नै त्यसको जिम्मा नास्टलाई दिएपछि अब यो सञ्जाल औपचारिक रुपमा नै सार्वजनिक हुन लागेको हो । इनोभेसन म्यापरको रुपमा रहने यो पोर्टलमा देशका विभिन्न क्षेत्रमा रहेका आविष्कारकहरुको शोकेस (विस्तृत विवरण सहितको जानकारी) रहनेछ ।

यसमा आविष्कारकहरुको प्रोजेक्ट, उनीहरुले गरिरहेका काम, टिमको प्रोफाइल, सहकार्य, फण्डिङ, मेन्टरशिपको आवश्यकता र सामना गरिरहेको चुनौती लगायतका विषयहरु रहनेछन् । यो इनोभेसन म्यापिङ नेटवर्कका लागि यूके एडले सहयोग गरेको छ । 

नेटवर्कलाई व्यवस्थापना गर्न नास्ट अन्तर्गत एक समिति बनाइएको छ । यसले महाबिर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र, स्वतन्त्र रुपमा क्रियाशिल आविष्कार, लुकेर बसेका प्रतिभालाई समेत समेट्नेछ ।

वेबसाइटमार्फत आविष्कारकहरुले आफ्नो प्रोफाइल शोकेस (वेबसाइटमा डिस्प्ले) का लागि आवश्यक जानकारीहरु पठाउन सक्नेछन् । त्यसै आधारमा नेटवर्कको प्राविधिक समूहले ब्याक ईण्डमा बसेको जानकारीलाई आवश्यक प्रमाणीकरण पश्चात शोकेसका लागि एप्रुभ गर्नेछन् ।

यसमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता विभिन्न क्षेत्रगत रुपमा आविष्कारकहरुको एकीकृत विवरण रहनेछ । यसले ‘समाजका लागि विज्ञान र समृद्धिका लागि आविष्कार’ को अवधारणालाई सार्थक रुप दिन र नेपालको रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथि रहने कार्यक्रममा पूर्व मन्त्री ई गणेश साह विशेष अतिथिको रुपमा रहनेछन् । यस बाहेक नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठ, प्रा डा रमेशकुमार मास्के, डा महेशकुमार अधिकारी लगायतको समेत सहभागीता रहनेछ ।

आइतबार दिउँसो १ बजेदेखि सुरु हुने सार्वजनिकीकरण कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने तपाईं पनि जुम मार्फत भर्चुअल रुपमा जोडिन सक्नुहुनेछ । त्यसका लागि यहाँ क्लिक गरी 668 1920 0561 आईडी प्रयोग गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०