यस अघिको भागमा हामीले वेब होस्टिङ र सीएसएसका केही अवधारणाको विषयमा चर्चा गरेका थियौं । आजको यो भागमा हामी फ्रेमवर्क र लाइब्रेरीसँग परिचित हुनेछौं ।
फ्रेमवर्क भनेको के हो?
फ्रेमवर्क भनेको डेभलपरहरूका लागि सजिलो बनाउन लेखिएको कोडहरूको एउटा नियम हो । जसमा रहेर हामीले कोडहरु लेख्छौं । फ्रेमवर्कले एउटा प्लेटफर्म दिन्छ, जसमा रहेर हामीले कोड लेख्दा ससाना कुराहरूको चिन्ता लिइरहनु पर्दैन ।
यो कुरा सबै फ्रेमवर्कले जिम्मा लिइदिन्छ । फ्रेमवर्क डेभलपरलाई सजिलो होस् भन्ने हेतुले बनाइएको हो । फ्रेमवर्कमा बसेर काम गर्दा हामीले साना साना कुराहरुमा ध्यान दिइरहनु पर्दैन र उच्च स्तरका फंसनालिटीहरुमा मात्र केन्द्रीत भए पुग्छ ।
युट्यु भिडियोः भाग १
जसले गर्दा डेभलपरका लागि यो प्लेटफर्म प्रडक्टिभ र एफिसेन्ट हुन जान्छ | यसलाई उदाहरणको रुपमा भन्नुपर्दा जब तपाईं घर बनाउनु हुन्छ, तब तपाईंको घरको डिजाइन इन्जिनियरहरुले बनाउँछन् ।
तिनीहरुसँग पहिले नै बनाइएका डिजाइनहरु हुन्छन् । अथवा तिनीहरूले नयाँ डिजाइन बनाएर तपाईंलाई दिन सक्छन् । जसले गर्दा तपाईंको ध्यान घर बनाउनमा मात्र रहन्छ ।
त्यसभित्र के थप्ने भन्ने कुरामा मात्र तपाईंको ध्यान रहन्छ । जसले गर्दा तपाईंलाई डिजाइनको चिन्ता लिइरहनु पर्दैन ।
सीएसएसका फ्रेमवर्क
बुटस्ट्र्याप, फाउण्डेसन, बल्म, यूआई किट, सिम्यान्टिक यूआई यसका केही उदाहरण हुन् । यो भागमा हामी बुटस्ट्र्याप र फाउण्डेसन सीएसएस फ्रेमवर्कको बारेमा विस्तारमा कुरा गर्नेछौं । आगामी खण्डमा जाभास्क्रिप्ट फ्रेमवर्कको बारेमा चर्चा गर्ने छौं ।
लाइब्रेरी भनेको के हो ?
लाइब्रेरी भनेको कोडहरुको एउटा सेट हो । जसले निकै धेरै फंसनालिटी उपलब्ध गराउँछ । लाइब्रेरीहरुमा सबै किसिमका फंसनहरु लेखिएका हुन्छन् ।
जसले गर्दा डेभलपरहरुलाई पुनः प्रयोग गर्न सहज हुन्छ । लाइब्रेरीले गर्दा डेभलपरहरुको फंसन लेख्नुपर्ने समय बचत गराउँछ ।
यसलाई अर्को भाषामा भन्ने हो भने जब तपाईं घर बनाउनु हुन्छ, तब कुनै एउटा फर्निचर स्टोर तपाईंको अगाडि छ भन्ने सम्झिनुहोस् । जहाँबाट आफूलाई चाहिएका सामानहरु उपयुक्त समयमा प्रयोग गर्न सक्नुहुन्छ ।
त्यसले तपाईंलाई प्रत्येक सामान बनाउनका लागि अर्डर दिनु पर्दैन । तपाईंले एर्रेमा बनिबनाउ सामानहरु प्रयोग गर्न पाउनुहुन्छ । त्यसलाई हामी लाइब्रेरीसँग मेटाफोरको रुपमा हेर्न सक्छौं ।
यदि तपाईंले सामान अर्डर गर्न दिनुभयो भने त्यसबाट तपाईंको पैसा र समय धेरै लाग्छ । जसको समाधान लाइब्रेरीले गर्छ ।
लाइब्रेरीका उदाहरण
जेक्वेरी, जेक्वेरी मोबाइल, जेक्वेरी यूआई, रिएक्ट जेएस आदि यसका केही उदाहरण हुन् ।
युट्युव भिडियोः भाग २
बूट्सट्र्याप
बुटस्ट्र्याप सबैभन्दा अगाडि ट्वीटरले सुरु गरेको थियो । यो मोबाइल फर्स्ट अवधारणामा आधारित छ । यसले रेस्पोन्सिभ डिजाइनहरु उपलब्ध गराउँछ । जसले गर्दा हामीले बनाएका वेबपेजहरु सबै डिभाइसहरुमा फिछ हुन्छ ।
यसलाई प्रयोग गर्दा डिभाइस रेस्पोन्सिभनेसको लागि अतिरिक्त मेहनत गरिरहनु पर्ने जरुरत पर्दैन ।
यो आर्टिकल तयार पार्दासम्म बुटस्ट्र्यापको पछिल्लो भर्सन फोर रहेको छ । बुट्सस्ट्र्याप ग्रिड अवधारणामा काम गर्दछ । जसले हाम्रा वेबपेजहरुलाई रो र कोलुममा विभाजन गर्न सहयोग गर्दछ ।
बुट्स्स्ट्र्यापका फाइदा
यसलाई ट्वीटरले सपोर्ट गरेको छ । जसले गर्दा यसको पाथवे लामो हुनसक्छ । त्यसकारणले गर्दा यदि कुनै एउटा प्रोजेक्ट डेभलप गरिँदैछ भनेर बुट्सट्र्यापमा भर पर्न सकिन्छ ।
बुट्सट्र्यापबाट तपाईंले आफ्नो प्रोजेक्टलाई छिटोभन्दा छिटो प्रोटोटाइपिङ गर्न सक्नुहुन्छ । जसले गर्दा तपाईंको डेभलपिङ गर्ने समय बचत हुन्छ र तपाईंलाई उपलब्ध गराइएका सीएसएस क्लासहरुले सजिलो बनाउनेछ ।
यसको इन्टरनेटमा कम्प्युनिटी ठूलो भएको हुँदा हामीलाई तुरुन्तै सपोर्ट प्राप्त हुनसक्छ । जब तपाईंले कुनै पनि फ्रेमवर्क प्रयोग गर्नुहुन्छ भने त्यसमा समस्या आउनु सामान्य हो । त्यस्ता समस्या आएको बेलामा यदि कम्प्युनिटी ठूलो छ भने सजिलै सपोर्ट मिल्न सक्छ ।
यसमा यस अघि नै बनाइएका धेरै कम्पोनेन्टहरु छन् । जसले गर्दा तपाईंलाई पुनः प्रयोग गरेर वेब डेभलपमेन्ट गर्न निकै सजिलो बनाउँछ । उदाहरणका लागि नेभिगेसन बार अलर्ट बक्स बटन, मोडल आदि ।
बुट्सट्र्यापका बेफाइदा
तपाईंले बुट्सट्र्याप प्रोजेक्टहरु हेर्नुभयो भने त्यसमा प्रयोग गरिएका युजर इन्टरफेसहरु लगभग एउटै जस्तो देखिन जान्छन् ।
यदि तपाईंले बुट्सट्र्यापमा आफ्नै मोडिफिकेसन गर्नुपर्योभने तपाईंले अत्यन्तै कठिन हुन सक्छ ।
युट्युव भिडियोः भाग ३
फाउण्डेसन
फ्रेमवर्क फाउण्डेसनले पनि हामीलाई एचटीएमएल टेम्प्लेटहरु र सीएसएस यूआईहरु उपलब्ध गराउँछ । फाउण्डेसनहरु पनि आजकल विस्तारै लोकप्रिय हुँदै गइरहेका छन् ।
यसका पनि आफ्नै फाइदा र बेफाइदाहरु छन् । यो आर्टिकल तयार पार्दासम्म फाउण्डेसनको पछिल्लो भर्सन सिक्स रहेको छ ।
फाउण्डेसनका फाइदा
फाउण्डेसनले सबै नियन्त्रण डेभलपररहरुलाई दिन्छ । जसले गर्दा डेभलपरले यसलाई मोडिफिकेसन गर्न सक्छन् ।
यसले फर्मभ्यालिडेसनदेखि लिएर सबै कुराहरु उपलब्ध गराउँछ । ससाना वेबपेजहरुका लागि यो उपयुक्त नहुन सक्छ । तर ठूला प्रोजेक्ट गर्दै हुनुहुन्छ भने यो एउटा वरदान नै सावित हुनसक्छ ।
बुट्सट्र्यापलाई ट्वीटरले हेरेजस्तै यसलाई जर्ब भन्ने फाउण्डेसनले हेर्ने ग र्छ । जसले गर्दा यसको भविष्य पनि दीर्घकालीन हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।
फाउण्डेसनका बेफाइदा
यसको कम्युनिटी तुलनात्मक रुपमा सानो छ । जसले गर्दा यदि तपाईं फाउण्डेसन प्रयोग गरेर प्रोजेक्ट गर्दा स्टोक हुनुभयो भने तुरुन्तै सपोर्ट नमिल्न सक्छ ।
यसले धेरै विकल्पहरु प्रदान गर्छ । जसले गर्दा डेभलपरहरुलाई उपयुक्त विकल्प छनौट गर्न दुविधा उत्पन्न हुनसक्छ ।
फाउण्डेसन बुट्सट्र्याप जस्तै सिक्न सजिलो छैन । त्यसैले बुट्सट्र्याप जानेको व्यक्तिलाई पनि फाउण्डेसन गर्न गाह्रो पर्न सक्छ ।
त्यसो भए कुन फ्रेमवर्क छनौट गर्ने ?
कुनै पनि कम्पनीलाई फ्रेमवर्क छनौट गर्नुपर्यो भने कम्पनीको आवश्यकता अनुसार रोज्न सक्छौं । तर यहाँ बिगिनर भएको कारणले गर्दा हामीलाई बजारमा कस्तो फ्रेमवर्कहरु उपलब्ध छन् भन्ने कुरा थाहा पाउन जरुरी हुन्छ । बुट्सट्र्याप लोकप्रिय र सिक्नलाई सजिलो भएको हुँदा हामीले पहिला बुट्सट्र्याप सिक्न जरुरी हुन्छ ।
‘वेब डेभलपर कसरी बन्ने’ ट्युटोरियल सिरिजको पहिलो र दोस्रो भाग यस अघि नै प्रकाशित भइसकेको छ ।
यदि यसमा तपाईंको फरक मत छ भने कृपया प्रतिक्रिया व्यक्त गर्न नबिर्सिनुहोला । हामी अर्को खण्डमा जाभास्क्रिप्ट र त्यसको फ्रेमवर्को बारेमा चर्चा गर्ने छौं ।