close

ट्रुकलरको छलाङ : २५ करोड सक्रिय प्रयोगकर्ता, ९० प्रतिशतले बढ्यो आम्दानी

टेकपाना टेकपाना

असोज २२, २०७७ १०:३३

ट्रुकलरको छलाङ : २५ करोड सक्रिय प्रयोगकर्ता, ९० प्रतिशतले बढ्यो आम्दानी

काठमाडौं । विश्व महामारीले थलिएर हरेक क्षेत्रका व्यवसाय प्रभावित भइरहेको छन् । तर अपवादमा प्राविधिक कम्पनीहरुले भने आर्थिक वृद्धि हासिल गरिरहेका छन् ।

यसैबीच लोकप्रिय कलर आइडेन्टिफिकेसन सर्भिस ट्रुकलर एपले २५ करोड मासिक सक्रिय प्रयोगकर्ता र २० करोड दैनिक सक्रिय प्रयोगकर्ता बनाउन सफल भएको छ । 

स्वीडेनकाे राजधानी स्टोकहल्ममा मख्यालय रहेको यो कम्पनीले प्रयोगकर्तालाई कलर पहिचान गरी स्पाम कल रिसिभ गर्नबाट बचाउँछ । यो सेवा विश्वका धेरै ठाउँहरुमा एकदमै लोकप्रिय छ। यी मुलुकमध्ये भारत ट्रु कलरको सबैभन्दा ठूलो बजार हो । 

एप्पल र गूगलले समेत कलर आईडी फिचरलाई आफ्नो मोबाइल अपरेटिङ सिस्टममा सुधार गर्न पछिल्लो वर्षमा प्रयास गरेका छन् । तर ट्रुकलरको सेवाको तुलनामा एप्पल र गूगल दुवै कमजोर छन् । 

यसवर्षको फेब्रवरी महिनामा ट्रु कलरमा २० करोड मासिक सक्रिय प्रयोगकर्ताहरु थिए जसमध्ये १५ करोड युजर बेस भने भारतबाट रहेको कम्पनीले बताएको छ ।

२०१८ को अप्रिलमै ट्रु कलरले १० करोड दैनिक सक्रिय प्रयोगकर्ता संख्या बनाइसकेको थियो । भारतमा अत्याधिक प्रयोग हुने शीर्ष १० एपमध्ये ट्रु कलर मात्र एक्लो यस्तो एप हो, जसमा फेसबुक र गुगलको स्वामित्व छैन । 

पछिल्लो वर्षमा ट्रुकलरले आफ्नो प्लेटफर्मलाई मेसेजिङ तथा पेमेन्ट सेवामा पनि विस्तार गरेको छ । साथै ट्रुकरले यसवर्षको जूनदेखि सेप्टेम्बरको चौमासिकमा गत वर्षको सोही अवधिको तुलनामा आफ्नो आय ९० प्रतिशतले बढेको समेत बताएको छ ।

साथै गत वर्ष कम्पनीले एउटा नयाँ प्रोडक्ट पनि सार्वजनिक गरेको थियो, जसबाट व्यवसायिक कम्पनीहरुले कल नगरीकनै आफ्ना प्रयोगकर्ताहरुलाई प्रमाणीकरण गर्न सक्दथ्यो । 

ट्रुकलरको अभिभावक कम्पनी ट्रु सफ्टवेयर स्क्यानडिनाभिया एबी ११ वर्ष पुरानो कम्पनी हो । यो कम्पनी आगामी दुई वर्षभित्रमा सार्वजनिक कम्पनीको रुपमा आईपीओमा जाने तयारी गरिरहेको कम्पनीका कार्यकारी तथा सहसंस्थापक एलान मामेदीले बताएका छन् । 

गत बुधबार ट्रुकलरले फ्रेडेरिक केजेललाई आफ्नो सीओओको रुपमा चयन गरेको घोषणा गरिसकेको छ । बलियो सञ्चालन पृष्ठभूमि रहेका फेड्रिकले कम्पनीलाई उत्साहजनक यात्रामा अगाडि बढाउने कम्पनीको अपेक्षा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०