काठमाडौं । कम्प्युटरमा कुनै महत्वपूर्ण काम गरिरहनु भएको छ, तर माउसले राम्रोसँग काम गरिरहेको छैन । अथवा ल्यापटपको ट्र्याक प्याड बिग्रिँदा समस्यामा हुनुहुन्छ ।
तपाईं यस किसिमको समस्यासँग जुधिरहनु भएको छ भने अब हैरान हुनुपर्दैन । यदि तपाईंसँग स्मार्टफोन छ भने यो समस्याको सजिलो समाधान निकाल्न सक्नुहुन्छ ।
कम्प्युटर वा ल्यापटपमा स्मार्टफोनलाई वायरलेस रुपमा कनेक्ट गराएर माउसको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो स्मार्टफोनमा मोनेक्ट पीसी रिमोट नामक एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
आफ्नो फोनमा यो एप डाउनलोड गरेर तपाईं सजिलै ल्यापटपलाई ब्लुटूथ वा वाईफाई अथवा यूएसबीको माध्यमबाट कन्ट्रोल गर्न सक्नुहुन्छ ।
यदि तपाईं गेमिङका लागि ल्यापटप प्रयोग गर्नुहुन्छ भने यसबाट फोनमा हुुने गायरो, एक्सिलेरोमिटर जस्ता सेन्सर समेत प्रयोग गर्ने सुविधा पाउन सक्नुहुन्छ ।
यो एपबाट पीसी कनेक्ट गरेपछि त्यसलाई सहजै कन्ट्रोल गर्नुका साथै त्यसबाट दुई डिभाइसबीच डेटा ट्रान्सफर गर्न पनि सकिन्छ ।
कसरी गर्ने प्रयोग ?
यसलाई प्रयोग गर्न तपाईंले सबैभन्दा अगाडि मोनेक्ट डेक्सटप सर्भर क्लाइन्टलाई आफ्नो पीसी वा ल्यापटपमा इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
त्यसपछि मोनेक्ट पीसी रिमोट एप गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट आफ्नो फोनमा डाउनलोड गरेर इन्स्टल गर्नुहोस् । अब एप खोल्नुहोस् र कनेक्ट टु पीसी छनौट गर्नुहोस् ।
यसलाई वाईफाईको माध्यमबाट अथवा फोनको हटस्पटको सहयोगमा कनेक्ट गर्नुपर्ने हुन्छ । यदि तपाईं इन्टरनेट कनेक्सनमा हुनुहुन्न भने यूएसबी केबलको माध्यमबाट समेत मोबाइललाई कम्प्युटरसँग कनेक्ट गराउन सक्नुहुन्छ ।
त्यसका लागि तपाईंले यूएसबी टेथेरिङ अप्सन प्रयोग गर्नुपर्ने हुन्छ । यसरी एक पटक तपाईंले आफ्नो पीसी वा ल्यापटपमा कनेक्ट गराइसकेपछि सहजै आफ्नो स्मार्टफोनलाई माउसको रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।
यसको सहयोगमा तपाईं कुनै पनि किसिमको पीसी गेम खेल्न सक्नुहुन्छ । यसका लागि विशेष बटन डिजाइन गरिएको छ । तपाईंले चाहेको खण्डमा लेआउट परिवर्तन गर्ने सुविधा पनि यसमा पाउन सक्नुहुनेछ ।
यसमा तपाईंले रिमोट माउससँगै कीबोर्डको सुविधा पाउन सक्नुहुन्छ । यति मात्र होइन यसको सहयोगमा तपाईं आफ्नो फोनको क्यामेरालाई ल्यापटपको वेबक्यामको रुपमा प्रयोग गर्न पनि सक्नहुन्छ ।
यसमा मिडिया, पीपीटी र गेम कन्ट्रोल जस्ता फिचर समेत उपलब्ध छन् । साथै वायरलेस फाइल ट्रान्सफरसँगै स्क्रिन शेयरको अप्सन समेत यसमा पाउनुहुनेछ ।
यसमा सुरक्षाका लागि २५६ बिट एईएस सेसन इनकोडिङ तथा रिमोट नेटवर्कको प्रयोग गरिएको छ ।
निःशुल्क रुपमा उपलब्ध यो एप एन्ड्रोइडका लागि यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुनेछ । यसैगरी विण्डोज एपका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएस एपका लागि यहाँ क्लिक गर्नुहोस् ।