काठमाडौं । भारतमा आफ्नो निर्माण कार्य विस्तार गर्ने योजनामा रहेको एप्पलले बलियो साझेदार पाएको छ । भारतको स्वदेशी कम्पनी टाटा ग्रुपले एप्पलको निर्माण अपरेसनमा लगानी गर्न लागेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार टाटा ग्रुपले एप्पलको नयाँ निर्माण फेसिलिटीका लागि पाँच हजार करोड भारतीय रुपैयाँ अर्थात् झण्डै साढे ८० अर्ब रूपैयाँ लगानी गर्ने भएकाे हाे ।
तामिल नाडुको औद्याेगिक शहर होसुरमा निर्माण फ्यासिलिटी स्थापनाका लागि तामिल नाडू औद्याेगिक विकास कर्पोरेसन टिड्कोले यसअघि नै उक्त ग्रुपलाई पाँच सय एकड जमिन प्रदान गरिसकेको छ ।
टिड्कोले उक्त जमिन टाटा ग्रुपको नयाँ सब्सिडरी कम्पनी टाटा इलेक्ट्रोनिक्सका लागि प्रदान गरेको हो । रिपोर्टहरुका अनुसार यसअघि उक्त फ्यासिलिटीलाई कर्नाटक र तामिल नाडु दुई राज्यमध्ये एउटामा स्थापना गर्ने निर्णय गरिएको थियो ।
टाटा र टिड्को दुवैले पछिल्लो खबरहरुको बारेमा कुनै पनि आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन । यद्यपि रिपोर्टहरुले दुवै संस्था कुनै ठूलो निर्माण फ्यासिलिटीको योजनामा रहेको देखाउँदै आइरहेको छ ।
टाटाले उक्त निर्माण फ्यासिलिटीमा १८ हजार कर्मचारी रहने जसमध्ये ९० प्रतिशत महिला हुने बताएको छ ।
एप्पलले भारतमा आईफोन मोडल निर्माणका लागि यसअघि देखि फक्सकोनसँग साझेदारी गर्दै आइरहेको छ । तर टाटाको नयाँ फ्यासिलिटीमा भने आईफोनको सम्पूर्ण स्मार्टफोन एसेम्बल वा निर्माणको सट्टा पाटपूर्जा निर्माणमा केन्द्रित रहने देखिएको छ ।
फ्यासिलिटी एकपटक सेटअप भइसकेपछि टाटा ग्रुपले लगानीलाई बढाउँदै लग्ने सम्भावना देखिएको छ । रिपोर्टका अनुसार टिटान इन्जिनियर तथा अटोमेसन टिलले उक्त उत्पादन फ्यासिलिटीको कामलाई हेर्नेछ ।
अमेरिका र चीनबीचकाे प्रविधि युद्धका कारण एप्पलले एसियाकाे दाेस्राे ठूलाे बजार भारतमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ ।