close

रेडियो सुन्दै नसुन्नेको संख्या आधाभन्दा धेरै

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १२:२९

रेडियो सुन्दै नसुन्नेको संख्या आधाभन्दा धेरै

काठमाडौं । डिजिटल प्रविधिको प्रयोग बढ्दै गएपछि पुरानो प्रविधिको रुपमा रहेको रेडियो सुन्ने क्रम क्रमशः घट्दै गएको छ । शेयर कास्टले गरेको सर्वेक्षण अनुसार हाल रेडियो कहिल्यै नसुन्नेको संख्या ५०.९ प्रतिशत देखिएको हो ।

सूचना, समाचार तथा मनोरञ्जनका लागि यसअघि ८० प्रतिशतसम्मले रेडियो सुन्ने गरेकोमा हालका दिनमा घटेर ५० देखि ६० प्रतिशतमा पुगेको शेयर कास्टका संस्थापक तथा रेडियो विज्ञ मधु आचार्य बताउँछन् । रेडियो म्यापिङका आधारमा रेडियो श्रोता सर्भेक्षण गर्ने गरिएको छ ।

धेरैले किन सुन्दैनन् रेडियो ? 

देशभरका ७७ वटै जिल्लामा गरिएको सर्वेक्षणमा १९०३ जनालाई सहभागी गराइएको थियो । जसमा  रेडियो नसुन्नुको मुख्य कारण (५५.५ प्रतिशत) रेडियो सेट नहुनु देखिएको छ ।

त्यसबाहेक १०.६ प्रतिशत सहभागीले आफूसँग रेडियो सुन्ने फुर्सद नै नभएको बताएका छन् भने १५.६ प्रतिशतले सूचनाका लागि अन्य माध्यमहरु प्रयोग गर्ने गरेको जवाफ दिएका छन् ।

रेडियो श्रोता सर्भेक्षण । श्रोतः शेयरकास्ट नेपाल

साथै ९.२ प्रतिशतले विगतमा रेडियो सुन्ने गरेको तर हाल आएर सुन्न छोडेको उल्लेख गरेका छन् । त्यस्तै २.४ प्रतिशतले चाहिँ रेडियोमा सुन्न लायक कुनै कुरा नै नहुने प्रतिक्रिया दिएका छन् । 

सन् २०१४ र २०१८ मा शेयरकास्ट इनिसियटिभ्सको पहलमा देशव्यापी मिडिया सर्वेक्षण भएको थियो । शेयर कास्टका अनुसार सन् २०१९ मा नियमित रेडियो सुन्नेको संख्या २४.२ प्रतिशत रहेकोमा कोरोना भाइरसको महामारीको समयमा भने बढेर ४० देखि ५० प्रतिशत पुगेको थियो । 

आचार्यका अनुसार रेडियो सुन्नेको संख्या क्रमशः घट्दै गएको छ । ‘रेडियो नियमित सञ्चारको साधनभन्दा पनि संकट र प्रकोप तथा देशको विशष परिस्थितिको समयमा बढी प्रयोग हुने माध्यम बन्ने गरेको देखिन्छ,’ उनी भन्छन् । 

शेयर कास्टको रिपोर्ट अनुसार हप्तामा कहिले काहिँ रेडियो सुन्नेको संख्या १८.४० रहेको छ भने महिनाको केही समय रेडियो सुन्नेहरु ६.७ प्रतिशत रहेका छन् । 

सुन्ने मध्ये मोबाइलबाट धेरै

शेयर कास्टको रिपोर्टले रेडियो सेटभन्दा मोबाइल फोनबाट रेडियो सुन्नेको संख्या धेरै देखाएको छ । जसअनुसार मोबाइल सेटबाट रेडियो सुन्नेको संख्या ५६.२ प्रतिशत रहेको छ भने रेडियो रिसिभर प्रयोग गर्नेहरु केवल ४८.६ प्रतिशत रहेका छन् ।

नियमित रेडियो सुन्नेहरुमध्ये सबैभन्दा धेरै (४८ प्रतिशत) ले दैनिक एकदेखि दुई घण्टासम्मको समय बिताउने गरेका छन् । बाँकी २२.२ प्रतिशतले एक घण्टाभन्दा कम, १३.१ प्रतिशतले तीनदेखि चार घण्टा र १५.१ प्रतिशतले दिनको चार घण्टाभन्दा धेरै समय रेडियो सुन्ने गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०