काठमाडौं । एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि सबैभन्दा ठूलो चुनौती भनेकै अनेक किसिमका बग र मालवेयरबाट जोगिनुमा हुन्छ । गुगलले आफ्नो सिस्टममा भएको कुनै बग फेला पर्ने बित्तिकै आफ्ना प्रयोगकर्तालाई अलर्ट दिने गर्दछ ।
एकपटक फेरि गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई चेतावनी दिएको छ र गुगल क्राेम ब्राउजर अपडेट गर्न भनेको छ । गुगलको तर्फबाट ब्राउजरमा जिरो-डे बगलाई प्याच गरिएकाले ब्राउजर अपडेट गर्न अनुराेध गरिएकाे हो ।
सर्च इन्जिन कम्पनी गुगलले क्रोम ब्राउजरमा रहेको बगको सहयोगमा साइबर आक्रमणकारीले प्रयोगकर्तालाई नोक्सान पुर्याउने सक्ने भन्दै एप अपडेट गर्न सचेत गराएको हो ।
जेडडीनेटको रिपोर्ट अनुसार पत्ता लागेको बगका कारण आक्रमणकारीलाई क्रोम सेक्युरिटी स्यान्डबक्स बाइपास गर्ने विकल्प मिलेको थियो ।
यसरी साइबर हमलाकारीले अपरेटिङ सिस्टममा कोड रन गराउन सक्दछन् र प्रयोगकर्तालाई थाहै नहुने गरी थुप्रै परिवर्तन गरिदिन सक्छन् । याे बग विण्डोजमा समेत भेटिएको थियो ।
यस्तै गुगलले क्रोम फर एन्ड्रोइड ब्राउजरका लागि सेक्युरिटी अपडेट रिलिज गरेकाे छ । रिपोर्ट अनुसार क्रोम फर एन्ड्रोइड भर्सन ८६.०.४२४०.१८५ रिलिज गरिएको छ र यसमा सीभीई-२०२०-१६०१० बगलाई फिक्स गरिएको छ ।
गत महिना समेत गुगलको सेक्युरिटी रिसर्चरले माइक्रोसफ्ट विण्डोज अपरेटिङ सिस्टममा समेत एउटा जिरो डे भल्नरेबिलिटीको पत्ता लगाएका थिए ।
प्रोजेक्ट जिरोका प्राविधिक प्रमुख बेन हक्सले यो कमजोरी विण्डोजका लागि समेत १० नोभेम्बरसम्म फिक्स गरिने बताएका छन् । जिरो डेसँग जोडिएका कमजोरीको सहयोगमा ह्याकरले तपाईंको स्मार्टफोन तथा सिस्टमको सेटिङमा परिवर्तन गर्न सक्दछन् ।
यसको अर्थ तपाईंले थाहा नपाउने गरी तपाईंको व्यक्तिगत डेटा चोरी गरेर लिक गर्न सक्ने जोखिम समेत रहन्छ । यसबाहेक बैंकिङ विवरणको सहयोगमा तपाईंको खाता समेत क्षणभरमै रित्तिन पनि सक्छ ।