close

कोभिड १९ बाट वर्ल्डलिङ्कका सिस्टम म्यानेजर नवीन लिम्बूको निधन

टेकपाना टेकपाना

मंसिर २, २०७७ २०:३

कोभिड १९ बाट वर्ल्डलिङ्कका सिस्टम म्यानेजर नवीन लिम्बूको निधन

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कका सिस्टम म्यानेजर नवीन लिम्बूको ४५ वर्षको उमेरमा निधन भएको छ । कोभिड १९ बाट संक्रमित उनको उपचारका क्रममा गत शनिबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकूमा निधन भएको हो ।

लगातार रुपमा पाँच दिनसम्म उच्च ज्वरो देखिएपछि कात्तिक १० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यस अघि उनी कोभिडकै कारण ज्यान गुमाएका आफ्ना ससुरा बुबाको अन्त्याेष्टिमा धरान पुगेका थिए ।

त्यहीँबाट लिम्बूलाई कोभिड संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । रेम्डेसिभिया औषधी चलाइएका उनलाई दुई पटक प्लाज्मा समेत दिइएको थियो ।

अरु कुनै किसिमको रोग नदेखिएका लिम्बूमा कात्तिक २९ गते बिहान भने निमोनिया पाइएको थियो । उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सन् १९९२ मा सिद्धार्थ बनस्थलीबाट एसएलसी पास गरेका लिम्बूले काठमाडौं विश्वविद्यालयबाट आईएससी तथा बीईको पढाई पुरा गरेका थिए । त्यसपछि सन् २००७ मा सिक्किम मणिपाल युनिभर्सिटीबाट उनले आईटीमा एमएससी उत्तिर्ण गरे । 

उनका सहकर्मी तथा सहपाठीहरु उनलाई सधैं सकारात्मक सोच राख्ने उनी अत्यन्त मिलनसार व्यक्तिको रुपमा सम्झन्छन् । तर प्राविधिक व्यवसायिक परामर्शदाताको रुपमा नेपालको उदाउँदो आईटी आन्ट्रप्रेनर्सलाई सघाउने उनको इच्छा अधुरै रहन पुगेको छ ।

यूकेको नागरिक हुने अवसर छोडेर उनी नेपालमै अडेका थिए । ‘उहाँले नेपाल र नेपालीलाई सघाउने मनसाय अनुरुप कहिल्यै पनि विदेश जाने चाहना राख्नु भएको थिएन । उहाँ एकदमै खारिएको सिस्टम इन्जिनियर हुनुहुन्थ्यो,’ वर्ल्डलिङ्कका प्रमुख प्राविधिक अधिकृत तथा उनका सहकर्मी समित जन सम्झिन्छन्, ‘यो कम्पनीका साथै नेपालको इन्टरनेट उद्योगकै लागि ठूलो क्षति हो ।’ 

नवीनकी श्रीमती निलिमाका साथमा १४ वर्षीय छोरी र ९ वर्षीय छोरा छन् । सन् २००१ देखि हेल्थ नेट नेपालबाट करियर सुरु गरेका उनले २००६ देखि सात वर्ष सम्म हिमाल टेक्नोलोजिजमा प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरेका थिए ।

त्यसपछिका दुई वर्ष इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकमा क्रमशः सिस्टम अपरेसन्स म्यानेजर तथा डेपुटी जनरल म्यानेजरको रुपमा बिताए । पछिल्लो साढे पाँच वर्षयता भने उनी वर्ल्डलिङ्कमा सिस्टम म्यानेजरको रुपमा कार्यरत रहेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०