close

डिजिटल प्रविधिको प्रयोग र विकासबारे आज बृहत् छलफल हुँदै

टेकपाना टेकपाना

मंसिर १३, २०७७ ८:४०

डिजिटल प्रविधिको प्रयोग र विकासबारे आज बृहत् छलफल हुँदै

काठमाडाैं । नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले शनिबार फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२० हुँदै छ ।

कन्क्लेभमा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताको रुपमा रहनेछन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत विषयविज्ञहरु वक्ताको रुपमा रहनेछन् ।

नेपाललाई डिजिटल प्रविधिमा एक खुट्किला माथि उठाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा सरकार, नेपाल राष्ट्र बैंक, सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको सहकार्य छ । आठवटा सत्र रहने यस कन्क्लेभमा कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिङ, डिजिटल रेमिट्यान्स, डिजिटल मार्केट प्लेस लगायतका विषयमा छलफल हुनेछ ।

सरोकारवाला विभिन्न डिजिटल प्लेटफर्ममार्फत एपीवान टेलीभिजनमा विहान साढे ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजिटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासँग सघन छलफल हुनेछ ।

आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले कोभिड महामारीले थपेको जटिल परिस्थितिले डिजिटल प्रविधिको प्रयोग बढाउने अवसर दिएको बताए ।

‘महामारीले एकातर्फ चुनौती थपेको छ तर यो समयलाई अर्काेतर्फबाट अवसरको रुपमा लिएर डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ,’ उनले भने । निजी क्षेत्रबाट डिजिटल प्रविधिका क्षेत्रमा गरेको प्रयासमा सरकार तथा सरोकारवाला पक्षबाट भएको सहयोगले भने थप हौसला मिलेको उनले बताए ।

सुलभ इन्टरनेट सेवा तथा स्मार्टफोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रको डिजीटाइजेसनमा लैजाने अवसर दिएको उनले बताए ।

‘कोरोना भाइरस महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको लकडाउनले अर्थतन्त्रमा डिजिटाइजेसनको टड्कारो आवश्यकता औंल्याएको छ । यसका लागि हामीले एउटा कदम अगाडी बढाएका हौँ जसमा सरकारको सहभागिताले थप हौसला मिलेको छ,’ उनले भने ।

कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले उनीहरुको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरुद्वारा गर्नुपर्ने नीतिगत व्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् ।

वित्तीय सेवा, भुक्तानी सुविधा, ईकमर्श सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा बृहद् छलफल हुनेछ । नेपाली ईकमर्श इकोसिस्टमका सबै सरोकारवालाहरुको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस शुरु गर्ने विश्वास आयोजकको छ ।

नेपालमा डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, ईलर्निङ र ईकमर्शले क्रमशः व्यापकता पाएको छ । कोरोना भाइरस महामारी तथा यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी/निषेधाज्ञाले अर्थतन्त्रका प्राय सबै अवयवलाई नराम्ररी प्रभावित पारिरहँदा नेपालमा ईकमर्श र डिजिटल बैंकिङ भने फराकिलो हुदै गएको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जना गरेको छ । घरमै बसी बैंकमा खाता खोल्ने तथा शेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल वालेटमार्फत् भुक्तानी गर्ने लगायतका नयाँ सेवाहरुमा नेपालीहरु विस्तारै अभ्यस्त हुँदै गएका छन् ।

अनलाइन कारोबार तथा अनलाइन भुक्तानीको बढ्दो प्रयोगले साइबर सेक्युरीटी, ईकमर्शको महत्वपुर्ण हिस्सा रहेको तथ्य उजागर गरेको सन्दर्भमा नेपालमा अनलाइन कारोबार हुने/हुनसक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाका बारेमा समेत कनक्लेभमा विस्तृत छलफल हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०