काठमाडाैं । तपाईंले हेर्दै आएको युट्युव च्यानल, अनलाइन पोर्टल, सामाजिक सञ्जालका पेज तथा प्रोफाइलमा झुटा समाचार, संवेदनशील फोटो, भिडियो तथा अनुपयुक्त सामग्रीहरु शेयर भइरहेको देख्नु भएकै होला ।
कहिले काहिं त नराम्रोसँग झुक्किनु भएको पनि हुनसक्छ । गलत र भ्रामक सामग्री हो भनेर ठम्याइहाले पनि त्यसलाई बेवास्ता गर्नेभन्दा त्यस्ता विषयवस्तु विरुद्ध कतै उजुरी वा रिपोर्ट गर्नु भएको छ ?
तपाईं हामीले यस्ता विषयवस्तु चुपचाप देखे/नदेखे झैं गर्ने हो भने अनलाइनको प्लेटफर्म कुरुप अनि भद्दा हुँदै जाने निश्चित छ ।
त्यसैले एउटा जिम्मेवार प्रयोगकर्ताको रुपमा यस किसिमका सामग्री तथा विषयवस्तु विरुद्ध औंला उठाउन जरुरी छ । हाम्रो टोल/छरछिमेक जस्तै अनलाइनलाई पनि स्वच्छ, स्वस्थ अनि सफा बनाउन तपाईं हाम्रो भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।
दैनिक करोडौं मानिसहरुले सामाजिक सञ्जालहरुमा अनेक किसिमका जानकारीहरु शेयर गरिरहेका हुन्छन् । त्यसभन्दा बढी संख्यामा त्यस्ता जानकारी र सामग्रीहरु शेयर हुन्छन् । अनि त्यसले पुर्याउने असर पनि त्यति नै ठूलो हुन्छ ।
सामाजिक सञ्जाल अन्तरक्रियात्मक हुन्छन् । त्यहाँ विविध किसिमका रुची र धारणाहरु शेयर हुन्छन् । तीमध्ये कमैले मात्र यस्ता प्लेटफर्महरुको नियम र शर्तमा बाँधिएर सामग्री उत्पादन गरिरहेका हुन्छन् । आवश्यक परेको खण्डमा गलत किसिमका सामग्री विरुद्ध रिपोर्ट गर्न सकिने उपाय नभएको होइन ।
यदि कसैले झुटा समाचार, गलत दिशातर्फ डोर्याउने, प्रतिलिपी अधिकार मिचेका, झुक्याउने, स्पाम जस्ता अनुपयुक्त र संवेदनशील सामग्रीहरु शेयर गरेको खण्डमा त्यस विरुद्ध कसरी रिपोर्ट तथा उजुरी गर्ने भन्ने विषयमा यहाँ चर्चा गर्दै छौं ।
१.साइबर ब्युरो
इन्टरनेटको युगमा अनलाइन दुर्व्यवहार एकदमै सामान्य भइसकेको छ । इन्टरनेटमा किशोरावस्थाका आधा जसो प्रयोगकर्ताहरु दैनिक अनलाइन बुलिङको सामना गरिरहेका हुन्छन् ।
तर बिडम्बनाको विषय त्यसमध्ये आधाले यस किसिमका गतिविधि विरुद्ध कहिल्यै रिपोर्ट गर्दैनन् । किनभने उनीहरुलाई रिपोर्ट तथा उजुरी गर्ने प्रक्रियाको कुनै जानकारी नै हुँदैन ।
त्यस्ता दूर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्युरो गठन भएको छ ।
ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।
यहाँ गरी निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् ।
साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् ।
प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।
यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।
२. प्रेस काउन्सिल
पत्रकार आचारसंहिता २०१६ अनुसार अनलाइन मिडियाहरुले कुनै पनि समाचार सामग्री प्रकाशन तथा प्रशारण गर्नु अघि आफ्नो स्रोत तथा जानकारी पुष्टि गर्नुपर्ने हुन्छ । हिंसा, आतंकवाद, अपराध, आत्महत्या, अश्लीलता जस्ता गतिविधिलाई प्रोत्साहन गर्ने सामग्रीको प्रसारण गर्न पाइदैन ।
विशेषगरी कोभिड-१९ अर्थात कोरोनाभाइरसको यो संकटपूर्ण घडीमा प्रेस काउन्सिल नेपालले छुट्टै निर्देशिका समेत जारी गरेको छ । झुटा तथा अफवाहपूर्ण समाचार प्रशारण गर्ने वेब तथा अनलाइन पोर्टलहरु अनेक छन् ।
यदि तपाईंहरुले समाचारको रुपमा यस्ता सामग्रीहरु अनलाइनमा कतै देख्नु भयो भने सबैभन्दा पहिले जुन प्लेटफर्ममा (फेसबुक, ट्वीटर, युट्युवमा) देख्नुभयो त्यसैमा रिपोर्ट गर्नुहोस् । त्यसपछि विस्तारै साइबर ब्युरो र प्रेस काउन्सिलको सहयोग लिनुहोस् ।
प्रेस काउन्सिलमा ईमेल मार्फत उजुरी पठाउन सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
अब यहाँ क्लिक गरी नमूनामा उल्लेख भएअनुसार निवेदन लेख्नुहोस् ।
स्क्रीनसट तथा लिंक जस्ता प्राप्त प्रमाणहरु अट्याच गर्नुहोस् ।
३. युट्युव
तपाईंले युट्युवलाई त्यहाँ रहेका अनुपयुक्त सामग्रीहरको विषयमा सोझै रिपोर्ट गर्न सक्नुहुन्छ ।
रिपोर्ट गर्न चाहेको भिडियो मूनिको प्लेयरमा रहेको मोरमा क्लिक गर्नुहोस् ।
त्यसपछि देखा पर्ने मेनुमा गएर रिपोर्ट अप्सन चयन गर्नुहोस् ।
उक्त भिडियोले कुन नियम उल्लंघन गरेको छ भन्ने कुरा खुलाउन त्यहाँ रहेकामध्ये एउटा उपयुक्त विकल्प रोज्नुहोस् ।
त्यसपछि तपाईंको आरोपलाई पुष्टि गर्ने विवरणहरु जस्तै टाइमस्ट्याम्प (भिडियोको कति मिनेटमा त्यस्तो सामग्री छ) वा नियम उल्लंघनको व्याख्या सकेसम्म स्पष्ट रुपमा राख्नुहोस् ।
प्रत्येक च्यानल मूनी एउटा बटम रहेको हुन्छ त्यहाँबाट तपाईले च्यानलविरुद्ध रिपोर्ट गर्न सक्नहुन्छ ।
तपाईंले कुनै निश्चित युट्युव च्यानलकै विरुद्ध समेत उजुरी गर्न सक्नुहुन्छ । त्यसका लागि सम्बन्धित च्यानल खोल्नुहोस् ।
त्यहाँ दायाँ तर्फ रहेको अबाउट मा क्लिक गर्नुहोस् ।
अब त्यसको तल पट्टी रहेको झण्डा आकारको बटन दबाउनुहोस् ।
अब त्यहाँ तपाईंले आफ्नो गुनासोसँग मिल्ने उपयुक्त अप्सन चयन गरेर युट्युव च्यानलकै विरुद्ध उजुरी गर्न सक्नुहुन्छ ।
कसैले अनुमति बिना तपाईंको व्यक्तिगत जानकारी युट्युवमा पोस्ट गरे के गर्ने ?
सबैभन्दा पहिले जसले तपाईंको सामग्री अपलोड गरेको हो, उसँग सम्पर्क गरेर त्यस्तो सामग्री हटाउन आग्रह गर्नुहोस् ।
यदि तपाईंको आग्रह त्यस्तो व्यक्तिले मानेन वा सम्पर्क हुन सकेन भने तपाईंले यहाँ क्लिक गरी युट्युवको गोपनीयता निर्देशिका अनुसार त्यस्तो सामग्री हटाउनका लागि आग्रह गर्न सक्नु हुन्छ ।
यदि तपाईं अर्को तरिकाबाट युट्युवलाई रिपोर्ट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी युट्युवको रिपोर्टिङ सेक्सन र सेफ्टी गाइडलाइनहरु चेक गर्न सक्नुहुन्छ ।
४. ट्वीटर
तपाईं कुनै ट्वीट विरुद्ध रिपोर्ट गर्न चाहनुहुन्छ भने आफ्नो रिपोर्टको सान्दर्भिकता र कारणलाई केलाउन ट्वीटरले त्यस सम्बन्धी थप जानकारी माग्न सक्छ ।
तपाईंले रिपोर्ट गरेको ट्वीटका शब्दहरु ट्वीटरले आफ्नो फलोअपमा समावेश गर्नेछ र तपाईंलाई नोटिफिकेसन दिनेछ । थप विस्तृत जानकारीका लागि ट्वीटरको सेफ्टी एण्ड सेक्युरिटी सेक्सनमा जानुहोस् र प्लेटफर्ममा देखिएको अनपयुक्त सामग्रीहरुको रिपोर्ट गर्नुहोस् ।
५. फेसबुक
पोस्टको माथिपट्टिको दायाँ भागमा रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।
त्यहाँ अन्तिममा रहेको फाइन्ड सपोर्ट अर रिपोर्ट पोस्टमा जानुहोस् ।
फेसबुकलाई त्यस्तो पोस्टको बारेमा सुझाव तथा प्रतिक्रिया दिन त्यहाँ रहेका मध्ये उपयुक्त विकल्प छान्नुहोस् ।
सबमिट बटन थिचेर तपाईंले फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ ।
यहाँ क्लिक गरी फेसबुकमा रिपोर्ट गर्ने विषयमा थप जानकारी लिन समेत सक्नुहुन्छ ।
तपाईंले यसरी रिपोर्ट गर्दा फेसबुकले कन्टेन्टको भिजिबिलिटीलाई सीमित बनाउन सक्छ । सम्बन्धित प्रयोगकर्तालाई त्यस्तो कन्टेन्ट प्लेटफर्मबाट डिलिट गर्न उसले आग्रह गर्न सक्छ । त्यस अलावा फेसबुकले उक्त अकाउन्टलाई निलम्बन गर्न समेत सक्छ ।