close

स्नापड्रागन ८८८ चिपसेट भएको पहिलो स्मार्टफोन ल्याउने दाउमा साओमी

टेकपाना टेकपाना

मंसिर २१, २०७७ १३:२७

स्नापड्रागन ८८८ चिपसेट भएको पहिलो स्मार्टफोन ल्याउने दाउमा साओमी

काठमाडौं । केही समय अघि क्वालकमले आफ्नो पछिल्लो फ्ल्यागशिप चिपसेट स्नापड्रागन ८८८ सार्वजनिक गरेको थियो । क्वालकमले नयाँ चिपसेट सार्वजनिक गरे लगत्तै विभिन्न कम्पनीहरुले आफ्नो नयाँ फोनमा उक्त चिपसेट प्रयोग गर्ने प्रचारबाजी गर्न थालेका छन् । 

यसैबीच साओमीले पनि आफ्नो फोन एमआइ इलाभेनमा यहि चिपसेट प्रयोग गर्ने घोषणा गरेको छ । रेड्मीका निर्देशक लु विबिङले ब्राण्डको अर्को नयाँ फ्ल्यागशिपमा स्नापड्रागन ८८८ प्रयोग गर्ने बताएका हुन् ।

तर कम्पनीले उक्त फोन सार्वजनिक हुने मिति भने उल्लेख गरेको छैन । त्यसो त सुरुवाती समयदेखि नै स्नापड्रागनको नयाँ चिपसेट प्रयोग गर्ने पहिलो फोनमा एमआईको मोडलले कहिल्यै पनि दोस्रो स्थानमा बस्नु परेको छैन ।

तर यसपाली भने सामसङ ग्यालेक्सी एस ट्वान्टी वान लाइनअप आउँदो जनवरीको मध्यतिर सार्वजनिक हुँदैछ । उक्त फोनमा पनि यहि चिपसेट प्रयोग हुने भएकाले एमआईलाई आफ्नो फोन यसै महिना वा सन् २०२१ को सुरुवातमा सार्वजनिक गर्नुपर्ने चुनौति छ । 

तर चिनियाँ सामाजिक सञ्जाल वाईबोमा लिक भएको एउटा तस्वीर साओमी एमआई इलाभेनको हो भनेर कथित हल्लाहरु चलिरहेका छन् । उक्त फोनमा क्यामेराको डिजाइन एकदमै फरक छ ।

जसमा दुई वटा सेन्सरको साथमा एउटा सानो क्यामेरा राखिएको छ । साथै क्यामेरामा एउटा एलईडी फ्ल्याश लाइट पनि छ ।

तर हाल त्यो तस्वीर वाईबोमा छैन र त्यो तस्वीर एमआई इलाभेनको हो वा होइन भन्ने कुराको आधिकारिक खुलासा भएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०