close

अब मेरो शेयरको मोबाइल एपबाटै आईपीओ भर्न सकिने

टेकपाना टेकपाना

मंसिर २६, २०७७ १५:३५

अब मेरो शेयरको मोबाइल एपबाटै आईपीओ भर्न सकिने

काठमाडौं । अब मोबाइल एपबाटै शेयर भर्न सकिने भएको छ । नेपाली पूँजी बजारमा सक्रिय लगानीकर्ताहरुले मेरो शेयरको मोबाइल एपबाटै आईपीओ भर्न सक्ने भएका हुन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ मोबाइल एपबाटै आईपीओ भर्ने सुविधा थपेपछि लगानीकर्ताहरुले अब आफ्नो स्मार्टफोनबाटै आईपीओ भर्न सक्ने भएका छन् ।

सीडीएससीले गत भदौमा ‘मेरो शेयर’ मोबाइल एप सार्वजनिक गरेको थियो । एप सार्वजनिक भए पनि आईपीओ भर्ने सुविधा भने रहेको थिएन ।

तर एपमार्फत लगानीकर्ताहरुले आफ्नो शेयर र त्यसको दैनिक मूल्य भने हेर्ने पाउने व्यवस्था गरिएको थियो । सीडीएससीले गुगल प्ले स्टोरमा परीक्षणका लागि बेटा भर्सनमा यो एप उपलब्ध गराइरहेको छ ।

अब एपमा ‘माई आस्वा’ सुविधा थपिएपछि लगानीकर्ताहरुले एपबाटै आईपीओ भर्नसक्ने सुविधा दिइएको सीडीएससीको भनाइ छ । सुरुमा यो एपमा ‘माई आस्वा’ सुविधा रहेको थिएन । 

अहिले पूँजी बजारमा अनलाइन प्रयोगकर्ता बढेका छन् । यो सुविधासँगै अब लगानीकर्ताहरुले ल्यापटप वा कम्प्युटर नखोलेर सोझै आफ्नै स्मार्टफोनबाट आईपीओ भर्न सक्ने भएका छन् ।

मोबाइल एपबाटै आईपीओ भर्न सकिने भएपछि अब सीडीएससीको ‘मेरो शेयर’ पोर्टलमा चाप घट्ने अनुमान गरिएको छ । यसअघि ठूलो संख्या आईपीओ भर्नेहरुले एकैपटक साइट खोल्दा आईपीओ भर्न समस्या हुँदै आएको थियो ।

अब त्यस किसिमको समस्या समाधान हुने सीडीएससीले आशा व्यक्त गरेको छ । मेरो शेयरको एन्ड्रोइड बेटा भर्सनमा रहेको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४