close

अब जिमेल अट्याचमेन्टको अफिस डकुमेन्ट सोझै एडिट गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २६, २०७७ १७:२९

अब जिमेल अट्याचमेन्टको अफिस डकुमेन्ट सोझै एडिट गर्न सकिने

काठमाडौं । गुगलले माइक्रोसफ्ट अफिस फाइलमा काम गर्न थप सहज बनाएको छ । कम्पनीले प्रयोगकर्तालाई जिमेलको अट्याचमेन्टमा रहेका अफिस फाइललाई सोझै एडिट गर्न सक्ने सुविधा दिने भएको छ ।

जुन गुगल डक्स र शिट्सका लागि यस अघिदेखि उपलब्ध सुविधा जस्तै छ । गुगल वर्कस्पेस (कम्पनीले गुगल डक्स, शिट्स, स्लाइड्स, मिट र क्यालेण्डरलाई समावेश गरी हालै रिब्राण्ड गरेको जी स्विट्स) लाई वर्ड, पावर प्वाइन्ट र एक्सेल जस्ता अफिस फाइलसँग कम्प्याटिबल बनाउँदै लगेको छ ।

यद्यपी डकुमेन्ट एडिट तथा परिवर्तन गर्न यस अघि गुगल ड्राइभमा इम्पोर्ट गर्नुपर्ने हुन्थ्यो । जब कि ईमेल अट्याचमेन्टलाई केवल हेर्ने सुविधा मात्र रहेको थियो ।

तर अब कम्पनीले यसलाई झन सहज बनाएको छ । यससँगै तपाईंले एउटै क्लिकमा अफिस फाइललाई गुगल डक्स एडिटर प्रयोग गरी खोल्न तथा एडिट गर्न सक्नुहुनेछ ।

यो गुगल डक्सका लागि उपलब्ध भएजस्तै सुविधा हो । तर नयाँ एडिटिङ फिचरले अफिस फाइललाई गुगल डक्समा भने कन्भर्ट गर्दैन ।

बरु यसले पूर्ववत वास्तविक फर्म्याटमै काम गर्ने सुविधा दिने गर्दछ । जिमेल प्रयोगकर्ताले डाउनलोड र पुनः अट्याच नगरिकनै ओरिजिनल ईमेलमा अपडेट गरिएको फाइल (अफिस फाइल फर्म्याटमै) सहित प्रतिक्रिया जनाउन सक्नेछन् ।

जिमेलले प्रयोगकर्तालाई अफिस फाइलको काम थप स्मुथ रुपमा गुगल डक्समै गर्न सकिने तर्फ समेत काम गरिरहेको छ । एक्सेलमा रहेका म्याक्रोजलाई शिट्समा थप सहजताका साथ ल्याउन सकिने गरी कम्पनीले गुगल वर्कस्पेसमा म्याक्रो कन्भर्टर एड-अन समेत सार्वजनिक गर्दैछ ।

त्यसैगरी गुगलले आफ्नो गुगल डक्समा थप राम्रो किसिमको डकुमेन्ट ओरेन्टेसन तथा इमेज सपोर्ट पनि थप गरिरहेको छ । ता कि ठाडो र तेर्छो रुपमा पेजहरुलाई सहजै सपोर्ट गर्न सकोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४