close

अब नेपाल बंग्लादेश बैंकका संस्थागत ग्राहकले अनलाइन भुक्तानी गर्न सक्ने

टेकपाना टेकपाना

मंसिर २६, २०७७ १९:२९

अब नेपाल बंग्लादेश बैंकका संस्थागत ग्राहकले अनलाइन भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट प्रणाली सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी यस्तो सेवा थालेको हो ।

दुई पक्षबीच भएको सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लिमिटेडका सिनियर म्यानेजर प्रदिप नेपाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।

यससँगै बैंकका व्यवसायिक ग्राहकहरुले बैंकमा नगई डिजिटल माध्यमबाट फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाट सजिलै गर्न सक्नेछन् ।

उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएसमा रियल-टाइम वान रियल टाइममा भुक्तानी कारोबार गर्न सकिनेछ । कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । स्विकृती लगायतका आवश्यक प्रकृया पुरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।

त्यस पश्चात भने प्रयोगकर्ताहरुले तोकिएको कारोबार सीमा भित्र रहेर कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नेछन् । तर तोकिएको सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँच गरे पश्चात प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

यो प्रणालीमा मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था प्रयोग गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्न ग्राहक आफैंले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्र पाउने गरी सुरक्षाको व्यवस्था मिलाइएको छ ।

साथै ग्राहकले आवश्यकता अनुरुप यो प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु लिङ्क गरी कारोबार गर्न सक्नेछन् । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लेटफर्म प्रदान गर्दै आएको छ ।

कर्पोरेट पेको सुरुवातले व्यवसायिक ग्राहकहरुलाई पनि डिजिटल मुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने बैंकको विश्वास छ । यो प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगेरै विभिन्न भुक्तानी अनलाइनबाटै गर्न सकिने हुँदा व्यवसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४