close

सिन्धुलीका जुनार अनलाइनमा, अर्डर गरेको १० घण्टामै डेलिभरी

टेकपाना टेकपाना

मंसिर २७, २०७७ ११:६

सिन्धुलीका जुनार अनलाइनमा, अर्डर गरेको १० घण्टामै डेलिभरी

काठमाडौं । सिन्धुलीका जुनार अनलाइनबाटै डेलिभरी गर्न थालिएको छ । ग्रिनग्रोथ डट लाइफले सिन्धुलीको चिसापानी जुनार सहकारीसँगको सहकार्यमा उपत्यकामा जुनार उपलब्ध गराउन थालेको हो ।

कम्पनीका संस्थापक सौरभ ढकालले काठमाडौं उपत्यकाभर जुनारको डेलिभरी सेवा उपलब्ध रहेको जानकारी दिए । ‘हामीले ट्र्यकिङ सिस्टम सहित सिन्धुलीका जुनारहरु घरघरमा पुर्‍याउने व्यवस्था मिलाएका छौं,’ उनले भने,

‘जुनारसँगै राखिएको क्यूआर कोड स्क्यान गरेर बगैचा, उत्पादक किसान, बगैचाबाट टिपेको मिति, आयात गरिएको दिन, ढुवानी भएर आएको दुरी आदि बारे जानकारी लिन सकिन्छ । यो ब्लक चेनमा आधारित ट्रायाकिङ सिस्टम हो ।’

ग्रिन ग्रोथ डट लाइफबाट एक केजीदेखि माथि जुनार अर्डर गर्न सकिन्छ । हाल पाँच केजीभन्दा मुनीका लागि प्रति केजी १५० रुपैयाँ र त्यसमाथिको अर्डरमा १३५ रुपैयाँ मूल्य राखिएको छ ।

ग्रिनग्रोथ लाइफले गोलञ्जोर गाउँपालिका स्थित ३४ वटा बगैचाबाट जुनार काठमाडौं ल्याउने गरेको हो । कूल ४५ टन जुनार रहेकोमा अहिले बजारमा चौथो लट बिक्री भइरहेको ढकालले जानकारी दिए ।

४५ टनमध्ये ११ टन जुनार बजारमा आइसकेको छ । ‘आउँदो पुस १५ सम्म हामी सोझै बोटबाटै जुनार टिपेर उपलब्ध गराउँछौं,’ उनले भने, ‘त्यसपछि चाहिँ स्टोरेज गरेर ल्याउने योजना छ ।’

ग्रिन ग्रोथले अनलाइन अर्डरमा अर्गानिक तरकारी तथा फलफुलको डेलिभरी उपलब्ध गराउँदै आएको छ । हरियो तरकारी गाउँबाट ल्याएकै दिन बिक्री गरिने भएकाले सातामा तीन दिन मात्र डेलिभरी उपलब्ध गराउने गरिएको ढकालले बताए ।

कम्पनीले साताको सोमबार, बुधबार र शनिबार मात्रै हरियो तरकारी डेलिभर गर्दै आएको छ । तर मौसमी फलफुलको डेलिभरी भने हप्ताभरका लागि उपलब्ध रहेको छ ।

गुगल फर्ममार्फत अर्डर लिइरहेको कम्पनीले अब चाँडै वेबसाइट र मोबाइल एप सार्वजनिक गर्ने योजना समेत बनाएको छ । यदि तपाईं सिन्धुलीका जुनार अर्डर गर्न चाहुनुहन्छ भने यहाँ क्लिक गरी प्रक्रिया अगाडि बढाउन सक्नुहुनेछ ।

आफूलाई चाहिएको परिमाण छनौट गर्दै नेक्स्टमा क्लिक गर्दै अगाडि बढ्नुहोस् र आफ्नो नाम, ठेगाना, लोकेसन, सम्पर्क नम्बर, ईमेल आईडी राखेर सब्मिट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४