close

आफ्नो दैनिकी सहज बनाउन यसरी प्रयोग गर्नुहोस् गुगल लेन्स

टेकपाना टेकपाना

मंसिर २७, २०७७ २०:२२

आफ्नो दैनिकी सहज बनाउन यसरी प्रयोग गर्नुहोस् गुगल लेन्स

काठमाडौं । कुनै पनि अपरिचित वस्तु पहिचान गर्न, कुनै अक्षरहरुलाई अनुवाद गर्न वा पुस्तक, पीडीएफ, प्रिन्ट डकुमेन्टबाट अक्षरहरु कपी गर्न, यी सबै समस्याको एउटै समाधान भनेको गुगल लेन्स नै हो । 

निःशुल्क प्रयोग गर्न सकिने गुगल लेन्स सजिलो पनि छ । तर अझैं पनि कतिपय मानिसहरुलाई यसको उपयोगिताबारे राम्रोसँग थाहा छैन । आज हामी तपाईंलाई यस बारेमा विस्तारपूर्वक बताउँदै छौं । 

गुगल लेन्स एउटा ‘इमेज रिकग्निसन’ अर्थात तस्वीर चिन्नसक्ने सफ्टवेयर हो । जसलाई गुगलले सन् २०१७ मा सार्वजनिक गरेको थियो । 

यसले भिजुअल एनालिसिस गरी कुनै पनि वस्तुको विस्तृत जानकारी प्रदान गर्न सक्छ । कुनै पनि तस्वीरभित्रको जानकारी पढ्न तथा बुझ्न यो सजिलो र निःशूल्क उपाय हो ।

गुगल लेन्स प्रयोग गर्दा तपाईसँग एन्ड्रोइड फोन छ भने सोझै गुगल लेन्स एप प्रयोग गर्नुहोस् । यदि आईओएस प्रयोगकर्ता हुनुहुन्छ भने गुगल फोटोजमा गएर त्यहाँबाटै गुगल लेन्सको प्रयोग गर्नुहोस् ।

तस्वीर तथा वस्तु यसरी पहिचान गर्ने 

तपाईंले कुनै पनि वस्तु कतै देख्नु भयो तर त्यो के हो भन्ने हेक्का तपाईंलाई छैन भने गुगल लेन्सबाट त्यसको तस्वीर खिचेर त्यसबारे जानकारी थाहा पाउन सक्नुहुन्छ ।

आफ्नो गुगल फोटोज एपमा भएका तस्वीरहरुमा पनि गुगल लेन्स प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले 

१. आफ्नो मोबाइलमा रहेको गुगल फोटोजको एप खोल्नुहोस् । 

२. अब फोटोमा भएको वस्तुमा ट्याप गरी तलतर्फ रहेको गुगल लेन्स आइकनमा थिच्नुहोस् ।  

३. अब गुगल लेन्सले आफ्नो इमेज रिकग्निसन सफ्टवेयरको भिजुअल एनालिसिस प्रयोग गरी सान्दर्भिक जानकारी प्रदान गर्नेछ । 

४. जसलाई तपाईंले तस्वीर मुनी विभिन्न परिणामको रुपमा देख्न सक्नुहुनेछ । 

५. ती रिजल्टमा देखिएका तस्वीरमा ट्याप गर्नुभयो भने थप कुरा थाहा पाउनु हुनेछ । 

टेक्स्टबुक वा डकुमेन्टबाट टेक्स्ट कपी पेस्ट गर्न

अब गुगल लेन्सबाट तपाईले कुनै पनि टेक्स्टबुक वा डक्युमेन्टबाट टेक्स्ट कपि पेस्ट गर्नसक्नुहुन्छ । यसमा भएको अप्टिकल क्यारेक्टर रिकग्निसनले तपाईलँ२ कुने फनि तस्विरमा भएको अक्षरलाई एउटा इडिट गर्नसक्ने किसिमको टेक्स्ट फर्म्याटमा परिवर्तन गरिदिन्छ । 

१. सबैभन्दा पहिले गुगल लेन्स एप खोल्नुहोस् ।

२. लेन्सको क्यामेरामा आफूले लिन चाहेको टेक्स्टमाथि स्क्यान गर्नुहोस् । ता कि त्यो हाइलाइट होस् । 

३. अब टेक्स्ट आइनमा ट्याप गर्नुहोस् । 

४. अब सेलेक्ट अलमा ट्याप गर्नुहोस् वा आफूले चाहेको भागमा मात्र स्क्यान गर्नुहोस् । 

५. अब कपी टेक्स्टमा ट्याप गर्नुहोस् । 

६. कुनै एप वा डक्युमेन्ट खोल्नुहोस् र त्यो टेक्स्टलाई त्यही पेस्ट गरिदिनुहोस् । अन्यथा तपाईंले फोनमा भएको गुगल डक्सलाई समेत प्रयोग गर्दा हुन्छ। 

७. सेलेक्सन मेनु निकाल्न डकुमेन्टमा भएको कर्सरलाई लामो समयसम्म प्रेस गर्दा पनि हुन्छ । 

८. अब पेस्टमा ट्याप गर्नुहोस् र डक्युमेन्टलाई सेभ गर्नुहोस् । यदि तपाईंले मोबाइलमा भएको जिमेल आईडीलाई कम्प्युटरमा समेत लगईन गर्नुभएको छ भने कपी टेक्स्ट र लिसनको बीचमा कपी टु कम्प्युटरको अप्सन पाउनुहुनेछ । त्यसमा ट्याप गर्नुभयो भने स्वतः कम्प्युटरको क्लिपबोर्डमा कपी भएर बस्छ । त्यसलाई आफूले चाहेको स्थानमा सहजै पेस्ट गर्न सक्नुहुनेछ ।   

गुगल लेन्समार्फत गुगल फोटोज एपभित्रबाट कपी पेस्ट

१. गुगल फोटोज खोल्नुहोस् । 

२. त्यहाँबाट आफूले कपि पेस्ट गर्न चाहेको फोटो पनि खोल्नुहोस् ।

३. गुगल लेन्स आइकनमा ट्याप गर्नुहोस् । 

४. सर्च आइकनमा ट्याप गरी गुगल लेन्स मोड अप्सन लन्च गर्नुहोस् ।

५. अब टेक्स्ट आइकनमा ट्याप गर्नुहोस् । 

६. सेलेक्ट अलमा ट्याप गर्नुहोस् वा चाहिएको हिस्सालाई ट्याप गर्नुहोस् । 

७. अब कपी टेक्स्टमा ट्याप गर्नुहोस् । 

८. एप वा डकुमेन्ट खोल्नुहोस् र टेक्स्टलाई पेस्ट गर्नुहोस् । 

९. सेलेक्सन मेनु निकाल्न डक्युमेन्टम भएको क्रसरलाई लामो समयसम्म प्रेस गर्दा पनि हुन्छ ।

पुस्तकको टेक्स्टलाई अनुवाद गर्नुहोस् 

कुनै पनि तस्वीरमा भएका शब्दलाई गुगल लेन्सले चाँडोभन्दा चाँडो तपाईंले चाहेको भाषामा अनुवाद गरिदिन सक्छ । 

१. यसका लागि सबैभन्दा पहिले गुगल लेन्सको एप खोल्नुहोस् । 

२. अनुवाद गर्न चाहेको टेक्स्टमा लेन्सको क्यामेराबाट स्क्यान गर्नुहोस् ।

३. अब ट्रान्सलेट आइकनमा टयाप गर्नुहोस् । यति गरिसकेपछि अनुवादित अंश ओरिजिनल टेक्स्टको ठाउँमै देखा पर्नेछ । अब ट्रान्सलेटेड टेक्स्टको मुनी रहेको ‘कपी अल’मा ट्याप गर्नुहोस् । अनि मोबाइलमा जुन स्थानमा त्यसलाई राख्न चाहुनुहन्छ त्यहाँ केहीबेर थिचेर पेस्ट गरिदिनुहोस् । 

क्यूआर कोड स्क्यान गर्नुहोस् 

गुगल लेन्सले जुनसुकै क्युआर कोड रिड गर्न सक्छ । त्यसले तपाईंले छुट्टै क्यूआर कोड रिडर इन्स्टल गर्नु पर्दैन । तपाईंले कुनै पनि क्यूआर कोडमा स्क्यान गरेपछि त्यहीँ फोटोको माथितिर त्यो वस्तुको यूआरएल लिङ्क देख्नुहुनेछ । 

यी त भए गुगल लेन्सका आधारभूत उपयोगिता । यस बाहेक पनि तपाईंले गुगल लेन्सबाट धेरै लाभ उठाउन सक्नुहुन्छ । 

गुगल लेन्सलाई तपाईंले अपडेट गर्नु भएको छ भने हाल यसमा एउटा होमवर्क मोड पनि थपिएकोछ । जुन एकदमै उपयोगी छ । 

यसले कुनै पनि बालबालिकालाई आफ्नो म्याथम्याटिक्सको हिसाबलाई समाधान गर्न सघाउँछ । कोभिड १९ को समयमा विद्यालय जान नपाउने विद्यार्थीहरुका लागि गुगलले आफ्नो लेन्स सेवामा यस्तो फिचर थप गरेको हो । 

गुगल लेन्सबाट आफ्नो म्याथम्याटिक्सको समस्या समाधान गर्न निम्न प्रक्रिया अपनाउनुहोस् ।

१. सबैभन्दा पहिले आफ्नो मोबाइलमा गुगल लेन्सको एप खोल्नुहोस् । यदि तपाईंसँग यो एप छैन भने यहाँ क्लिक गरी पछिल्लो अपडेटेड एप डाउनलोड गर्नुहोस् ।  

२. अब क्यामेरा खुलेपछि तल बारमा भएको मेनुबाट दायाँ बायाँ स्क्रोल गरी होमवर्क फिल्टर छान्नुहोस् । 

३. अब गुगल लेन्सको फोकस ब्राकेटमा म्याथको इक्वेसन पर्नेगरी राख्नुहोस् । अब क्यामेरा बटन ट्याप गरेपछि लेन्सले त्यसलाई समाधन गरिदिनेछ । 

अब होमवर्क आफ्नो कपीमा सार्नुहोस् वा माथि उल्लेखित प्रक्रिया पुरा कपी पेस्ट गर्नुहोस् । 

लेखिएको सामग्रीलाई आवाजमा सुन्न

गुगल लेन्सबाट कुनै पनि लेखिएको सामग्रीलाई छनौट गरी तपाईंले त्यसलाई सुन्न सक्नुहुन्छ ।  कुनै पनि टेक्स्टलाई छनौट गरी स्नाप गरिसकेपछि एपको तल दायाँतिर रहेको लिसन अप्सनमा ट्याप गर्नुहोस् । यति गरिसकेपछि गुगल लेन्स एपले तपाईंलाई ती लेखिएका अक्षरहरु पढेर सुनाइदिन्छ । 

क्यालेन्डर इभेन्ट कृयट गर्नुहोस् 

जब तपाईं कुनै पनि फ्लायर, बिलबोर्ड, ब्रोसियर, अपोइन्टमेन्ट वा इन्भिटेसन कार्डमा मिति देख्नुहुन्छ, त्यसलाई टिपेर राख्ने झन्झट नगरी गुगल लेन्सको मद्दतबाट क्यालेण्डर इभेन्ट तयार पार्न सक्नुहुन्छ ।

यसका लागि मितिको फोटो गुगल लेन्सले खिच्नुहोस् । यति गरिसकेपछी ‘कृयट क्यालेण्डर इभेन्ट’ अप्सन आउँछ ।

जुन तपाईंको एपको तल बसेको हुन्छ । त्यसमा ट्याप गरेपछि तपाईंले आफूले प्रयोग गर्ने क्यालेण्डरमा त्यसको डेट सेट गर्न सक्नुहुन्छ । 

कसैको सम्पर्क जानकार सेभ गर्नुहोस् 

यदि तपाईंलाई कसैको सम्पर्क नम्बर कन्ट्याक्ट एपमा सेभ गर्न झ्याउ लाग्छ भने धन्दा नमान्नुहोस् । यो झन्झटलाई गुगल लेन्सले समाधान गरिदिनेछ ।

सेभ गर्नुपर्ने भिजिटङ कार्डमा व्यक्तिको नाम र नम्बर देखा पर्ने गरी गुगल लेन्सले स्क्यान गर्नुहोस् । गुगल लेन्सले जानकारीको प्रकृतिलाई पहिचान गरी त्यसलाई कन्ट्याक्ट एपमा सेभ गरिदिन्छ । एकपटक ट्याप गरेपछि त्यो सेभ हुन्छ । 

गुगल असिस्टेन्टबाट गुगल लेन्स 

यदि तपाईं हतारमा हुनुहुन्छ र गुगल लेन्स खोल्न चाहनुहुन्छ भने ‘हेई गुगल ओपन गुगल लेन्स’ भनेर निर्देशन दिनुहोस् । यसले तपाईंको गुगल लेन्स खोलिदिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४