काठमाडौं । जेनेसी क्लाउड एकेडेमीसँगको साझेदारीमा अब नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले क्लाउड कम्प्युटिङमा अण्डरग्राजुएसन तथा पोस्ट ग्राजुएसन कोर्स प्रोग्राम सुरु गर्ने भएको छ ।
२०२१ सम्ममा तीनसय अर्ब डलरको ग्लोबल उद्योग बन्ने अपेक्षा गरिएको क्लाउड कम्प्युटिङमा राम्रो करियर अवसर भएको भन्दै श्रमशक्तिको माग पूरा गर्न लर्ड बुद्ध कलेजले क्लाउड कम्प्युटिङ कोर्स ल्याउने तयारी गरेको हो ।
जेनेसी क्लाउड एकेडेमीले क्लाउड कम्प्युटिङ इकोसिस्टममा विद्यार्थीहरुलाई प्रतिक्षण तथा सीप बढाउने लक्ष्य सहित काम गर्दै आएको छ । जेनेसीसँगको यो साझेदारीले क्लाउड कम्प्युटिङको क्षेत्रमा सक्षम ग्राजुएट्सहरु उत्पादन गर्ने बताएका छन् ।
साथै जेनेसीका प्रमुख कार्यकारी अधिकारी अन्जनी फुयाँलले पनि डिजिटल युगमा क्लाउड कम्प्युटिङ सबै उद्योगको मेरुदण्ड बनिरहेको अवस्थामा शैक्षिक तथा औधोगिक क्षेत्रबीचको सहकार्य महत्वपूर्ण भएको जोड दिएका छन् ।
अहिले व्यवसायहरुले सफ्टवेयर एज अ सर्भिस, इन्फ्रास्ट्रक्चर एज अ सर्भिस र प्लेटफर्म एज अ सर्भिस जस्ता सेवाहरुको व्यापक प्रयोग गरिरहेका कारण बजारमा क्लाउड सेवा प्रदायकहरुबीच तिब्र प्रतिस्पर्धा जारी छ ।
पछिल्लो तीन वर्षमा मात्र विश्वका शिर्ष क्लाउड सेवा प्रदायक कम्पनीहरु ‘एडब्लुएस’, गुगल क्लाउड र अज्युर जस्ता कीवर्ड भएको इन्टरनेट सर्च २२३ प्रतिशतले बढेको छ ।